अध्यक्ष श्रेष्ठले आमरूपमा वितरकहरुलाई विचौलियाको संज्ञा दिईने गरेकोप्रति दुःख व्यक्त गर्दै एउटा आयातकर्ता र उद्योगले प्रत्यक्ष रूपमा थोक तथा खुद्राहरुलाई सेवा दिन सम्भव नभएका कारण वितरकहरुको आवश्यकता परेको बताए । 


हेड्लाईन सम्वाददाता
१५ मंसिर, काठमाण्डौ– नेपाल वितरक सङ्घको १८औ वार्षिक साधारणसभा तीन नम्बर प्रदेशका आर्थिकमामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नक्सालस्थित स्टार पार्टी भेन्यूमा भएको कार्यक्रम सङ्घका अध्यक्ष दुर्गाराज श्रेष्ठको सभापतित्वमा भएको हो । साधारणसभामा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा, ललितपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भरतलाल श्रेष्ठ, नेपाल खाद्य किराना थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ, नेपाल खुद्रा व्यापार सङका अध्यक्ष राजकुमार श्रेष्ठ, ग्यास विक्रेता महासङ्घका नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा, कस्मेटिक व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मी पौडेललगायतको उपस्थिति थियो ।

प्रदेश ३ का आर्थिकमामिला तथा योजनामन्त्री ढुङ्गेलले व्यवसायीलाई सरकारले नियुक्ति दिएर व्यवसाय गर्न नलगाएकोले आफ्नो खुशी गरिएको व्यवसायको जिम्मेवार व्यवसायी आफै हुने बताएका छन् । प्रदेश ३ मा गरिने व्यवसायमा समस्या देखिए समाधान गर्न सकिने मन्त्री ढुङ्गेलले बताए । मन्त्री ढङ्गेलले व्यवसायीहरुलाई योजनासहित आफ्नो कार्यालयमा आउन अनुरोध गरेका छन् । उनले जायज र उचित माग लिएर आउँदा आफूले काम नगरे कान समाउन पनि खुल्ला रहेको घोषणा गरेका छन् । मन्त्री ढुङ्गेलले राज्यको तीन खम्बे अर्थनीतिलाई कार्यान्वयन गर्दै समृद्ध नेपाल निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै निजीक्षेत्र आर्थिक समृद्धिको प्रमुख भएको बताएका छन् । निजीक्षेत्र समृद्धिको मार्गमा जाने धावनमार्ग भएकाले यसलाई पन्छाएर, पेलेर, होच्याएर वा दबाएर आर्थिक समृद्धि नआउने बताए । सरकारले गरिरहेका कामको विरोध गर्नुको कुनै औचित्य नरहेको प्रष्ट पार्दै मन्त्री ढुङ्गेलले निजीक्षेत्रमा एकअर्काबीच एकता हुन नसक्नुले समस्या र चुनौती बढेकोतर्फ ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष श्रेष्ठले २०५८ सालमा सङ्घको स्थापना गर्नुहुने संस्थापक अध्यक्ष गोपाल रिजाललाई स्मरण गर्दै सरकारले निजी क्षेत्रका व्यवसायीहरुलाई आर्थिक क्रान्तिको सहयात्री बनाउनुपर्ने विचार व्यक्त गरेका छन् । उनले सङ्घको संस्थापक रिजालसँगै कृष्ण घिमिरे, हेमन्तराज प्रसाईं, चाँदसिंह शाही, भरतलाल जोशी र अन्य सम्पूर्णको सम्झना गरेका थिए । त्यस्तै उनले उपभोक्ता हित संरक्षण ऎन २०७५ ले काम गर्दै जादा गल्ती भएमा सच्चिने र सुध्रिने मौका नदिएको र अधिकतम दण्ड जरिवाना तोकिएकोप्रति असन्तुष्टि व्यक्त गरे । त्यस्तै सङघीयताले व्यवसायीहरुमा करको बोझ थपिएको, कतिपय व्यवसायिक फर्महरु विभिन्न कारणवश नवीकरण हुन नसकेको पनि बताए ।

एक अर्को प्रसङ्गमा अध्यक्ष श्रेष्ठले आमरूपमा वितरकहरुलाई विचौलियाको संज्ञा दिईने गरेकोप्रति दुःख व्यक्त गर्दै एउटा आयातकर्ता र उद्योगले प्रत्यक्ष रूपमा थोक तथा खुद्राहरुलाई सेवा दिन सम्भव नभएका कारण वितरकहरुको आवश्यकता पर्ने बताए । तसर्थ वितरकहरु विचौलियाभन्दा पनि यथार्थपरक सेवामुखी व्यवसायीहरु भएको उनको प्रष्टोक्ति थियो । हाल देशभरमा विभिन्न उत्पादनका गरी करिब ५ हजार हाराहारीमा वितरकहरू रहेको र रोजगारी सिर्जनामा पनि आफूहरुको उल्लेखनीय योगदान दिएको दाबी गरेका छन् ।

काठमाण्डाै पश्चिमक्षेत्रीय उप-संयोजक लोकेश्वरमान जोशी, ललितपुर क्षेत्रीय उप-संयोजक राजुप्रसाद पाैडेल, भक्तपुर क्षेत्रीय संयाेजक राजेश डङ्गोल, उप-संयोजक गणेशप्रसाद तिमल्सिना, काठमाण्डाै पूर्वक्षेत्रीय संयोजक नवराज दहाल तथा उप-संयोजक अशोककुमार कँडेलसहित ६ जनाले संयुक्त रूपमा कार्यसमितिमा प्रस्ताव पेश गरिएको क्षेत्रगत सङ्गठनात्मक नियमावली २०७४ तथा अार्थिक नियमावली २०७५ लाइ साधारणसभाले अनुमोदन गरेको काठमाण्डौ पूर्वक्षेत्रीय समितिका उप–संयोजक अशोककुमार कँडेलले जानकारी दिएका छन् । यसअघि उनीहरूले पेश गरेको नियमावली कार्यसमितिले स्वीकृत गरेतापनि साधारणसभाबाट अनुमोदन हुन बाँकी थियो । त्यस्तै अागामी दिनमा सङ्घलाई प्रविधिमैत्री बनाएर लैजाने काठमाण्डाै पश्चिमक्षेत्रीय उप-संयोजक लोकेश्वरमान जोशीले बताए । उनले समयसापक्ष सङ्घ प्रविधिमैत्री बन्न नसकेकोले अबको दिनमा त्यस्तो नरहने र बिस्तारै ‘पेपरलेस’ प्रविधिमा सङ्घलाई लैजाने ठोकुवा गरे । सङ्घको छिट्टै भक्तपुरमा पनि क्षेत्रीय कार्यालय खोल्ने क्षेत्रीय संयाेजक राजेश डङ्गोलले घोषणा गरेका थिए । त्यसैगरी कार्यक्रममा ४ वटै क्षेत्रका संयोजकहरूले अा-अाफ्नो क्षेत्रका प्रतिवेदन पेश गरेका थिए ।

सङ्घमा कुल ४ सयमध्ये काठमाण्डौ पूर्वक्षेत्रीय समितिमा मात्रै १५० वितरक आवद्ध रहेको पूर्वीय समितिका संयोजक नवराज दाहालले बताएका छन् । साथै, उनले क्षेत्रीय अवधारणाको थालनी पूर्वक्षेत्रबाट अाफूहरूले गरेको र नेपाल वितरक सङ्घ नयाँ क्षेत्रीय साङ्गठनिक संरचनामा प्रवेश गरेसँगै अाफ्नो पहल सार्थक भएकोमा खुसी व्यक्त गरे ।

खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले वितरक सङ्घ र खुद्रा व्यापार सङ्घ एकअर्काका परिपुरक भएको बताउँदै हरेक क्रियाकलापमा सहकार्य आवश्यक रहेको मा जोड दिए । मदिराजन्य पदार्थका वितरक रहेका उनले मदिराजन्य वस्तुहरुको विक्री वितरण गर्नका लागि निश्चित समय मात्र निर्धारण गरिएको हुँदा यसले व्यवसायीहरुलाई मार परेको बताए ।

ललितपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले आफूहरुले अति सङ्घर्षपूर्ण तवरबाट वितरक सङ्घको स्थापना गरेको सम्झदै हाल वितरक व्यवसायीहरुबीच एकता र समन्वयको कमी हुनु अति चुनौतीपूर्ण रहेको बताए । आफू अहिले वितरक व्यवसायमा नरहे तापनि विगतमा २९ वर्षसम्म विविध उत्पादनहरुको वितरण र व्यवसाय गरेको सम्झना गर्दै उनले वितरकहरुका लागि थुप्रै नीतिगत समस्याहरु रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले उद्योग वाणिज्य सङ्घबाट नेपाल चेम्बर्स अफ कमर्स छुट्टिएर जानु दुखद् रहेको भन्दै यसले व्यवसायिक क्षेत्रमा थप चुनौती देखा परेको उनको बताए ।

नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले भने वितरकहरुबिना आफूहरु अगाडि बढ्न नसक्नेमा जोड दिए । वितरकका क्षेत्रमा रहेका वर्तमान समस्याहरु समाधान गर्नका निमित्त सरकारले विशेष रूपमा ध्यान दिनुपर्नेमा जोड दिंदै उनले विवाद नगरी सबै क्षेत्र एकढिक्का हुन आग्रह गरे ।

यसैगरी उद्योग वाणिज्य सङ्घका प्रदेश ३ अध्यक्ष दिनेश श्रेष्ठले हरेक व्यवसायलाई अगाडि बढाई सफल बनाउनको लागि वितरकहरुले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरेका थिए । राज्यले जस्तो नीति तर्जुमा गरे पनि त्यसलाई मान्नका लागि सबै तयार हुनैपर्ने भएकाले वितरकहरुको समस्या समाधान गर्ने सवालमा राज्यले विशेष ध्यान दिएर आवश्यक कानुनको तर्जुमा गर्न श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सङ्घको अनुमोदित नियमावलीअनुसार अब रू. २५ हजार शुल्क दिएर दीर्घकालीन सदस्य बन्न पाउने बाटो खुलेको छ ।

प्रतिकृया

प्रतिकृया