हेड्लाईन सम्वाददाता
पौष २६, काठमाण्डौ– नेपालमा भारतसँगको सम्बन्धको मजबुदकै कारण भारतीय राजदूतावास काठमाण्डौले विहीबार हिन्दी दिवस मनाएको छ । त्रिभुवन विश्वविद्यालय, काठमाण्डौअन्तर्गतको हिन्दी केन्द्रीय विभागको सहकार्यमा राजधानीमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा विश्व हिन्दी दिवस मनाएको हो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए 
। कार्यक्रममा गोपाल ठाकुर तथा गुरूदेव कामतद्वारा हिन्दीका प्रख्यात कविका कार्यको साङ्गीतिक प्रस्तुति गरिएको थियो । यसैगरी गायिका सरस्वती खत्रीले पनि साङ्गीतिक काव्य प्रस्तुति दिएकी थिइन् ।

उक्त अवसरमा केन्द्रीय हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइटसमेत लोकार्पण गरिएको थियो । राजदूत पुरीले नेपालका आदिकवि भानुभक्त आचार्यका कविताको हिन्दी अनुवादसहित २ वटा हिन्दी पुस्तकको लोकार्पणसमेत गरेका थिए । साथै स्व. अटल बिहारी वाजपेयीका ५१ वटा कविताको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा एक कवि सम्मेलनको आयोजना गरिएको थियो । उक्त अवसरमा करिब १५ कविले आफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका करिब २०० जना साहित्यिक व्यक्तित्वको सहभागिता थियो ।

परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री स्वराजको दाैत्य भेटवार्ता

नेपाल र भारतको सम्बन्धलाई वढावा दिनेगरी भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी सुष्मा स्वराजबीच नयाँदिल्लीमा भेट भएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार दिउँसो २ बजेदेखि दुई मन्त्रीबीच भेट भएको हो ।

भेटवार्तामा उनीहरूबीच नेपाल–भारत सहकार्यमा भइरहेका विभिन्न परियोजनाको प्रगतिबारे कुराकानी भएको छ । दुई मन्त्रीबीच नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक उपयुक्त समयमा कठमाण्डौमा गर्ने सहमति भएको दूतावासले जनाएको छ । भेटपछि भारतीय समकक्षी स्वराजले आफ्नो सम्मानमा आयोजना गरेको दिवाभोज मन्त्री ज्ञवाली सहभागी भएका थिए ।

नयाँदिल्लीमा भईरहेको राइसेना डायलगमा भागलिन मन्त्री ज्ञवाली बिहीबार बिहान भारत गएका हुन् । भारतको विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले यो डायलग आयोजना गरेको हो । बिहीबार नै मन्त्री ज्ञवालीले उक्त बैठकलाई सम्बोधन गर्नेछन् । मन्त्री ज्ञवाली शुक्रबार स्वेदश फर्कने कार्यक्रम छ ।

नेपालको राजनीति परिवर्तनलाई भारतले सधैँ नियाल्दै अाएको छः

नेपालको पछिल्लो भूराजनीतिक घटनाक्रमलाई भारतले सूक्ष्म रूपले अध्ययन गरिरहेको छ । भारतीय संस्थापनपक्षले खुला रूपमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे मुख नखोले पनि भारतीय सञ्चारमाध्यम र नेपालमामिलाका जानकार भने आगामी दिन हुने नेपाल–भारत सम्बन्धलाई लिएर आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपालका लागि पूर्वभारतीय राजदूत राकेश सुदले आगामी दिन नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

वाम गठबन्धनकातर्फबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले भारतलाई समेत विश्वासमा लिएरअघि बढ्नुपर्ने बताउँदै सत्तामा उक्लिएका उनी पछिल्लोसमय भने नेपाल र भारतबीचको सम्बन्धमा सामान्यीकरण गर्नेमै व्यस्त छन् । यद्यपि केही समयअघि प्रधानमन्त्री ओलीको उत्तरी नाका रसुवागढी भ्रमणलाई दिल्लीले नजिकबाट नियालेको थियो । गत ४ पुसमा ओलीले रसुवागढी भ्रमण गरेर अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नति र त्यहाँबाट लगभग ५ सय ५० किलोमिटर टाढा रहेको सिगात्सेबाट रेलमार्गका लागि प्रवेशद्वारका रूपमा विकसित गर्ने घोषणा गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका थिए ।

भारतको अंग्रेजी दैनिक प्रत्रिका द हिन्दूमा ‘नेपालमा निर्वाचनपछिको छलफल’ शीर्षकमा आफ्नो विचार लेख्दै सुदले लेखेका थिए ओलीले विगतको तिक्तता भुल्दै भारतसँग सम्बन्ध विस्तार गर्नुपर्ने सुझाएका छन् । ‘नेपाल र भारत दुबै पक्षले ओलीको नौ महिने कार्यकालका बेलाका तिक्तता भुल्दैअघि बढ्नु जरुरी छ,’ उनले अगाडि भनेका छन, ‘भारतले नाकाबन्दी लगाएर आर्थिक सङ्कटको स्थिति ल्याइदिएपछि नेपालमा भारतविरोधी भावना प्रबल भयो र यसलाई ओलीले नेपाली राष्ट्रवादको आवरण दिएर चुनावमा उपयोग गरे । यही सानो अवधिबाहेक ओली जहिले पनि भारत र नेपालबीचको सुसम्बन्धका पक्षपाती हुन् ।’

सुदले ‘नेपालमा चीन कार्ड नौलो नभए पनि अहिलेको परिस्थिति भने भिन्न भएको उल्लेख गरेका छन् । ‘नेपालमा चीन कार्ड खेल्नु नयाँ कुरा होइन, विगतमा चीनले नेपाली नेतालाई भारतसँगको भिन्नता सल्टाउने सुझाव दिने गर्दथ्यो,’ उनले अगाडि भनेका छन्, ‘अहिले परिस्थिति बदलिएको छ, नेपाल चीनको महत्वकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी भइसकेको छ ।’

पूर्वराजदूत सुदले चीनसँग नजिकिँदाको जोखिमबारे ओली जानकार रहेको बताउँदै दिल्लीले पनि ओलीसँगको विश्वासको वातावरण पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ‘यसका लागि नेपालको चिन्तालाई सम्बोधन गर्नुपर्छ,’ उनले अगाडि भनेका छन्, ‘विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र विकास परियोजना कार्यान्वयन गर्न शीघ्रता देखाउनुपर्छ । यसले नेपाललाई राम्रो सन्देश दिन्छ अनि मोदी सरकारको ‘छिमेक पहिले’ नीतिअनुरूप नै हुन्छ ।’

प्रतिकृया

प्रतिकृया