विवेकशील साझा पार्टीका संयोजक उज्ज्वलबहादुर थापाले १८ पृष्ठको समीक्षा प्रतिवेदन पार्टी सदस्यलाई सर्कुलर गरेका छन्, यसले पार्टीभित्र तरंग ल्याएको छ। अर्का संयोजक रवीन्द्र मि श्रको नाम नलिई थापाले पार्टीमा शक्तिको चरम केन्द्रीकरण तथा निषेधको राजनीति भएकोलगायतका आरोप लगाएका छन्। उज्वल थापासँग गरिएको कुराकानी

एकता भएको वर्षदिन पछि फेरी पार्टी फुटाउनु भयो । यति ठूलो निर्णय लिने निष्कर्षमा कसरी पुग्नुभयो ?

म एक्लै निष्कर्षमा पुगेको होइन। धेरै साथीहरूको सहकार्य छ। केन्द्रीय समितिमा पनि मैले समीक्षा गर्दैछु भनेर प्रस्ट भनेको थिएँ। निर्वाचन भएको पनि एक वर्ष भयो, तपाईंहरू पनि सदस्यहरूसँग समीक्षा गर्नुस् भनेको थिएँ। त्यसपछि अग्रज, बुद्धिजीवी र दलका शुभचिन्तकसँग सुझाव लिइयो।

मैले केन्द्रीय समितिका साथीहरूलाई पनि भनेर समीक्षाको नेतृत्व गरें। संगठन विस्तारका साथीहरूलाई पनि सोधें। विभिन्न जिल्लामा गएर प्रत्यक्ष भेटें। यो कुनै कोठेगफबाट निस्केको एकजनाको विचार होइन। यो त एउटा प्रक्रिया हो। अग्रज साथीहरू र समाजका प्रबुद्ध व्यक्तिहरूसँग छलफल गरेर सन्तुलित खालको प्रतिवेदन निर्माण भएको हो।

एकताअघि अनुमान थिएन ?

कति सवाल अनुभवबाटै थाहा पाइने हो। राजनीति भनेको डरको होइन, आस्थाको हो। सबै सुसंस्कृत आचरण भएका, मिलेर काम गर्न सक्ने व्यक्तिहरूलाई मिलाएर लैजान विवेकशील साझा पार्टी गठन गरेका हौं। मूल्यमान्यतामा अडिग राजनीतिमा उहाँहरूसँग कुनै फरक देखेनौं। विचारमा पनि धेरै समानता थिए। जनआकांक्षा पनि तीव्र थियो कि राम्रा मान्छे सबै एक ठाउँमा आउनुपर्छ भनेर।

हामीले पनि महसुस गरेका थियौं कि एक र एक मिलेर एघार बनाउनु आवश्यक छ। विवेकशील र साझा पार्टीमा रहेका सबैलाई मिलाएर राम्रो माहौल बनाउने आशाले नै अगाडि बढेका हौं। त्यही आशाको सानो झिल्को दुई लाख १२ हजार मतमा देखियो।

त्यो आस्थाको राजनीति आवश्यक छ। त्यसलाई डरको राजनीतिले कदापि जित्न नसकोस् भनेर कहाँकहाँ समस्या छन् र कसरी समाधान गर्न सकिन्छ भनेर औंल्याउने समीक्षाका रूपमा यो प्रतिवेदनलाई लिनुपर्छ। यसलाई सम्बोधन गरेनौं भने त हामीलाई आमनागरिकले प्रश्न गर्न थाल्छन्। बोल्ने मात्र होइन, एक्सनमा पनि जानुपर्‍यो।

वैकल्पिक राजनीति गर्ने दलको संयोजक त यस्तो उकुसमुकुसमा बस्नुपर्छ भने कार्यकर्ताको हालत के होला ?

वैकल्पिक राजनीतिको नवीनता भनेको के भने यसले एक्सपेरिमेन्ट (प्रयोग) माग्छ, नवीन ढंगले उत्तर खोज्छ। अझ सुसंस्कृत राजनीति गर्छु भन्ने साथीहरूको अनुभव लिएर अघि बढौं भन्दा यो एकता सम्भव भयो। साथीहरूलाई फरकफरक तरिकाबाट सुनौं, आत्मसात गरौं र उनीहरूको प्रयोग पनि सफल बनाऊँ भनेर लागियो। त्यसलाई पनि हेर्न समय चाहिन्छ। चुनावपछिको एक वर्ष त काम गर्ने स्वतन्त्रता पनि चाहियो नि। जुनै प्रयोगको पनि नतिजा त तथ्यबाट थाहा हुन्छ।

जे प्रयोग गरे पनि त्यसले सकारात्मक नतिजा निकाल्नुपर्छ। पार्टीमा सक्षम नेतृत्वको विकास भइरहनुपर्छ। पार्टी सदस्यहरू पनि संख्यात्मक तथा गुणात्मक रूपमा बढेकै हुनुपर्छ। दुई लाख १२ हजार मत भनेको हामीलाई दिइएको शुभेच्क्षा हो, त्यसको तुलनामा कति सदस्यहरू बढायौं भन्ने प्रश्न आउँछ। उहाँले त्यो सीमित समयभित्र नतिजा निकाल्नुपर्‍यो नि त। त्यो नतिजा आएको छैन भने यो प्रयोग फ्लप भयो भन्न सक्नुपर्‍यो नि। अहिलेको फेज भनेको यो हो। यो तरिकाबाट धेरै अगाडि बढाउन गाह्रो हुन्छ।

विभिन्न सडक र नागरिक अभियान हुँदै पार्टीमा परिणत हुनुभयो। तर अहिले तपाईं भन्दै हुनुहुन्छ कि नागरिक अभियानमा सहभागी हुने विषयमा पनि पार्टीको नेतृत्वमा मतान्तर भयो त ?

हामीले अनुभवबाट सिकेको हो। कुनै पनि काम गर्दा क्रेडिट लिन मन लाग्छ। अथवा क्रेडिट दिएको राम्रो लाग्छ। यो चारपाँच वर्षको अनुभवबाट के सिक्यौं भने नागरिकहरू राजनीतिकै विषयमा विभाजित र संशकित छन्, धेरैपटक धोका पाइसकेका छन्। नागरिकले संस्था, संगठन वा दललाई पत्याइहाल्ने आधार छैन। हामीले संयमित भएर नागरिकसँग मिलेर अभियान गर्नुपर्ने हुन्छ। हामीले नागरिकका लागि अभियान गर्दिने होइन कि नागरिकले नै अभियान गर्ने हो। किनभने नागरिक नै जिम्मेवार हुनुपर्छ, विवेकशील बन्नुपर्छ।

नागरिक जिम्मेवार बनाउन त उहाँहरूलाई अगाडि सार्नुपर्‍यो। उहाँहरूलाई अगाडि सार्दा हामीले क्रेडिट लियौं भने गाह्रो भयो नि। कुन ठाउँमा क्रेडिट लिने र कुन ठाउँमा नलिने भन्ने नेतृत्व कला (आर्ट अफ लिडरसिप) को हो। अहिले पनि विवेकशील साझा पार्टीबाट कतिपय स्थानमा आफैं नेतृत्व पनि गर्छौं। कतिपय ठाउँमा नागरिक भएर पनि लिड गर्छौं। गोविन्द केसीको अभियान नै एउटा उदाहरण हो।

हाम्रा साथीहरू त्यहाँ हुनुहुन्छ। अरू पार्टीका साथीहरू पनि हुनुहुन्छ उहाँसँग। जुनसुकै पार्टीले पनि त्यहाँ नेतृत्व लिन खोज्यो भने त उहाँको अभियानलाई असर पर्छ नि त। क्रेडिट कसले पाउँछ भन्ने तनाव नलिई अगाडि बढ्यो भने उल्टै झन् क्रेडिट पाइन्छ। माइतीघरमा पाँच वर्ष उभियौं शान्त भएर। अहिले अरूले कार्यक्रम गर्छन्, कहिलेकाहीं त्यसको क्रेडिट पनि हामी पाइरहेका हुन्छौं।

विवेकशील र साझा पार्टीबीच भागबन्डा वा मर्जरको समस्या हो वा विवेकशीलको नेतृत्व गर्ने उज्ज्वल र साझाको नेतृत्व गर्ने रवीन्द्रबीचको समस्या हो ?

यो व्यक्तिमा जाने होइन। हामीले गरिरहेको मूल्यमान्यताको राजनीतिमा अडिग हुने हो। हामी जे बोल्छौं त्यो व्यवहारमा उतार्न सक्यौं भने मात्र आमनागरिकले हामीलाई पत्याउने वातावरण बन्छ। अरूले जत्ति गलत गर्ने छुट हामीलाई छैन। एउटा गल्तीमा हाम्रो विश्वास खत्तम हुनेछ। यो व्यक्ति र व्यक्तिबीचको समस्या नै होइन। मूल्यमान्यतामा अडिग हुन सक्ने कि नसक्ने भन्ने हो।

हाम्रो कुनै पनि केन्द्रीय, जिल्लामा रहेको नेतृत्व र सदस्यहरूमा पनि यो प्रश्न उत्तिकै लागू हुन्छ। मूल्यमान्यतामा अडिग राजनीति गर्ने हो भने हामीले आमनागरकिलाई जुन किसिमको वाचा गरेका हुन्छौं, त्यो पूरा गर्नुपर्छ। नभए उहाँहरूले कसरी हाम्रो मूल्यांकन गर्ने रु विवेकशील र साझा पार्टीको भागबन्डाको कुराले नहेर्नुस्।

यसलाई पार्टीले बोकेका विचार वा सिद्धान्त, मूल्यमान्यता पार्टीका बाचा सबैको कसीमा हेर्नुपर्छ। वैकल्पिक राजनीति गर्छु भन्नेले यो नैतिक साहस गर्न सकेनौं भने लुटतन्त्रविरुद्ध उदाहरण बन्न सकेनौं भने अरूले गरेको गल्तीमा टेकेर राजनीति गर्ने छुट हामीलाई छैन। यो एक वर्षको समीक्षाको पनि समीक्षा हो। नेतृृत्व भनेको पूर्वतयारी हो। त्यो किसिमका प्रणाली, पद्धति र संरचना हामीले बनाइरहेका छौं भने हामी सफल हुन्छौं नत्र हाम्रो पनि विकल्प खोज्न थालिन्छ।

रविन्द्र मिश्रको नेतृत्वको मूल्यांकन कसरी गर्नुहुन्छ ?

विवेकशील साझा पार्टी एउटा संयोजक र दुइटा संयोजकको पार्टी होइन। दुई पार्टी एकता हुँदा संयोजक भन्ने पद नै किन राखियो वा अध्यक्ष किन राखिएन रु संयोजक पनि तदर्थ हो। तदर्थ संयोजक पनि सेरेमोनियल हो। विशेष अधिकारको व्यवस्था सम्झौता वा विधानमा राखिएको छैन। यसलाई परम्परागत ढंगको कार्यकारी अध्यक्षका रूपमा लिन मिल्दैन। हामी सेरेमोनियल हो। अरूलाई एक किसिमले मार्गदर्शन दिने पनि हो।

हाम्रो अनुभव अलिकति धेरै होला, त्यसैका आधारमा त्यो बोझ बोकेका हौं। त्यसैले मैले एकजना व्यक्तिको भन्दा पनि हाम्रो प्रणालीको, हाम्रो केन्द्रीय समितिले गरेका कामकारबाहीको समीक्षा गरी पार्टी वैकल्पिक बाटोतिर लगेको छैन, बरु मूलधारतिर लगिरहेको हो कि भन्ने चिन्ता गरेको हो। मेरो मात्र होइन, यो धेरै साथीहरूको पनि चिन्ता हो। कोही पनि मित्रहरूले यसलाई आफूप्रति मात्र वा मप्रति मात्र वा ऊ प्रति मात्र भनेर अंकित गर्न मिल्दैन। किनभने हामीले गर्ने राजनीतिमा त हजारौं साथीहरूका विविध विचार र चरित्र पनि देखिन्छन्।

तर सबै जानुपर्ने त एउटा मान्यता र मार्गमा हो। सिस्टमले राम्रोसँग चल्न नसकेपछि रिफर्म गर्नुपर्छ, अझ राम्रो बनाउनुपर्छ भनेर बुँदागत हिसाबमा समाधानका बाटो देखाएको हो।

कोही पनि नियत नै खराब राखेर, पार्टी बिगार्छु भनेर आएकै होइन। विवेकशील साझा पार्टीमा कोही पनि मैले त्यस्तो देखेको छैन, तर ढंग मिलाउन सक्नुपर्छ। अहिले ढंग मिलेको भए हाम्रो सदस्य पनि बढ्थ्यो, नेतृत्व पनि विकास हुन्थ्यो। हाम्रो ऊर्जाशील केन्द्रीय समितिका कतिपय प्रख्यात व्यक्तित्वहरूले राजीनामा दिँदैनथे होला। त्यसको जिम्मेवारी त म आफैंले पनि लिनुपर्छ। मैले मात्र होइन, हामी ३७ जना नेतृत्वमा बसेका सबैले लिनुपर्छ। हामी सबै जिम्मेवार हुनुपर्छ। सदस्यहरूले पनि औंला ठड्याएर नेतृत्वलाई जिम्मेवार बनाउनुपर्छ। मैले पनि व्यक्तिभन्दा पद्धति र सिस्टमतिर ध्यान दिएको छु।

प्रतिकृया

प्रतिकृया