ललितपुर महानगरको दक्षिण भागमा अवस्थित वडा नम्बर–१४ मा मिश्रित बस्ती छ । केही वर्षअघिसम्म शान्त र सफा देखिने यस क्षेत्रमा बस्ती बढेसँगै सडक, ढल, पानी, फोहोर व्यवस्थापनलगायत समस्या थपिएका छन् । वडाका योजना, समस्या समाधानमा भएका पहललगायत विषयमा वडाध्यक्ष रामबाबु महतसँग गरेको संवाद :

वडाका काम कसरी गरिरहनुभएको छ ?

मैले चुनावका वेला प्रचारमुखी घोषणा केही पनि गरिनँ । स्थानीयले मलाई पञ्चायतकालदेखि गरेको काम हेरेर निर्वाचित गराउनुभयो । मैले प्रचारमुखी चुनावी प्रतिबद्धता जनाइन भन्दैमा जनताको काम नगर्ने भन्ने होइन । अहिले हामीसँग करिब चार करोड बजेट छ । त्यति बजेटले विकास निर्माणका काम तुरुन्तै पूरा गर्न सकिँदैन । त्यसमाथि कानुनी प्रक्रिया पनि पु-याउनुपर्ने हुन्छ । वडास्तरीय बजेटले विकास निर्माणका काम भइरहेका छन् । निर्वाचित भएपछि फोहोर व्यवस्थापनको काम पहिलो हुने बताएको थिएँ । सोहीअनुसार काम गरेको छु ।

जनता त फोहोरको समस्या विकराल भएको बताउँछन् । शिवशक्ति पेट्रोल पम्पअगाडि फोहोरले दुर्गन्ध फैलिएको, फोहोर व्यवस्थानको गाडी नियमित नआएकोजस्ता गुनासा छन् नि ?

हामीले त्यहाँ (शिवशक्ति पेट्रोल पम्प) मा फोहोर नफाल्न अनुरोधसहितको सूचनाबोर्ड राखेका छौँ । थुप्रैपटक सुरक्षागार्डसमेत खटाएर फोहोर व्यवस्थापन गरेका छौँ । तर, विडम्बना मान्छेमा चेतना नभएसम्म नहुँदोरहेछ ।  मानिसहरू रातको १२ बजे, २ बजे  फोहोरका झोला र पोकाहरू फाल्दा रहेछन् । अब सिसिक्यामेरा जडान गर्दै छौँ । कसैले फोहोर फाले एकपटक चेतावनी दिन्र्छौं । अर्कोपटक पनि फोहोर फालेको भेटिए जरिवाना गर्छौं ।

पानीको समस्या पनि देखिन्छ । वडाका जनताले सहज रूपमा पानी कहिलेसम्म पाउँछन् ?

पक्कै पनि पानीको समस्या छ । म ०३९ मा निर्वाचित हुँदा ५५ घर थिए । मेरै पहलमा त्यतिवेला चार इन्चको पाइप प्रयोग गरी पानी आपूर्ति भएको थियो । तर, अहिले बस्ती बढेको छ । करिब आठ हजार घर छन् । पानीको पाइप र धारा थपिए पनि स्रोत थपिएको छैन । त्यसैले, पानीको अभाव छ । पानीको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य पम्फा भुसालसँग कुरा राखेको छु । उहाँले बोरिङ गरेर पानीको व्यवस्थापन गर्ने योजना कार्यान्वयन गर्न सहमति जनाउनुभएको छ ।

मन्त्रालयबाट करिब चार करोड बजेट निकासा गराएर पानीको समस्या समाधान गर्छौं । प्रदेश सरकारसँग पनि यस विषयमा कुरा भएको छ । पानीको समस्या समाधानको उपयुक्त विकल्प मेलम्चीको पानी नै हो । त्यसका लागि विभिन्न ठाउँमा पाइप बिच्छाउने काम हुँदै छ । पानी व्यवस्थापनको काम चालू आर्थिक वर्षमा सुरु भई अर्को आर्थिक वर्षमा सम्पन्न हुन्छ ।

वडामा सडकबत्ती पनि देखिँदैन । जसका कारण बेलुका आवतजावत गर्दा असुरक्षित हुने स्थानीयको गुनासो छ नि ?

सडकबत्तीका लागि वडासँग करिब सात लाख बजेट छ ।  हामीले सडक बत्तीका लागि आवश्यक सामग्री खरिद थालिसकेका छौँ । वडा कार्यालय, ताल्चीखेल पिपलबोट, नखिपोटमा सडकबत्ती जडान भइसकेको छ । अन्य ठाउँमा पनि जडान गर्दै छौँ । त्यसपछि सडकबत्तीको समस्या रहनेछैन ।

रिङरोड आठ लेनको भए पनि भित्री सडकमा भने जामको समस्या झन् बढ्दो छ । त्यसमाथि नखिपोट–महालक्ष्मीस्थान–थसीखेलमा फुटपाथ पसलले हिँड्नै नसकिने अवस्था बन्छ । यी समस्या समाधानका लागि के सोचिराख्नुभएको छ ?

हाम्रो देशमा विकास निर्माणको काम गर्दा कमिसनको खेल हुन्छ । चीनले बनाएको सडक पनि अवैज्ञानिक छ । चीनले बाटो बनाउँछु भन्यो, नेपाल सरकारले सम्झौता ग¥यो । तर, आवश्यक ठाउँमा अकासे पुल, जेब्राक्रसिङ, ट्राफिक लाइट कहाँ–कहाँ बनाउने भन्ने नै छैन । लेन परिवर्तन गर्ने ठाउँ पनि पर्याप्त छैन । जसको असर भित्री सडकमा परेको हो । जहाँसम्म फुटपाथको कुरा छ, हामीले सम्बन्धित व्यक्तिहरूलाई हटाउन पत्र पठाइसकेका छौँ । फुटपाथलाई व्यवस्थित गराउनेछौँ ।

प्रतिकृया

प्रतिकृया