काठमाडौं । क्रिकेट आफैंमा अनिश्चितताको खेल हो । यसमा राम्रो खेलेर मात्रै पुग्दैन, भाग्यले पनि साथ दिनुपर्छ । भाग्यले साथ नदिँदा नेपाली टिम सन् २०२० मा हुने अन्डर १९ विश्वकप खेल्नबाट वञ्चित भएको छ ।

उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालको युवा क्रिकेट टिम विश्वकपमा छनोट हुनबाट चुक्यो । वर्षाले प्रभावित यूएईविरुद्धको खेलमा डिएलएस मेथडअनुसार व्यहोरेको १ रनको हारले नेपाललाई एउटा ठूलो अवसरबाट वञ्चित ग¥यो । प्रतियोगिताबाट एउटा मात्रै टिम विश्वकपका लागि छनोट हुने प्रावधान थियो ।

नेपालले खेलेका पाँचमध्ये ४ खेलमा विपक्षी टिमलाई कुनै मौका नदिई भारी अन्तरको जित हासिल गरेको थियो । सिंगापुरविरुद्ध नेपालले हासिल गरेको २१७ रनको जित प्रतियोगितामै सबैभन्दा फराकिलो जित हो ।

दोस्रो ठूलो जित पनि नेपालकै नाममा रह्यो । ओमानविरुद्ध १५० रनको जित । नेपालले मलेसिया र कुवेतलाई समान ८–८ विकेटको हार चखाएको थियो । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेको थियो भने कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा हासिल गरेको थियो ।

प्रतियोगिताको पहिलो, दोस्रो र चौथो उच्च स्कोर नेपालको नाममा छ । सिंगापुरविरुद्ध नेपालले बनाएको २८५ रन प्रतियोगिताकै उच्च स्कोर हो । यसैगरी यूएईविरुद्ध नेपालले बनाएको २४७ रन दोस्रो र ओमानविरुद्ध बनाएको २२९ रन चौथो उच्च स्कोर हो ।

पहिले ब्याटिङ गरेको बखत तीनैपटक खेलमा नेपाल २२० भन्दा कम स्कोरमा समेटिएन ।

नेट रन रेटमा पनि नेपाल सबैभन्दा अगाडि छ । अंकतालिकाको पहिलो स्थानमा रहेको यूएईको नेट रनरेट २.४२२ रह्यो भने नेपालको नेट रनरेट २.९४८ । प्राय प्रतियोगितामा नेट रनरेट कमजोर हुने नेपालका लागि यो एउटा सुखद समाचार हो ।

तर, नेपालले यूएईविरुद्ध भोगेको १ रनको हारमा कमजोर प्रदर्शनभन्दा पनि वर्षालाई दोष दिन सकिन्छ । किनकी खेलमा फर्किन नेपालसँग पर्याप्त समय बाँकी थियो ।

नेपालले पहिले ब्याटिङ गर्दै १४७ रनको स्कोर खडा गरेको थियो । नेपाली क्रिकेटको ईतिहास हेर्ने हो भने २४० रनभन्दा माथिको लक्ष्य दिँदा पराजित भएको घटना कमै भेटिएला । सो म्याचमा यूएईले सम्हालिएर खेलिरहेको थियो तर, कुनै पनि बेला विकेट झारेर नेपालले खेल आफ्नो नियन्त्रणमा लिन सक्थ्यो ।

१२२ रनमा ३ विकेट गुमाउँदा यूएईले ३० ओभरको खेल खेलिसकेको थियो । २० ओभर बाँकी हुँदा उसलाई आधाभन्दा बढि रन बनाउनुपर्ने खेल नेपालकै पक्षमा थियो । तर वर्षाले खेल विथोल्यो । डीएसएल मेथड अनुसार यूएर्ई विजेता घोषित भयो ।

प्रतिकृया

प्रतिकृया