रूपन्देही – रूपन्देहीको शुद्धोधन गाउँपालिकामा कथित गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटनाको मिलापत्र भएको छ । दक्षिणा दिएर भोज नखाई फर्केका कथित गैरदलितहरूले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो ।

वैशाख ५ गते शुद्धोधन गाउँपालिका–५ फर्साटाकरस्थित आरती विकको विवाहको निम्तो मान्न आएका राजनीतिक तथा सामाजिक अगुवाहरुले दक्षिणा दिएर भोज नखाई जातीय भेदभाव गरेका थिए । यो घटनामा संलग्नलाई कारबाहीको माग चर्को रूपमा उठेको थियो । गाउँपालिकाको न्यायिक समितिले शुक्रबार रातिसम्म दुवै पक्षलाई छलफलमा राखेर भोज नखाई फर्केका गैरदलितले माफी माग्दै अब आइन्दा यस्ता घटना हुन नदिने र आफू पनि छुवाछूतविरुद्धको अभियानमा सामेल हुने सम्झौता गरी घटनालाई मिलापत्रमा टंग्याइएको हो ।

गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरी, उपाध्यक्ष एवं न्यायिक समिति संयोजक शान्तादेवी ज्ञवाली, जनप्रतिनिधि, जातीय छुवाछूत तथा भेदभाव अध्ययन अनुगमन समितिका सदस्य तथा दलित अधिकारकर्मीको रोहबरमा जातीय भेदभाव गरिएको ठहर गरिएको हो । जातीय छुवाछूत कानुनी रूपमा दण्डनीय रहेको तर समाजमा मेलमिलाप कायम गर्नुपर्ने र दुवै पक्षका रायका आधारमा न्यायिक समितिले मिलापत्र गराएको अध्यक्ष किसुनचन्द्रले बताए । उनले गाउँपालिका छुवाछूतमुक्त घोषणा भइसकेको तर व्यवहारमा त्यस्तो नदेखिएकाले अबदेखि यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाएको बताए ।

प्रतिकृया

प्रतिकृया