काठमाडौँ । नेकपाका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा गएर काम गर्ने कर्मचारीलाई १ लाख रूपैयाँ तलब दिनुपर्ने बताएका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका उनले कर्णालीमा कर्मचारी जान नमान्ने अवस्था अन्त्य गर्नका लागि प्रोत्साहनस्वरुप कर्मचारीलाई १ लाख र प्रमुख सचिवलाई ३ लाखसम्म तलब दिनुपर्ने प्रस्ताव संसदको राज्य व्यवस्था समितिको बैठकसामु राखेका हुन् ।
आज सोमबारको बसेको समितिको बैठकमा बोल्दै सांसद शर्माले कर्णालीमा कर्मचारी नबस्ने समस्या विद्यमान रहेको बताए । उनले भने, ‘म कर्णालीको नीति तथा कार्यक्रम छलफलमा गएर आएँ । त्यहाँ कर्मचारी बस्न मान्दैनन्, उनीहरूलाई टिकाउन कर्मचारीलाई १ लाख र प्रमुख सचिवलाई ३ लाखसम्म तलब दिने व्यवस्था गरौँ ।’

उनले कर्णालीमा खटिएर जाने कर्मचारी दुई महिना पनि नहुँदै सरुवा खोज्ने गरेको बताउँदै बरु कर्मचारीको संख्या थोरै कायम राखेर तलब बढी दिनुपर्ने बताए । कर्णालीको राजश्व पाँच करोड पनि नरहेको र सबै बजेट केन्द्र सरकारले नै दिएको गरी १५र१७ अर्ब हुने उनले बताए । त्यसले मात्र कर्णालीको उत्थान हुन असम्भव रहेको उनको भनाइ थियो ।

‘जति भर्ना गरे पनि के हुन्छ र यहाँ रु स्थायी नियुक्ती बुझेको भोलिपल्टबाट कर्मचारी जाँदैनन्,’ उनले भने, ‘गएछ भने पनि सुर्खेतमा बस्ला । त्यसैले हामीले सम्बन्धित स्थानीय तहसम्म कर्मचारी पठाउन प्रोत्साहन गर्नुपर्छ ।’ कर्मचारी भर्ती गर्दा सम्बन्धित स्थानीय तहमा सोही ठाउँका योग्य व्यक्तिलाई प्राथमिकता दिनुपर्ने समेत उनको तर्क रह्यो ।

प्रतिकृया

प्रतिकृया