काठमाडौं । वातावरण तथा दिगोपना सम्बन्धि वैश्विक सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ । २२–२४ नोभेम्बर २०२० मा आयोजना हुने कार्यक्रममा विश्वका ख्यातिप्राप्त वैज्ञानिकदेखि नोबेल पुरस्कार विजेताहरु सहभागी हुनेछन् ।
त्रिभुवन विश्वविद्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्राध्यापक रेजिना मास्के बेन्जूले त्रिभुवन विश्वविद्यालय, सुदुर पश्चिम विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय, फ्लोरिडा स्टेट विश्वविद्यालय, वायोमिङ्ग विश्वविद्यालयको सहकार्यमा सम्मेलन हुन लागेको जानकारी दिइन् । सम्मेलनमा साँढे तीन सय ख्यातिप्राप्त वैज्ञानिक सहभागी हुने बताउनुभयो ।
‘‘वातावरण तथा दिगोपना’’ सम्बन्धि वैश्विक सम्मेलन वायु प्रदुषण तथा जलवायु परिवर्तन, फोहर मैला व्यवस्थापन, दिगो विकास तथा वातावरणीय नीति विषयमा केन्द्रीत हुनेछ । कार्यक्रममा प्रस्तुत कार्यपत्र अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित हुनेछ ।
जलवायु परिवर्तनले प्राणीको जीवन नै संकटमा परेको विषय प्रकाशमा आइरहँदा वातावरण सम्बन्धि वैश्विक सम्मेलन नेपालमा हुनुलाई अर्थपूर्ण मानिएको छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर देखिइरहँदा नेपाल वातावरणका अध्ययनकर्ताहरुका लागि अध्ययनको विषय बनेको छ ।
पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। तीर्थ खनियाँले संसारका दिग्गज वैज्ञानिकहरु सहभागी हुने सम्मेलन नेपालमा आयोजना हुनु गर्वको विषय भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनले नेपालमा मात्र नभई संसारमै नकारात्मक असर परिरहेकाले यसबारे थप अध्ययन अनुसन्धान र बहस जरुरी रहेको बताउनुभयो ।
उहाँले उक्त सम्मेलन वातावरणसम्बन्धि अध्ययन अध्यापन गर्ने नेपालीहरुको लागि पनि कोशेढुंगा सावित हुने बताउनुभयो । खनियाँले भन्नुभयो, ‘हाम्रा वैज्ञानिकहरु संसारभरिका ख्यातीप्राप्त वैज्ञानिकहरुसँग जोडिन पाउनु गर्वको विषय हो । संसारभर विज्ञ वैज्ञानिकहरु यो सम्मेलनमा भाग लिन आउँदैहुनुहुन्छ । हाम्रा वैज्ञानिक र विद्यार्थीहरुको लागि पनि यो सम्मेलन सिक्ने मौका हो ।’

क्यालिफोर्निया स्टेट विश्वविद्यालयका सह–प्राध्यापक मोहन बहादुर डाँगीले वातावरणबारे अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि नेपाल चासोको क्षेत्र भएको बताउनुभयो ।
सगरमाथाको मुलुक भएकाले नेपाल शोधकर्ताहरुका लागि जलवायु परिवर्तनबारे अध्ययनको उपयुक्त क्षेत्र हुनुले पनि वैश्विक सम्मेलन काठमाडौंमा हुनलागेको बताउनुभयो ।

प्रतिकृया

प्रतिकृया