विश्वका विभिन्न मुलुकहरुमा लगानी गरिरहेका युरोपेली मुलुक फ्रान्सको झण्डै एक दर्जन बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा लगानी गर्नका लागि इच्छा देखाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा यहाँका उद्योगी व्यवसायीहरुले वान टु वान वार्ताका क्रममा नेपालको भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र कृषिमा लगानी गर्न इच्छा देखाएका हुन् ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा बहुराष्ट्रिय कम्पनीका प्रमुख तथा व्यवस्थापकहरुले नेपालमा लगानीको सुरक्षा र अनुकूल कानून भएमा आफूहरु लगानी गर्न तयार रहेको प्रष्ट पारे । फ्रान्सका बहुर्राष्ट्रिय कम्पनीहरु डेमिया अन्तर्राष्ट्रिय, एल्कोर, पुमा, ग्रेट स्पोटर्स टेक, विएनपी, पारिवास, इनग्रुप इन्टरनेशनल, सोसाइटी ग्लोवल फाइनान्स, ओइमीलगायतका अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रधानमन्त्री ओलीको आह्वानपछि लगानी गर्न इच्छुक रहेको बताएका थिए ।

ग्लोवल डेमियाका उपाध्यक्ष साविने डोमनगेटले नेपालमा लगानीका लागि कानूनी झन्झट हटाएमा आफूहरु लगानी गर्न इच्छुक रहेको बताए । आफूहरु नेपालका विषयमा जानकार रहेको बताउँदै उनले भने, “भारत र चीन ठूला मुलुकको बीचमा नेपाल छ । दुवै देशमा उत्पादनको राम्रो बजार छ । नेपालबाट उत्पादित वस्तुका लागि बजारको समस्या छैन ।”
त्यस्तै एल्कोरका प्रेसिडेन्ट इरिक लेपोर्टले प्रधानमन्त्रीको आग्रहपछि पनि थप उत्साहित बनेको उल्लेख गर्दै लगानीका लागि कुनै पनि प्रशासनिक अवरोध आउन नहुनेमा जोड दिए । “फ्रान्समै आएर प्रधानमन्त्रीले लगानीका लागि आह्वान गर्नुभएको छ,” लेपोर्टले भने, “यसमा हामी निकै नै सकारात्मक भएका छौं र नेपाल सरकारबाट लगानीको सुरक्षाको ग्यारेन्टी आउनुलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।”

फ्रान्सको निजी क्षेत्रको मेडेफ इन्टरनेशनल र नेपाल उद्योग वाणिज्य महासंघबीच दुई पक्षीय सम्झौता भएपछि फ्रान्सका बहुराष्ट्रिय लगानीकर्ताहरुले नेपालमा लगानीका लागि आफूहरु इच्छुक रहेको प्रतिक्रिया दिए । उनीहरुले नेपालमा राजनीतिक स्थिरता कायम भएमा आफूहरु लगानी लिएर नेपाल आउने आश्वास दिएका छन् । फ्रान्सका उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले नेपालले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई लगानी सम्मेलनमार्फत लगानीका लागि स्वागत गरेको उल्लेख गर्दै नेपालले विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई खुल्ला रुपमा आह्वान गरिसकेको बताए । प्रधानमन्त्री ओलीले सबै खालको कानूनी व्यवधान हटाउन सरकार तयार रहेको प्रष्ट पारे ।
फ्रान्सका उद्योगी व्यवसायीहरुलाई आश्वस्त पार्न प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी भवानी राणाले नेपालमा लगानीको वातावरण बन्दै गएको उल्लेख गर्र्दैै नेपालको उच्च तहबाट भएको प्रतिबद्धताले अन्तर्राष्ट्रिय लगानीलाई सहज बनाएको बताउनुभयो ।

प्रतिकृया

प्रतिकृया