एजेन्सी । भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको राजकीइ सम्मानका साथ दाहसंस्कार गरिएको छ । नयाँ दिल्लीस्थित लोधी रोडमा रहेको विद्युतिय शवदाह गृहमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको हो ।

स्वराजको पार्थिव शरीरमा उनकी छोरी बाँसुरी स्वराजले दागबत्ती दिएकी थिइन् । लामो समयदेखि अस्वस्थ रहेकी स्वराजलाई मंगलबार बेलुकी ह्दयघात भएपछि दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

अन्तिम संस्कारमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत मन्त्रिपरिषदका सदस्य, विभिन्न राज्यका मुख्यमन्त्रीका साथै विपक्षी दलका नेताहरु र विदेशी कुटनीतिज्ञ सहभागी थिए ।

भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोग्बे समेत दाहसंस्कारमा सहभागी हुन दिल्ली पुगेका थिए। त्यस अघि उनको पार्थिव शरीरलाई भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको थियो। मुख्यालयमा भारतीय जनता पार्टीका नेताहरुले स्वराजलाई श्रद्धाञ्जली दिएका थिए ।

उनको निधनप्रति नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका छन् । विभिन्न राजनीति दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिकृया

प्रतिकृया