हेडलाईन सम्न्वाददाता

श्रावण ३०, काठमाण्डौ- नेपालस्थित भारतीय दूतावासले भारतको ७३औं स्वतन्त्रता (अगष्ट १५) दिवसको अवसरमा ३० वटा एम्बुलेन्स र ६ वटा बस वितरण गरेको छ ।

दूतावासमा विहीबार आयोजित एक कार्यक्रममा राजदूत मञ्जीवसिंह पुरीले विभिन्न अस्पताल, गैह्रनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई बस र एम्बुलेन्स वितरण गरेका हुन् । दिवसको अवसरमा राजदूत पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डात्तोलन पनि गरे ।

उक्त कार्यक्रममा राजदूत पुरीले परोपकारी सहयोग अदान-प्रदानले नेपालको सामाजिक-साँस्कृतिक विकासतर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैह्रनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ वटा एम्बुलेन्स र १४८ वटा बस उपहारस्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ ।

निजगढ नगरपालिकालाई १ एम्बुलेन्स प्रदान
दुतावासले निजगढ नगरपालिकालाई एक थान एम्बुलेन्स प्रदान गरेको छ । राजदूत मञ्जीवसिंह पुरीले नगरप्रमुख सुरेशकुमार खनाललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

नगरप्रमुख खनालले एम्बुलेन्सप्राप्त गरेसँगै भारतीय राजदूत पुरीप्रति नगरपालिकाको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए ।

समारोहमा भारतीय दूतावासका कर्मचारीहरु र उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समुदायको सहभागिता रहेको थियो ।

पछिल्लोचरण विकास निर्माणलगायत जनजीविकाका समस्याप्रति सम्बोधन गर्दै आएका मेयर खनाल निजगढमा लोकप्रिय हुँदै गएको पत्रकार धीरज निष्पक्षले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया