गोरखा । भारत सरकारको सहयोगमा गोरखामा भएको भूकम्पपछि पूवनिर्माणमा निरीक्षणका लागि राजदुत मञ्जिवसिंह पुरी त्यहाँ पुगेका छन् ।  दुई देशका प्रधानमन्त्रीबीच हुने प्रत्यक्ष भिडियो कुराकानीका क्रममा देखाइने पुनर्निर्माणको दृश्यबारे छिनोफानो गर्न उनी गोरखा पुगेका हुन् ।

भदौ २४ गते दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष भिडियो कुराकानी हुदैछ । ‘त्यो दिन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा उद्घाटन गर्ने मुख्य कार्यक्रम छ,’ भारतीय राजदूतका प्रेस संयोजक अभिषेक दुवेले भने, ‘त्यही मौकामा भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा भएको पुनर्निर्माणका कामको पनि निरीक्षण हुन्छ ।’

उक्त भिडियो कन्फेरेन्सको भारतको दुरदर्शन र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने उनले बताए ।

भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने उनले बताए । कुँवरको घरमा निर्मित तुलसी मोठमा राजदुत पुरीले तुलसी समेत रोपे । कुँवर परिवारसँग उनले केहीवेर कुराकानीसमेत गरे । राजदूत पुरीसँगै जिल्ला आएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका धु्रव शर्माले भूकम्प पछिको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

भारत सरकारद्वारा गोरखा र नुवाकोटमा भूकम्पले क्षति पुगेका ५० हजार घरधुरी पुनर्निर्माणका लागि ६ अर्ब ९५ करोड रुपैयाँ सहयोग भएको छ । हालसम्म ४० हजार घर पुनर्निर्माण भइसकेको दुतावासले जनाएको छ ।

गोरखामा मात्रै २६ हजार ९ सय १२ भूकम्पपीडित घरधुरीलाई सहयोग गरिएको यूएनडीपीका जिल्ला संयोजक राम सापकोटाले बताए । जसमध्ये २३ हजार आठ सय घर बनिसकेका छन् । त्यस्तै दश विद्यालय र ३२ वटा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि पनि भारत सरकारले सहयोग गरेको उनले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया