टीकाराम यात्री


करिब ७०-७५ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले अंग्रेजी भाषाको आकर्षणका विषयमा एउटा टिप्पणी गरेका थिए, ‘अंग्रेजी पढ्नेलाई कुलिनका छोरी छन्, बाबुसाहेबका घरमा मेच, स्कुलमा छडी, कलेजमा गाडी, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइमा नाक, घण्टामा पचास र संसारमा सुवास, हाइ अंग्रेजी ! तेरै रवाफ खाएर हामी बसिरहेका छौं ।’

अहिले देवकोटाले भने झैँ अंग्रेजी अभिमानको माध्यम मात्र रहेन, योग्यता र व्यक्तित्वको मापदण्ड बनिसक्यो । आजको अन्तर्राष्ट्रिय सम्बन्ध, विज्ञान र प्रविधिले अन्तरग्रहीय विश्वसंस्कृति हुर्किइसकेको युगमा संसारसँग सम्पर्कका लागि मात्र होइन, नेपालबारे विषद् जानकारी राख्नसमेत अंग्रेजी भाषाको ज्ञान अपरिहार्य भइसक्यो । विश्व नागरिक हुने आकांक्षा पूरा गर्न, संसार बुझ्न र आफूलाई सांसारिक बनाउन संसारकै बोली बोल्नुपर्ने बाध्यता भइसक्यो ।

प्रसङ्गवश एउटा सन्दर्भ उल्लेख गरौं- केही महिनाअघि म एउटा निजी संस्थाको तालिममा उपस्थित थिएँ । त्यहाँका अन्य सहभागीको अंग्रेजी भाषाप्रतिको बाध्यात्मक मोह देखेर ताजुव लाग्यो । भलै त्यो अंग्रेजी उच्चारण र प्रयोगमा फितला देखिएकोमा पनि किन लागू नहोस् ।

पंक्तिकार अंग्रेजी साहित्यको विद्यार्थी रहँदारहँदै अन्तरमनको वास्तविक अभिव्यक्ति मातृभाषामै सहज मुखर हुने ठानी आवश्यकता हेरी नेपालीमै प्रस्तुत भयो, हुनु उपयुक्त ठान्यो । तर मूल्याङ्कन र सुपरीवेक्षणका दृष्टिकोणले मेरो लागि नेपाली भाषा नै त्यहाँ प्रत्युत्पादक भइदियो । अंग्रेजी बोले ठूलो बनिन्छ भन्ने भ्रान्तिले हाम्रो देशको एउटा पठित समुदायलाई नराम्रोसँग गाँजिसकेछ ।

नेपालकै विषयमा नेपालीलाई नै प्रस्तुत गरिने विकासे कार्यपत्रहरू हुन् या अन्य कुनै कार्यशाला गोष्ठी, सेमीनार जहाँतहीँ अंग्रेजीको जगजगी चल्न थालिसकेछ । त्यसमाथि उपस्थितमध्ये कोही गोरो छाला परिदियो भने त नेपाली वर्जित जस्तै भइदिन्छ । त्यस्तो अवस्थामा अंग्रेजीबाजहरू त खर्रर पड्केलान्, विचरा अंग्रेजीमा कम दखल हुनेहरू पनि लघुताभासले कनिकुथी अंग्रेजीमै भुत्भुताउँछन् । कनिकुथी कन्थुरिने तिनले आफूले अभिव्यक्त गर्न खोजेको विषयवस्तुलाई कसरी न्याय गर्लान् ।

मातृभाषा, जीवनका सम्पूर्ण पक्षलाई अभिव्यक्ति दिने र सम्पूर्ण व्यवहारमा विचार, भावना, दृष्टिकोण, अनुभूति, अनुभव आदान-प्रदान गर्ने आधारभूत र अनिवार्य माध्यम हो । के नेपाली भाषाको गहन ज्ञान नहुने नेपालीले अंग्रेजी विद्वान् बनेर हाम्रो इतिहास, संस्कृति, प्रकृति, समाज, यहाँको जातीय, भाषिक, भौगोलिक, जैविक विविधतालाई गहिरोसित बुझेर अरूसामु छर्लङ्ग अभिव्यक्त गर्न समर्थ हुन्छ ? ठाउँ न कुठाउँ अंग्रेजी या नेपांग्रेजी भट्भटाएर ठूलो अभिमान देखाउन अभिशप्त जमात देश र नागरिकलाई जिल्याउने कसरतमा अन्ततः आफैँ त जिल्लिरहेको छैन ?

बितेका केही दसकमा देश कसरी अंग्रेजी मोहमा डुबिसक्यो, कसरी अंग्रेजी माध्यमले वर्ग विभाजनको खाडल झन्झन् गहिरिँदै गयो र कसरी नेपाली र अन्य राष्ट्रभाषाहरू अंग्रजी छायाँमा परेर सेपले खाएका बिरुवाजस्ता भइसके, कसरी हाम्रो अपनत्व, संस्कृति र राष्ट्रियता दशैंका जमरा जसरी पहेंलिइसक्यो ? यो सब सम्झिँदा मन कुडिँएर आउँछ ।

सहरबजारका गल्लीहरूमा देखिने मानव आकृतिको स्थुल शरीर यहाँ छ, तर अंग्रेजी भाषाले निर्माण गरेको सांस्कृतिक साम्राज्यको भुमरीमा परेर उसको बोली, लबज, खाना, सपना, सङ्गीत, चिन्तन र कल्पना अन्यत्रै पुगिसकेको छ । पहिले उच्च वर्गका सन्तानको मात्रै युरोप, अमेरिका गन्तव्य बन्ने गर्थ्यो ।

आजभोलि निम्न र मध्यमवर्गीय युवाहरूसमेत अमेरिकी सूचना केन्द्र धाउँछन्, डीभी चिठ्ठाको फाराम भर्छन् । यो पनि एकप्रकारले भाषा साम्राज्यको उपज हो । होइन भने अमेरिका जान नपाएको झोकमा गरिने डीभीपीडित आन्दोलनजस्तो उपक्रमलाई के भनेर बुझ्ने ?

सिद्धान्ततः भाषा आफैँमा ज्ञान नभएर माध्यम मात्रै हो । तर अंग्रेजी भाषाप्रतिको अतृप्त आकांक्षा देख्दा लाग्छ, अंग्रेजी बोल्नु नै महान् हुनु हो, ज्ञानी हुनु हो । एफएम रेडियो र टेलिभिजनमा प्रस्तोताको नेपांग्रेजी लबज देख्दा त्यस्तै प्रतीत हुन्छ । कुनै राजनीतिज्ञ या प्रशासकले अन्तर्राष्ट्रिय मञ्चहरूमा दोभासे राखेर नेपालीमा बोल्यो या कनिकुथी अंग्रेजीमा बोल्दा लबज या उच्चारण बिग्रियो भने उछितो काड्ने हाम्रो संस्कारले त्यही लघुताभासलाई प्रतिबिम्बित गर्छ ।

यो नेपाली उपेक्षा र अंग्रेजी मोह साहित्य आकाशमा पनि ऐँजेरु झैँ मौलाउँदो छ । अंग्रेजी पढ्ने, लेख्ने तर नेपाली साहित्यबारे अल्पज्ञानीहरू नेपाली भाषा-साहित्यप्रति आत्महीनता बढाउन निकै चिसा प्रतिक्रिया व्यक्त गर्न हिच्किचाउँदैनन् ।

साहित्यलाई भोजभतेरको रूपमा लिने अखबारी अंग्रेजी लेखनमा नाम चलेका केही बुज्रुकका नेपाली साहित्यप्रतिको टिप्पणी सुन्दा आफैँलाई लज्जाबोध हुन्छ । आफू भने निर्लज्जपूर्वक नेपाली खासै नपढ्ने भन्न सरम मान्दैनन् । अवस्था र ठाउँ पाए नेपालीमा लेखिएको साहित्यलाई स्तरहीन भनेर दुत्कार्न पनि छुटाउँदैनन् ।

उनीहरू जोयस क्यारोल, नर्मन मेलर, उम्बर्टो इको, भिएस नयपाल, शशी थरुरदेखि अरुन्धती राय, विक्रम सेठ, सलमान रुस्दी, रुथप्रवर झाववाला, वेद मेहता, जेके रोलिङ, डन ब्राउन, ग्रावेल गार्सिया मार्खेजका हालसालैका कृतिसम्म चर्चा गर्न भ्याउँछन् तर नेपाली साहित्य पढेको छैनभन्दा एकप्रकारको गर्व महशुस गर्छन् ।

नेपाली र अंग्रेजी दुवै भाषामा समान दखल राख्ने देवकोटा, बालकृष्ण सम, यदुनाथ खनाल, ऋषिकेश उपाध्याय, ऋषिकेश शाह, नरेन्द्रमणि आदी, केशरबहादुर केसी, रामप्रसाद मानन्धर, डा. जयराज आचार्य, डा. महेशराज पन्त, डा. बद्री पोख्रेल, डा. हर्क गुरुङ्ग, डा. कमलप्रकाश मल्ल, डा. ताना शर्मा, डा. अभि सुवेदी, डा. डीपी भण्डारी, डा. गोविन्दराज भट्टराई, डा. पदम देवकोटा आदिलाई छोड्ने हो भने अंग्रेजी हाई, हाई गर्ने नेपाली जमात नेपाली साहित्यप्रतिको टिप्पणीमा ‘अल्पज्ञानम् भयंखरम्’भन्दा बढी छैनन् ।

एक पेजको अंग्रेजीबाट नेपालीमा अनुवाद प्रतिपेज पाँच शय रुपैयाँको हारामहारीमा मात्रै भएकोमा पाँच हजारसम्म लिएर नेपालीबाट अंग्रेजी अनुवाद गर्ने केही विज्ञलाई यो अन्तर अस्वाभाविक लाग्दैन । कारण हो अंग्रेजी तुजुक । ज्ञान, विज्ञान, व्यापारमा पाश्चात्य वर्चश्व र सबैतिर सर्वशक्तिमान पश्चिमा हुने अभिमानको परिणति हो यो । तर त्यत्तिकै आएको होइन, अंग्रेजीप्रतिको यो चासो, लहर, पहल र मोह । अंग्रेजी नजानेकै कारण लघुताभाष्सले ग्रस्त छ एउटा ठूलो वर्ग । त्यो समूह आफ्नो कमाइको अधिक अंश खन्याउँदै छोराछोरीलाई अंग्रेजीमा पारङ्गत बनाउन हरतरहले लागिपरेको छ । नयाँपुस्ता र परिवेशको बाध्यता पनि हो अंग्रेजी ।

अंग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा भनिएपनि बहुसङ्ख्यकको पहिलो बोलिने भाषा बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया, आयरल्याण्ड र न्युजिल्याण्डमा मात्रै छ । अझ संसारमा सबैभन्दा बढी व्यक्तिले बोल्नसक्ने भाषा अंग्रेजी नभएर चिनियाँ हो । संसारभरको सात अर्ब जनसङ्ख्यामध्ये ३५ करोडले मात्रै मातृभाषाका रूपमा अंग्रेजी भाषा प्रयोग गर्छन् । जुन पूरै अमेरिकाको जनसङ्ख्याको दुई करोड मात्रै बढी हो । अरू रोचक त के भने यी सबै देश बेलायतशासित तथा त्यहीँबाट आप्रवासीका रूपमा केही शताब्दीअघि मात्रै गएको जनसङ्ख्या हो ।

मातृभाषामा प्राथमिक शिक्षासम्म नदिई अनावश्यक सुगारटाइले न मातृभाषाको आधारभूत ज्ञान दिन्छ न त भाषाप्रति अपनत्व र प्रेम जगाउँछ न भाषा विज्ञानको सिद्धान्तअनुरूप पनि यो व्यावहारिक नै मानिन्छ ।

अंग्रेजी भाषालाई ५४ देशले सरकारी कामकाजमा समेत प्रयोग हुन सकिने मान्यता दिएका छन् । तीमध्ये ५२ वटा देशमा बेलायतको लामोसमयसम्म उपनिवेश कायम थियो । बाँकी दुई देशमध्ये रुवान्डामा लामोसमय बेल्जियमको साम्राज्यपश्चात् र इरिट्रियामा इटालीको साम्राज्यपश्चात् दोस्रोविश्वयुद्धका क्रममा सन् १९४१ देखि १९५२ सम्म ११ वर्ष बेलायतले नै शासन गरेको थियो ।

उन्नाइसौं शताब्दीमा ब्रिटिस साम्राज्य कहिल्यै घाम नअस्ताउनेगरी ५२ देशमा फैलिएकाले त्यही भाषा विश्वको माध्यमभाषा बनेको हो । यो संक्षिप्त तर रोचक तथ्याङ्कले प्रष्ट पार्दछ- बेलायतको उपनिवेश हटे पनि उ शासित देशमा कसरी कुन स्रोत र माध्यमबाट अंग्रेजी भाषा विश्वको माध्यमभाषा बनाउन सक्यो ।

आफूले उपनिवेश बनाएको देशमा कसरी भाषासमेत निर्यात भयो भन्ने जान्न बेलायती संसद्ले लर्ड म्याकालेलाई भारत पठाएको सन्दर्भ स्मरण गरे पर्याप्त हुन्छ । सन् १८३५ देखि १८३८ सम्म भारतका सबै क्षेत्रमा अध्ययन गरेर म्याकालेले बेलायती संसद्मा बुझाएको प्रतिवेदनअनुसार कुनै पनि देशमा दीर्घकालीन शासन गर्न धर्म, भाषा र संस्कृतिमा आक्रमण गर्नुपर्ने भन्ने थियो ।

सोही सिफारिसबमोजिम सरकारबाट संस्कृत गुरुकुलको लागि दिइँदै आएको अनुदान रोक्का गरियो र अंग्रेजी पठनपाठनको लागि संस्थागत रूपमै प्रोत्साहित गरियो । म्याकाले सिद्धान्त भारतमा मात्रै नभई बेलायतशासित सबै देशमा लागू गरियो र अंग्रेजीभाषा विश्वको माध्यमभाषा बन्न पुग्यो ।

अबतः नेपालीमा कखरा नछिचोल्ने अभिभावकसमेतले छोराछोरीलाई निजीविद्यालयमा सकिनसकी पढाउन बाध्य भइसके । छोराछोरीले ब्रयन एडम्स, ब्रिट्नी स्पेयर्स, एभ्रिल र भेङ्गावोइजका गीत गाउँदै गीतार बोकेर घरको छतमा गुनगुनाउन थाले भने बल्ल बाबुआमाहरू ‘हो ! छोराछोरीले अंग्रेजी सिकेछन्’ भन्दै मख्ख पर्छन् । हुँदाहुँदा अब त नेपालीमै पढेको, हुर्केको एउटा वर्गले गर्वसाथ ‘मलाई स्पष्ट र शुद्धसँग नेपाली बोल्न, लेख्न आउँदैन’ भन्न थालेको छ ।

मातृभाषामा प्राथमिक शिक्षासम्म नदिई अनावश्यक सुगारटाइले न मातृभाषाको आधारभूत ज्ञान दिन्छ न त भाषाप्रति अपनत्व र प्रेम जगाउँछ न भाषा विज्ञानको सिद्धान्तअनुरूप पनि यो व्यावहारिक नै मानिन्छ । बाँदर, स्याउ र तारा चिन्नुभन्दा अघि ‘मङ्की’, ‘एप्पल’ र ‘स्टार’ चिन्ने अहिलेका शिशुहरूका लागि स्वदेशीशब्द चिनाउन अर्को कुनै शैक्षिक अभियान पो थाल्नुपर्ने हो कि ?

(लेखकः एपी वान टेलिभिजनका समाचारप्रमुख हुन् ।)

(अन्नपूर्णपोष्टबाट साभार गरिएको ।)

प्रतिकृया

प्रतिकृया