नेपालस्थित भारतीय दूतावासले महात्मा गान्धीको जयन्तीको अवसरमा करिब ६ फीट अग्लो पूर्णकदकको शालिक अनावरण गरेको छ ।


मोहनदास करम चन्द गान्धीलाई महात्मा भन्ने गरिन्छ । उनी एक चतुर राजनेता थिए । उनले अङ्ग्रेजको शासनबाट भारतलाई स्वतन्त्र गराउने संघर्ष लडे र गरीब भारतीयको हक–अधिकारको पक्षमा आवाज उठाएका थिए ।

अहिंस्रक विरोध प्रदर्शनसम्बन्धमा उनले सिकाएको पाठ आज पनि पुरा विश्वमा सम्मानका साथ स्मरण गरिन्छ ।

अहिंसाका यी पुजारी कसरी एक धनाढ्य खानदानमा जन्मिएर पनि भारतका गरीबको आवाज उठाउने नेता बने त ? यहाँ त्यसको वर्णन गरिएको छ ।

धनी परिवारमा जन्म, धार्मिक आमाबाट प्रभावित

मोहनदास करमचन्द गान्धीको जन्म उत्तर–पश्चिम भारतको पोरबन्दर अधिराज्यमा सन् १८६९ अक्टोबर २ मा भएको थियो । गान्धीको परिवार एक धनाढ्य खानदान थियो । गान्धीका पिता करमचन्द्र गान्धी पोरबन्दरको तत्कालिन राजाको दरबारमा काम गर्थे ।

उनकी आमा एक धार्मिक महिला थिइन् । उनी नियमित पुजापाठको लागि मन्दिर जान्थिन् र विभिन्न अवसरमा व्रत बस्ने गर्थिन् ।

आमाले गान्धीलाई हिन्दू परम्परा र नैतिकताको पाठ पढाइन् ।

उनले गान्धीलाई सधैँ शाहाकारी बन्ने पाठ पढाइन् । आमाबाट बालक मोहनदासले धार्मिक सहिष्णुता, साधारण रहन–सहन र अहिंसाको पाठ सिके ।

१८८३ः एक विद्रोही नौजवान

आफ्ना बालबालिकालाई राम्रो वातावरण दिने उद्देश्यको लागि मोहनदासका पिताले आफ्नो परिवारलाई पोरबन्दरको राजकोट लगे । त्यहीँ गान्धीले अङ्ग्रेजी शिक्षा पाएका थिए ।

१३ वर्षको उमेरमा मोहनदास गान्धीको विवाह कस्तूरबासँग भयो । कस्तूरबा राजकोटमै बस्थिन् र विवाहको समय उनी गान्धीभन्दा एक वर्ष बढी अर्थात् १४ वर्षकी थिइन् । त्यो समय मोहनदास गान्धी एक विद्रोही युवक थिए ।

किशोरकालमा परिवारको परम्पराविरुद्ध गएर मोहनदास करमचन्द गान्धीले चोरी गर्ने, रक्सी खाने र मांसाहार गर्नेजस्ता काम सुरु गरेका थिए ।

तर साथसाथै मोहनदास आफूलाई सुधार्ने विचार पनि गर्थे । त्यस्ता काम गरेपछि उनी आफ्ना पिताले के सोच्लान् भनेर पछुतो महसुस गर्थे भनेर उनले आफ्नो पुस्तक ‘सत्यको प्रयोग’मा विस्तारमा लेखेका छन् ।

गान्धीले ‘सत्यको प्रयोग’ नामक पुस्तकमा आफूलाई एकदम पछुतो लाग्ने एक घटनाको व्याख्या गरेका छन् । किताबमा वर्णन भए अनुसार पिताको मृत्यु भएको रात गान्धी कामवासनाले प्रेरित भएर छिट्टै पिताको खुट्टा माड्न छाडेर पत्निकहाँ गएका थिए ।

पिताको मृत्यु हुदाँ आफू पितासँग हुन नसकेकोमा उनलाई धेरै पछुतो भयो । उनको पहिलो बच्चा जन्मेको केही समयमै बित्यो । त्यस बेला उनले त्यसलाई आफ्नो पापका लागि ईश्वरले दण्ड दिएको सोचेका थिए ।

आफ्नो पिताको मृत्युको समयमा उनीसँग नरहेकोमा गान्धीले लेखेका छन्, ‘म निक्कै लज्जित भएँ र आफूलाई अभागी ठान्न थालेँ । म आफ्नो मृत पिताको कोठातर्फ जादैँ गर्दा सोचेँ, यदी बासनाबाट मुक्त भएको भए मेरो पिताको मृत्यु मेरो काखमा हुन्थ्यो ।’

१८८८ः लण्डनमा कानुनको पढाइ

बम्बईको भावनगर कलेजमा पढाइ गरिरहेका मोहनदास गान्धी त्यहाँ खुसी हुन सकेनन् । त्यही समय उनले लण्डनको चर्चित इनर टेम्पलमा कानून पढ्ने प्रस्ताव पाए ।

यो सुनेपछि परिवारका बुर्जुगले मोहनदासलाई भेटेर उनी विदेश गए जाती–च्युत हुने भनेर सम्झाए । तर ठूलाबढाको असन्तुष्टिलाई बेवास्ता गर्दै गान्धी पढ्नको लागि लण्डन गए ।

लण्डनमा मोहनदास गान्धी सम्पूर्ण रुपमा पश्चिमी रंग–ढंगमा भिजे । गान्धी लण्डनमा पुग्दा त्यहाँ शाकाहारी आन्दोलन चालू थियो । गान्धी त्यसमा जोडिए ।

त्यस्तै उनी लण्डनको थियोशोफिकल सोसाइटीको सम्पर्कमा पुगे । त्यहाँ उनले बाल्यकालमा आमाबाट प्राप्त गरेको हिन्दू मूल्यमान्यताको पाठ पुनः दोहो¥याउने अवसर पाए ।

शाकाहारी भोजन गर्ने, जाँड–रक्सी नखाने र यौन सम्बन्धबाट टाढा रहेर उनले आफ्नो परिवारसँग गरेको प्रतिबद्धता पुरा गरे । थियोसोफिकल सोसाइटीको प्रेराणाबाट उनले विश्व बन्धुत्वसम्बन्धी आफ्नो सिद्धान्त निर्माण गरे । त्यस अनुसार संसारका सबै मानिस र धर्म बराबरी हुनुपर्ने उनको सपना थियो ।

१८९३ : ब्यारिस्टरका रुपमा लागि दक्षिण अफ्रिका

कानुनको पढाइ पुरा गरेपछि मोहनदास गान्धी भारत फर्किए र वकालत गर्न लागे । तर, उनले आफ्नो पहिलो मुद्दा नै हारेका थिए । यही दौरान उनलाई एक जना अङ्ग्रेज अधिकारीको घरबाट अपमानपूर्वक रुपमा बाहिर निकालियो ।

यो घटनाबाट गान्धी अत्यधिक अपमानित भएको महसुस गरेका थिए । त्यसपछि मोहनदास गान्धीले दक्षिण अफ्रिकामा काम गर्ने प्रस्ताव पाए जसलाई उनले तत्कालै स्वीकार गरे ।

दक्षिण अफ्रिकामा रेलको फस्ट क्लासमा यात्रा गरिरहे मोहनदास गान्धीलाई एक अङ्ग्रेजले उनको सामानसमेत डिब्बाबाट बाहिर हुत्याइदिए ।

दक्षिण अफ्रिकामा बसोबास गर्ने आप्रवासी भारतीयमाथि भइरहेको सौतेनी व्यवहार र भेदभावविरुद्ध उनले दक्षिण अफ्रिकामा इण्डियन कांग्रेसको स्थापना गरे । त्यहाँ गान्धीले भारतीय आप्रवासीलाई समाजको बाँकी हिस्साबाट अलग राख्ने कार्यविरुद्ध लडाईं सुरु गरे ।

दक्षिण अफ्रिकाको यस संघर्षको दौरान गान्धीले स्व–शुद्धिकरण र सत्याग्रहजस्तो सिद्धान्तको प्रयोग अभ्यास गरे । त्यो उनको अहिंसाको व्यापक विचारको हिस्सा थियो ।

यही दौरान गान्धीले ब्रम्हचर्यको प्रण लिए र सेतो धोती लगाउन सुरु गरे ।

सन् १९१४ : दक्षिण अफ्रिकामा सफल

सन् १९९३ मा मोहनदास गान्धीले दक्षिण अफ्रिकामा बसिरहेका भारतीयहरुमाथि लगाइएको ३ पाउण्डको करविरुद्ध आन्दोलन सुरु गरे ।

यो आन्दोलनको दौरान पहिलो पटक मोहनदास गान्धीले दक्षिण अफ्रिकामा काम गरिरहेका भारतीय मजदुर, खानी श्रमिक र खेतबारीमा काम गर्ने मजदुरहरुलाई एकजुट गरे र तिनको नेतृत्व गरे ।

पछिल्ला कयैन वर्षको आफ्नो संघर्षको दौरान मोहनदास गान्धीले २२२१ मानिससँग नटालदेखि ट्रान्सवालसम्मको विरोधको पदयात्रा निकाल्ने फैसला गरे । यसलाई उनले अन्तिम सविनय अवज्ञाको नाम दिए ।

यही यात्राको दौरान गान्धीको गिरफ्तार गरिएको थियो । उनलाई नौ महिना कैदको सजाय सुनाइयो । तर, गान्धीले सुरु गरेको हड्ताल थप फैलियो । त्यसपछि दक्षिण अफ्रिकामा शासन गरिरहेका अङ्ग्रेज शासकले भारतीयहरुमाथि लगाइरहेको कर फिर्ता लिनुप¥यो र गान्धीलाई जेलबाट रिहा गर्नको लागि बाध्य हुनुप¥यो ।

दक्षिण अफ्रिकाको ब्रिटिस शासनविरुद्ध गान्धीको यो जितलाई इंग्ल्याण्डको पत्रपत्रिकाले महत्त्व दिएर लेखेका थिए । यो सफलतापछि गान्धी अन्तर्राष्ट्रिय स्तरमा परिचित भएका थिए ।

सन् १९१५ः भारत फिर्ती

दक्षिण अफ्रिकामा आफ्नो आन्दोलनको सफलतापछि मोहनदास गान्धी एक विजेताको रुपमा स्वदेश फर्किए । भारत आएपछि मोहनदास गान्धी र कस्तूरबाले रेलको तेस्रो डिब्बामा बसेर सम्पूर्ण भारतको यात्रा गर्ने निर्णय गरे ।

यो भारत यात्राको दौरान गान्धीले आफ्नो देशको गरिबी र विशाल जनसंख्यालाई बुझ्न पाए । यात्राका क्रममा देशमा व्याप्त गरिबी देखेर गान्धी स्तब्ध भएका थिए ।

यही दौरान गान्धीले अङ्ग्रेज शासनले ल्याएको कालो कानून ‘रोयल एक्ट’ विरोधको घोषणा गरे ।

यो कानून अन्तर्गत तत्कालिन ब्रिटिश सरकारले जो कोही भारतीयलाई उग्रवादको आशंकाकै भरमा गिरफ्तार गरेर जेल हाल्न सक्थ्यो ।

मोहनदास गान्धीको भनाइमा सम्पूर्ण देशमा हजारौँ मानिस यो विधेयकविरुद्ध सडकमा उत्रिए । तमाम शहरहरुमा विरोध प्रदर्शन भयो ।

तर यो दौरान कयैन स्थानमा हिंसात्मक झडप पनि भयो । अमृतसरमा जनरल डायरले २० हजार मानिसको भीडमा गोली चलाए । त्यस हत्याकाण्डमा चार सयभन्दा बढीको ज्यान गयो भने १३ सयभन्दा बढी घाइते भए ।

यो हत्याकाण्डपछि गान्धीलाई ब्रिटिश शासन भारतका लागि खराब रहेको र यसलाई हटाउनको लागि आन्दोलन सुरु गर्नुपर्छ भन्ने विश्वास विकास भएको थियो ।

सन् १९२१ : भारतको स्वाधिनताको संघर्ष

आफ्नो बढ्दै गएको लोकप्रियताको कारण गान्धी अब भारतीय राष्ट्रिय कांग्रेसको प्रमुख अनुहार बनेका थिए । उनी भारतलाई ब्रिटेनको कब्जाबाट स्वतन्त्रता गराउने आन्दोलनको नेता बने ।

संघर्षको लागि महात्मा गान्धीले भारतीय राष्ट्रिय कंग्रेसलाई आम मानिसमाझ लोकप्रिय पार्टी बनाए । त्यसअघि कंग्रेस धनाढ्य भारतीयहरुको एक समूहमात्र हुने गथ्र्यो ।

गान्धीले धार्मिक सहिष्णुता आधारमा भारतलाई स्वतन्त्रता गराउनुपर्ने अवधारणाका साथ पार्टीलाई अघि बढाइरहेका थिए । गान्धीको अहिंस्रक आन्दोलनको अपिलमा हुने विरोध प्रदर्शनमा भारतीय समाजका सबै वर्ग र धर्मको समर्थन प्राप्त हुन लाग्यो ।

उनले ब्रिटिश शासनको विरुद्ध असहयोग आन्दोलन सुरु गराए । गान्धीको अपिलमा भारतको जनताले ब्रिटिश सामान बहिष्कार सुर गरिदिए ।

जवाफमा ब्रिटिस शासकले गान्धीलाई देशद्रोहीको आरोपमा गिरफ्तार गरे । उनलाई दुई वर्षसम्म जेलमा राखियो ।

एक पत्रकारले गान्धीको पहिरनलाई औल्याउँदै उनलाई पाखण्डको आरोप लगाउँदा गान्धीले जवाफमा भनेका थिए ,‘म भारतको स्वदेशी पहिरन लगाउँछु । किनकि यो भारतीय हुने सबैभन्दा स्वभाविक तरिका हो ।’

सन् १९३० : स्वतन्त्रताको दाण्डी यात्रा

अङ्ग्रेज शासकको लागि गान्धीको आन्दोलन र तिनको मागलाई बेवास्ता गर्नु सहज थिएन । ब्रिटिस सरकारले सन् १९३० मा भारतको राजनीतिक भविष्यबारे छलफल गराउनको लागि लण्डनमा एक गोलमेच सम्मेलन बोलायो ।

तर, यो वार्तामा अङ्ग्रेजहरुले भारतीयहरुलाई टाढा राखेका थिए ।

यसबाट गान्धी निक्कै आक्रोशित भए । त्यसको केहीपछि गान्धीले अङ्ग्रेजविरुद्ध नुन कानुनको विरोध अभियान सुरु गरे । त्यो समयका ब्रिटिश कानून अनुसार भारतीय नागरिक न नुन संकलन गर्न सक्थे न तिनलाई बेचविखन गर्न ।

यसको कारण भारतीय नागरिकले ठूलो मूल्यमा नुन किन्नुपथ्र्यो । गान्धीले हजारौँ मानिसको भीडको साथ दाण्डी यात्रा निकाल्न र ब्रिटिश शासनविरुद्ध प्रतिकात्मक विरोध जनाउन नुन बनाए । त्यो समय पनि अङ्ग्रेजले उनलाई गिरफ्तार गरे ।

नुन सत्याग्रहपछि एक मुठ्ठी नुन बनाउँदै गान्धीले भनेका थिए ,‘यस एक मुठ्ठी नुनबाट म ब्रिटिश साम्राज्यको जरो हल्लाउन जाँदैछु ।’

गान्धीको आन्दोलन धेरै फैलियो । हजारौं मानिसले अङ्ग्रेज शासनलाई कर र राजस्व तिर्न अस्वीकार गरे । त्यही समयमा गान्धी गोलमेच सम्मेलनमा भाग लिनको लागि लण्डन गए ।

सन् १९३१ः लण्डनको गोलमेच सम्मेलन

गान्धी लण्डनमा भइरहेको गोलमेच सम्मेलनमा भाग लिने भारतीय राष्ट्रिय कंग्रेसका एकमात्र प्रतिनिधि थिए ।

लण्डनको यस सम्मेलनमा पुगेका उनले भारतको एक बलियो छवि प्रस्तुत गरे ।

यता, ब्रिटिश साम्राज्य भारतलाई स्वतन्त्र गर्न तयार थिएनन् । साथमा मुसलमान, सिख र अन्य भारतीय प्रतिनिधि गान्धीको साथमा थिएनन् । तिनमा गान्धीले सम्पूर्ण भारतीयलाई प्रतिनिधित्व गर्छन् भन्ने कुरामा विश्वास बनिसकेको थिएन ।

लण्डनमा गान्धीलाई ब्रिटिश राजा जर्ज पाँचौसँग भेट्न दिइयो । पछि गान्धीले ल्याकनशायरस्थिल मिलका श्रमिकसँग पनि भेटे ।

यो सार्वजनिक भेटघाटपछि गान्धीले बेलायतमा पनि प्रसिद्धि हासिल गरे । यस भेटपछि भारतको स्वतन्त्रतासम्बन्धी मागप्रति ब्रिटिश जनतामा पनि सहानुभूति विस्तार भयो ।

तत्कालिन प्रभावशाली व्रिटिस नेता तथा गान्धीलाई मन नपराउने विस्टन चर्चिलले गान्धीको यो ब्रिटेन यात्राबारेमा भनेका थिए, ‘एक देशद्रोही र औसत दर्जाका वकिलमात्र रहेका गान्धी आफूलाई एक फकिरका रुपमा प्रस्तुत गरिरहेका छन् । यो हेर्दा मलाई घिन लागिरहेको छ ।’

सन् १९४२ : गान्धीको ‘ब्रिटिसहरु भारत छाड’ आन्दोलन

गोलमेच सम्मेलनको असफलतापछि गान्धीले भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष पद छाड्ने फैसला गरे । पार्टीभित्र उनी अल्पसंख्यकमा परेका थिए ।

त्यसको केहीपछि दोस्रो विश्वयुद्ध सुरु भयो । चर्चिल ब्रिटेनको प्रधानमन्त्री बनेका थिए, उनले नाजिविरुद्ध युद्धमा भारतलाई ब्रिटेनका समर्थन गर्न भने । तर गान्धीले भने भारतीयहरु आफ्नै घरमा दास हुँदासम्म ब्रिटेनको युद्धलाई समर्थन गर्न हुँदैन भन्ने अडान लिएर बसे ।

त्यही समय गान्धीले ब्रिटिश शासनविरुद्ध एक नयाँ अहिंस्रक आन्दोलन ‘अङ्ग्रेजहरु भारत छाड’को सुरुवात गरे । आन्दोलनको सुरुवातमा नै गान्धी र उनको पत्नी कस्तूरबालाई जेलमा हालियो । यसपछि गान्धीलाई जेलबाट रिहा गर्नको लागि भारतभरी हिंस्रक आन्दोलन सुरु भयो । तर, ब्रिटिश प्रधानमन्त्री विस्टन चर्चिल झुक्न तयार थिएनन् ।

जेलमै गान्धीको पत्नी कस्तूरबाको मृत्यु भयो । यसको कयैन महिनापछि सन् १९४४ मा गान्धीलाई जेलमुक्त गरियो ।

‘अङ्ग्रेजहरु भारत छाड’ आन्दोलनअघि गान्धीले भनेका थिए, ‘या त हामीले भारतलाई स्वतन्त्र गराउनुपर्छ या त्यो प्रयासमा बलिदान दिनुपर्छ । तर हामी कुनै पनि हालतमा आजीवन दासको जीवन जिउन राजी छैनौँ ।’

सन् १९७४ः भारतीय  स्वतन्त्रता

भारतयबीच बढ्दो स्वतन्त्रताको माग दिनप्रति दिन तीव्र बन्दै गएको थियो । अन्तिममा बाध्य भएर ब्रिटिश सरकारले भारतको स्वतन्त्रताको लागि वार्ता शुरु गरे ।

तर यसको नतिजा गान्धीले सोचेजस्तो निस्किएन । माउण्टबेटन योजना अन्तर्गत भारतको विभाजन भयो । भारत र पाकिस्तान नामका दुई स्वतन्त्र देश बन्यो ।

उक्त विभाजन धार्मिक आधारमा भएको थियो । राजधानी दिल्लीमा स्वतन्त्रताको उत्सव मनाइरहँदा एउटा सग्लो देश बनाउने सपना बिग्रियो ।

विभाजनको कारणले ठूलो रक्तपात भयो । दशौँ लाख मानिसको ज्यान गयो । करीब एक करोड मानिसले आफ्नो घरबार छाड्नुपथ्र्यो । विभिन्न स्थानमा ठूलो साम्प्रदायिक हिंसा सुरु भयो ।

यसमध्ये ठूलो हिंसा कलकत्ता क्षेत्रमा भएको थियो । गान्धी यी क्षेत्रमा गएर हिंसा रोक्ने प्रयासमा लागे ।

सन् १९४८ : एक महान् आत्माको हत्या

देशको विभाजन भएपछि भड्किएको साम्प्रदायिक लामो समय चल्यो । कलकत्तामा हिंसा केही मत्थर भएको के थियो दिल्ली पनि पुनः धार्मिक हिंसा सुरु भयो ।

गान्धी कलकत्ताबाट दिल्ली पुगेर त्यहाँका मुसलमानमाथि भड्कन लागेको हिंसा रोक्ने प्रयासमा लागे । गान्धीले भारतमा बस्ने निर्णय लिएका मुसलमानको हकका लागि अनसन सुरु गरे ।

यही दौरान एक दिन जब उनी दिल्लीको बिरला हाउसमा एक प्रार्थना सभामा गइरहेका थिए । तब उनीमाथि एक हिन्दू कट्टरवादीले छातीमा तिन गोली दागे ।

हिन्दू कट्टरपन्थीको गढमा त गान्धीको मृत्युमा उत्सव मनाइएको थियो । तर अधिकांश भारतीयको लागि महात्मा गान्धीको मृत्यु एक राष्ट्रिय विपत्ती थियो । यही शोकका कारण दिल्लीमा महात्मा गान्धीको अन्तिम यात्रा निक्लदा दश लाखभन्दा बढी मानिस सामेल भएका थिए ।

यमुना किनारा उनको अन्तिम संस्कार गरियो । संसारभरीका मानिसले अहिंसा र शान्तीको पुजारीको निधनमा दुःख व्यक्त गरे ।

मृत्युको बारेमा महात्मा गान्धीले भनेका छन्, ‘मृत्युमाझ जिन्दगीले आफ्नो संघर्ष जारी राख्छ । असत्यको बीच सत्य पनि अटल रहन्छ । चारै दिशामा अन्धकार हुँदा पनि प्रकाश चम्किरहन्छ । ’

 

(बीबीसीको सहयोगमा ।)

प्रतिकृया

प्रतिकृया