१५ साउन, झापा । माओवादी सशस्त्र द्वन्द्वका समयमा बिस्फोट गराइएका झापाका १९ वटा इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माण हुन नसक्दा प्रहरीलाई दैनिक कार्यसम्पादन गर्न कठिनाइ मात्र भइरहेको छैन, प्रहरी आफैं असुरक्षित महसुस गर्छन् ।

द्वन्द्वकालमा बिष्फोट गराइएका झापाका २५ वटा प्रहरी कार्यालयका भौतिक संरचनामध्ये अझै १९ वटा पुनर्निर्माण हुन बाँकी नै छ । मध्यदक्षिण झापाको कुमरखोदसहित कोरोबारी, गौरादह, शिवगञ्ज, तोपगाछी लगायतका प्रहरी चौकीको भवन जीर्ण छन् ।

त्यस बेला ध्वस्त पारिएका प्रहरी कार्यालयहरुको हालसम्म पनि पुनर्निर्माण भइनसक्दा केही प्रहरी कार्यालयहरु भाडाका घरमा समेत छन् । केही कार्यालयहरु स्थानीय जनश्रमदान र स्थानीय निकायबाट प्राप्त न्यून बजेटबाट अस्थायी टहरामा छन् ।

झापाको दक्षिणी गाविस कुमरखोदमा रहेको इलाका प्रहरी कार्यालयले त्यस क्षेत्रका करिब ३० हजार जनसङ्ख्या रहेको तीनवटा गाउँ विकास समितिको सुरक्षा गर्नुपर्छ । कुमरखोद, टाघनडुब्बा र शरणामती गाविस यसका कार्यक्षेत्रभित्र पर्छन् ।

त्यस्तै, कोरोबारी प्रहरी चौकीले कोरोबारी गाविस, गौरादह प्रहरी चौकीले गौरादह नगरपालिका, शिवगञ्ज प्रहरी चौकीले शिवगञ्जसहित पाँचगाछी क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका छन् । तर, झापाका प्रहरी प्रवक्ता हरिराज शर्माका अनुसार त्यहाँको प्रहरी कार्यालय जीर्ण हुँदा प्रहरीसँग रहेका हतियार समेत असुरक्षित छन् ।

प्रतिकृया

प्रतिकृया