१९ साउन,काठमाडौ । बङ्गलादेशको प्रहरीले बङ्गलादेशमा इस्लामिक अतिवादी आन्दोलनको नेतृत्व लिएका दुई भूमिगत नेताको सम्पर्क दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलर बराबरको इनाम दिने घोषणा मङ्गलबार गरेको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सामूहिक हत्या प्रकरणमा योजनाकार मानिएका क्यानेडाली नागरिक तमिम चौधरीको सम्पर्क दिने जो कसैलाई पनि उक्त रकमको इनाम दिइने बताइएको छ ।

चौधरी ढाका आक्रमणको योजना बनाएपछि सार्वजनिक रुपमा सम्पर्कमा नरहेको बताइएको छ ।

चौधरीले जमाऐतुल मुजाहिद्दिन बङ्गलादेश जेएमबी विद्रोही समूहलाई नेतृत्व गरेको र कैयौँ सङ्ख्यामा अल्पसङ्ख्यक धर्मावलम्बीको हत्या गरेको आरोप छ ।

त्यसैगरी प्रहरीले बङ्गलादेश सेनाको मेजरबाट सन् २०११ मा बर्खास्तमा परेका सैयद मोहम्मद जिउल हकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सोही रकम बराबरको इनामको घोषणा गरेको छ ।

जिउल हकले यहाँको अर्को अतिवादी इस्लामिक समूह अन्सार अल इस्लामको नेतृत्व गरेको र धर्म निरपेक्षताको पक्षमा कलम चलाउने ब्लगर तथा अधिकारकर्मीको हत्या गरेको आरोप छ ।

हामी यी दुई नेतालाई पक्राउ गर्ने प्रयासरत छौँ र हामीलाई के आशा छ भने उनीहरुको पक्राउले बङ्गलादेशबाट अतिवादी धार्मिक गतिविधिलाई अन्त्य गर्न सकिने छ, बङ्गलादेशका प्रहरी प्रमुख ए.केएम सहिदुल हकले बताए ।

प्रतिकृया

प्रतिकृया