–कुसुम भट्टराई


भारतका प्रधानमन्त्री नरेन्द्र भाइ मोदी पहिलो औपचारिक भ्रमणका लागि नेपालको राजधानी काठमाडौंको अन्र्तराष्ट्रिय विमानस्थलमा ओर्लदा बेग्लै माहौल थियो । सत्र वर्षपछि पहिलो पटक भारतका तर्फबाट भएको त्यो उच्च भ्रमणले दुई देशवीच बिलकुल नयाँ आयाममा सम्बन्धको नयाँ तरंग ल्याएको थियो । मोदी इफेक्ट कस्तो भइरहेको थियो भने नेपाल–भारत सम्बन्धमा नकारात्मक टिप्पणी गर्नेहरु पनि शान्त भएका थिए । मोदीको व्यक्तित्वको ओजपूर्ण प्रभाव र छिमेकी मुलुक रिझाउने उनको शैलीका कारण उनी सार्क मुलुकमा मात्र हैन, एशीयामै लोकप्रिय हुँदैथिए । त्यसको प्रभाव समग्र विश्वमा फैलिएको थियो । आफ्नो सपथ ग्रहणमा सार्क मुलुकका प्रधानमन्त्री र राष्ट्र प्रमुखलाई डाकेर मोदीले छिमेकीहरुको मन जित्ने सिलसिला थालेका थिए र उनको नेपाल भ्रमण त्यसकै परिणती थियो ।

केही समय यता सार्क क्षेत्रमा केही तनावको अवस्था बन्दै गएको छ । भारत–पाकिस्तान अनी चीन र भारतको सम्बन्धमा केही कटुता आइरहेको छ । यस्तोमा भारत र नेपालवीचको सम्बन्धले विशेष अर्थ राख्छ । किनकी, विश्वमा नेपालसँग मात्र भारतको अद्वितीय सम्बन्ध छ । खुला सीमा, निर्वाध आवत जावत, सांस्कृतिक, भाषिक र धार्मिक समानताका साथै समस्या पनि एउटै । दुई देशवीचको यही सम्बन्धबाट भावुक भएर हुनसक्छ मोदीले बारम्बार आफ्नो ट्वीटरमा नेपालप्रति सदाशयता व्यक्त गर्दै आए । नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम राखेर उनले नेपालप्रति भावनात्मक रुपमा अझ निकटता दर्शाए । आफै धार्मिक चेतनाले भरीएका मोदीले नेपाल र भारतका जनताको धार्मिक सम्बन्धको सेतुलाई अझ मजबुत बनाउन खोजे ।

मोदी इफेक्ट अहिले विश्वभर छाइरहेको छ । गुजरात दंगामा तात्कालिन मुख्यमन्त्री मोदीको शक्रिय भूमिकाका कारण २००५ मा उनलाई भिसा दिन अस्वीकार गरेको अमेरिकाले मोदीलाई भिसा मात्र दिएन, अहिले त अँकमाल नै गरेको छ । १२ वर्षपछि आएर बल्ल पश्चिमा शक्तिहरुले मोदीप्रतिको पूर्व रवैयामा परिवर्तन गर्न थाले । बिगतमा आलोचना गर्ने युरोपेली संघ, अस्ट्रेलिया र बेलायतले आफ्नो नीतिमा पुनर्विचार गर्दै मोदीसँग सहकार्र्यको हात बढाइसकेका छन् ।

मोदीको यो लोकप्रियताको फाइदा नेपालले पनि लिनसक्छ । किनकी, नेपालको विकासका लागि जलश्रोत नै मुख्य आधार हो । त्यसका लागि विकासप्रेमी भारतीय प्रधानमन्त्री मोदीसँग नेपालको सहकार्य समुधुर हुनसक्छ । मोदीले नेपालको समृद्धिको लागि हाइड्रो पावरको विकास गर्नुपर्ने सुझाव दिइसकेका छन् । आफ्नो सपथ ग्रहण समारोहमा दिल्ली आएका समकक्षी सुशिल कोइरालासँगको भेटमा मोदीले त्यसबेलै भनेका थिए, ‘नेपालले जलश्रोतको विकासमै जोड दिनुपर्छ र नेपालले मेगा हाइड्रो पावरमा ध्यान केन्द्रीत गर्नुपर्छ ।’ यही कारण नेपाल र भारतवीच जलश्रोतको उपयोग र विद्युत उर्जा खरिदबारे सम्झौता प्रकृया अघि बढीसकेको छ । भारतले नेपाललाई पनि विश्वासमा लिएर यी परियोजना अगाडी बढाउने संकेत दिइसकेको छ ।

नेपाल र भारतवीच सबै कुरा ठिकठाक चल्दैथियो । मोदी इफेक्टले राम्रो काम गरीरहेकै थियो । मोदी नेपालमा लोकप्रिय भइरहेका थिए र नेपालमा भारतविरोधी मानसिकतामा पनि धेरै कमी आएको थियो । नयाँ सँविधान निर्माणपछि भने नेपाल भारत सम्बन्धमा केही समस्या देखिए । यद्यपी दुई देशबीचको हार्दिकता कायमै छ, रहिरहनेछ ।
मोदीको उदयले यस क्षेत्रमा भारत र चीनलाई पनि अझ नजिक ल्याउने आशा गरिएको थियो, तर त्यसो हुन सकिरहेको छैन । यदि त्यसो भएको भए यस क्षेत्रमा क्षेत्रीय शान्ति र विकासका लागि त्यो सकारात्मक कदम हुनेथियो । र, भारत र चीनवीच सुमधुर सम्बन्ध कायम गर्र्दै अनि भारत र चीनको मित्रताको साँघु बन्दै नेपालले पनि समृद्धीको यात्रा अघि बढाउनसक्थ्यो ।

पछिल्ला केही दिनमा भारत र चीनवीच तनाब बढ्दै गएको पाइन्छ । भारत र अमेरिकावीच सम्बन्ध कसिदै गएको छ भने चिनसँग दूरी बढ्दैछ । यहीबेला भारतमाथि पाकिस्तानको आतँकबादी हमलाका कारण दक्षिण एशीयाली सहयोग सँगठनमा अशान्ति देखियो, सार्ककै भविश्य अन्यौलमा परेको छ । यही नोभेम्बरमा पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्कको १९ औं शिखर सम्मेलन स्थगित भएपछि क्षेत्रीय शान्ति खलबलिने हो कि भन्ने सन्त्रास कुटनीतिक क्षेत्रमा उत्तिकै व्याप्त छ ।

गत १८ सेप्टेम्बरमा जम्मू–कश्मीरको उरीमा भारतीय सेनाको क्याम्पमा भएको आतंकबादी हमलामा १८ जना भारतीय सैनिकको मृत्यु भए यता दक्षीण एशीयामा अशान्तीको नयाँ सिलसिला सुरु भएको हो । भारतले त्यस हमलामा सँलग्न आतंकबादीलाई पाकिस्तानले संरक्षण प्रदान गरेको दावी ग¥यो । हालै सम्पन्न सँयुक्त राष्ट्र सँघको महासभामा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले पाकिस्तानले आतंकबादलाई प्रश्रय दिएको भन्दै कडा शब्दमा विरोध जनाइन् । भारतले अहिले सीमा क्षेत्रमा आतंकबादविरोधी सर्जीकल अपरेशन सुरु गरेको दावी गर्दै आएको छ । नयाँ परिस्थितिका कारण मोदी पाकिस्तान र चीनसँगको कुटनीतिक लडाईमा भिड्नु परिरहेको छ ।

भारत र पाकिस्तानवीच कश्मीरको मुद्दामा रस्साकस्सी चल्दै आएको छ । भारतले आतँकबादी सँगठनलाई पाकिस्तानले प्रश्रय दिदै आएको दावी गरेको छ, जसलाई पाकिस्तानले नकार्दै आएको छ । एउटाले आरोप लगाउने र अर्कोले नकार्ने । यो विवादमा पश्चिमा मुलुक र हाम्रो उत्तरी छिमेकी चीनको पनि उत्तिकै चासो रहेको देखिन्छ । भारत र पाकिस्तानवीचको विवादको आडमा अमेरिका र चीनले पनि चलखेल गर्ने नै भए ।
पछिल्ला दिनहरुमा भारत, अमेरिका र जापानले समुन्द्रमा सँयुक्त युद्ध अभ्यास गर्दै आएका छन् । अमेरिकाले भारतलाई र चीनले पाकिस्तानलाई नजिक बनाउँदै आएको देखिन्छ । भारत र चीनवीचको कटुता बढदैछ । एशीयाका दुई उदाउँदा महाशक्ति चिन र भारतलाई जुधाएर फाइदा लुटन पश्चिमाहरुले दाउ हेरिरहेका छन् । यस्तोबेला भारत र पाकिस्तानवीच कटुता झन बढाइदिन अनेक उत्प्रेरक शक्तिहरु लागिरहेकै छन् । यसो हुनु सार्क मात्र हैन, एशीया क्षेत्रकै शान्ति र विकासका दृष्टिले खतरा हो । अझ नेपालजस्तो सानो मुलुकका लागि त झन् पीडादायी अवस्था हो ।

सवाल सार्कको मात्र हैन, अबको युगको आर्थिक बागडोर एशीयाले हाँक्ने कि नहाँक्ने भन्ने प्रश्न पनि हो । भारत र चीन, अनि भारत र पाकिस्तानवीच कटुता बढदै गएमा क्षेत्रीय अशान्ती बढ्नेमा दुईमत नहोला । अतः सार्क मुलुक र एशीयाली मुलुकहरुवीचको एकता र मिलापमै यस क्षेत्रको शान्ति सम्भव छ । त्यसका लागि ठूला मुलुकहरु भारत, चीन र पाकिस्तानले सुझबुझ देखाउनु जरुरी छ । त्यसका लागि भारतका प्रभावशाली प्रधानमन्त्री मोदीको भुमिका अझ बढी प्रखर भएर आएको छ । मोदीले नै यस क्षेत्रमा शान्ति र विकासको पहल र अगुवाई गर्नसक्छन्, किनकी उनि समयकै नेता बन्ने दौडमा छन् ।

प्रतिकृया

प्रतिकृया