२७ कात्तिक,काठमाडौं । मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको नेगेरी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सवा दुई बजे हुनेछ ।

नेपाल समूह एको विजेता तथा लाओस समूह बीको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपालले ब्रुनाइलाई ३–० ले हराएको थियो ।

समूह चरणमा तीन खेल खेलेको लाओसले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । श्रीलंकालाई २–१ तथा मंगोलियालाई ३–० ले हराएको लाओस मकाउसँग ४–१ ले पराजित भएको थियो ।

नेपाललाई इतिहास बनाउने मौका

यो प्रतियोगिता नेपाललाई इतिहास बनाउने मौका हो । नेपाली राष्ट्रिय फुटबल टिम एसियाली फुटबल महासंघ एएफसीको प्रतियोगितामा अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । लाओसलाई हराएर फाइनलमा स्थान बनाउन सके नेपाली फुटबलका लागि नयाँ सफलता हुनेछ ।

पछिल्लो पटक सन् २००६ मा बंगलादेशमा भएको एएफसी च्यालेन्ज कपमा नेपालले फाइनलमा पुग्ने राम्रो अवसर बनाएको थियो । तर त्यो प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकासँग पराजित भएपछि नेपालको महादेशीय प्रतियोगिताको फाइनल पुग्ने सपना टुटेको थियो । तर अहिले अवसर जुटेको छ । लाओस र नेपालबिच पछिल्लो पटक गएको मेमा भेट भएको थियो । मैत्रिपूर्ण खेलमा १–१ को बराबरी भएको थियो ।

नेपालका मुख्य प्रशिक्षक ग्योटुकु कोजीले खेल जित्ने अवसर रहेको बताएका छन् । खेलाडी केही थाकेको भएपनि लाओससँगको खेलका लागि तयार रहेको र आफूहरुले जित चाहेको उनको भनाइृ छ । लाओसको टिम बलियो रहेको तर आफूहरुसँग जितको अवसर रहेको प्रशिक्षक कोजीले बताए ।

यस्तै लाओसका प्रशिक्षक भालाकोन फोम्फेक्डीले आफूहरु नेपालसँगको खेललाई लिएर गम्भीर रहेको र नेपालको खेलसँग परिचित रहेकाले त्यही अनुसार रणनीति बनाएको बताए । शनिबार नै हुने अर्को सेमिफाइनलमा मकाउ र ब्रुनाई खेल्ने छन् ।

मकाउ समूह बीे विजेता तथा ब्रुनाइ समूह एको उपविजेता रुपमा अन्तिम चारमा पुगेका हुन् । खेल मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समय अनुसार बेलुका सवा पाँच बजे हुनेछ ।

प्रतिकृया

प्रतिकृया