३ मंसिर,काठमाडौ । जापानी पूर्व राष्ट्रिय खेलाडी सहितको टीम फ्रेन्डस् अफ जापानसँगको च्यारिटी खेलको तयारी पुरा भएको छ । अखिल नेपाल फुटवल संघ एन्फाको एन्फा कम्प्लेक्स साटदोबाटोमा शनिबार दिउँसो २ बजेपछि सुरु हुने खेलको तयारी पुरा भएको एन्फाले जनाएको छ ।

विश्वकप फुटवल खेलका खेलाडी समेत रहेको फ्रेन्डस् अफ जापानसँगको च्यारिटी खेलमा एएफसी सोलिडारिटी कप जितेको नेपाली टीमले नै खेल्नेछ । भूकम्प प्रभावितलाई सहयोग संकलन गर्न हुन लागेको खेलका लागि टीकट दर एक हजार र १५ सय रुपैयाँ तोकिएको छ ।

खेलका लागि नेपाली टिम बिहीबारदेखि नै सातदोबाटोमा क्लोज क्याम्पमा छ । टोलीका सहायक प्रशिक्षक राजुकाजी शाक्यले नेपाली खेलाडी सोलिडारिटी कप खेलेर केही गलेका भएपनि जितको उत्साह र घरेलु मैदानका कारण च्यारिटीका लागि उत्साही रहेको बताए ।

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक ग्योटुकी कोजीले नेपाली टीमले सोलिडारिटी कप जित्दा खुसी भएपनि टिमले अझै आफ्नो क्षमता अनुसार खेल्न नसकिरहेको बताएका छन् । जापानी टोलीसँग खेल्न लागेको नेपाली टिमका प्रशिक्षक पनि जापानी नै हुन् । उनलाई जापानी फुटवलको बारेमा धेरै कुरा थाहा भएकाले पनि नेपाली टोलीलाई सहज हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए ।

जापानी टोली धेरै अनुशासित हुने, धैर्य गर्ने र अन्तिम मिनेटसम्म पनि गोल गर्न सक्ने हुनाले नेपालले सम्हालिएर खेल्नुपर्ने तुलाधरको भनाई छ । तुलाधरका अनुसार विश्वकप खेलिसकेका खेलाडीसहित नेपाल आएकाले जापानी टोलीबाट नेपालले धेरै कुरा सिक्ने अवसर हुनेछ ।

फ्रेन्डस् अफ जापानको प्रशिक्षक जापानका पूर्व राष्ट्रिय डिफेन्डर काजुयूकी टोडाले गरेका छन् भने नेपाली टोलीको नेतृत्व पनि जापानी पूर्व राष्ट्रिय खेलाडी ग्यातुकी कोजीले गरेका छन् । नेपाल र जापानको द्वौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसँग मिलेर खेल आयोजना गरेको हो ।

जापानी टिम च्यारिटी म्याचका लागि बिहीबार नेपाल आइपुगेको हो । खेलबाट संकलन हुने सबै रकम भूकम्प प्रभावितका लागि खर्च गरिने एन्फाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया