-रामहरी जोशी

राजा त्रिभुवनको निधनपछि महेन्द्र राजा भए ।
हामी राजा त्रिभुवनले बचन दिए बमोजिम ‘चाँडै संविधानसभाको निर्वाचन गर्नुप¥यो’ भन्ने, नयाँ राजा महेन्द्र चाँही पन्छदै जाने । त्यसपछि त राजा र हामीवीच झन द्वन्द्व सुुरु भइहाल्यो ।
विसं २०१४ सालमा सर्लाहीमा खडेरीको लक्षण देखियो । म खाद्यान्न भण्डारणको लागी सरकारलाई सचेत गराउन काठमाडौं आएँ । मेरो साथमा त्रिपुरवरका साथ अन्य केही साथी थिए । काठमाडौंमा त नेपाली काँग्रेस, प्रजापरिषद र नेपाली राष्ट्रिय काँग्रेसले संविधानसभाको निर्वाचनको लागी दबाब दिन ‘भद्र अवज्ञा’ आन्दोलन चलाईरहेका थिए ।
राजा महेन्द्र चलाख । उनले भडकिन लागिरहेको जन विद्रोह थामथुम पार्ने रणनीति अपनाए । उनले नेताहरुसँग वार्तामा ‘संविधानसभाको निर्वाचन नगरौं, यसमा डबल खर्च हुन्छ । बरु संविधान बनाउन इंगल्याण्डबाट संविधानविद् आइभर जेनिङ बोलाउँछु । एकै पटक संसदकै निर्वाचन नै गरौं’ भन्ने प्रस्ताव राखे । जनताले संविधान बनाए आफुलाई खत्तम गर्छन् भन्ने महेन्द्रमा भय थियो । त्यसैले उनी संविधानसभाको निर्वाचन टार्न संसदको निर्वाचन गराउने पक्षमा रहे ।
२०१५ साल फागुन ७ गते संसदको पहिलो आम निर्वानचनको मिति तोकियो । त्यसका लागि एउटा सल्लाहकार सभा गठन गरियो । सर्लाहीबाट म र वृक्षलाल सिंह मनोनीत भएका थियौं । सल्लाहकार सभाको अवधि एक महिनाको थियो । सल्लाहकार सभाको अध्यक्ष पदका लागि नेपाली काँग्रेसले होराप्रसाद जोशीको नाम प्रस्तावित गरेको थियो । मैले चाँही ‘कृष्णप्रसाद भट्टराई अध्यक्ष भएमा मात्र समर्थन गर्ने’ अडान राखें । काँग्रेसले भट्टराईलाई खडा नगरेपछि मैले अर्कै निर्णय गरें । स्वतन्त्र सदस्यहरुले इलाहबाद युनिभर्सीबाट बिए पास गरेका युवा सुर्यबहादुर थापालाई खडा गरे । मैले थापाकै नाम प्रस्तावित गर्न मन्जुरी दिएँ । थापा सल्लाहकार सभाको अध्यक्ष भए । होराप्रसाद जोशी हारे । संविधान बन्यो । संविधानमा राजालाई ‘पावर’ दिइयो । राजालाई के मनमा लाग्यो भने सरकार विघटन गर्नसक्ने दफा पनि राखीयो । त्यो बुझेर पनि हामी निर्वाचनमा लाग्यौं । नेपाली काँग्रेसले कुल ९० स्थानमध्ये ७४ स्थानमा बिजय प्राप्त ग¥यो । त्यो दुई तिहाइ बहुमत थियो । निर्वाचनमा प्रमुख दलका केही दिग्गज नेताहरु भने हारे । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई, प्रजापरिषदका टंक प्रसाद आचार्य, भद्रकाली मिश्र, नेपाली राष्ट्रिय काँग्रेसका डिल्लीरमण रेग्मी, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र केशरजंग रायमाझी, संयुक्त प्रजातन्त्र पार्टीका डा. केआई सिंह र तराई काँग्रेसका बेदानन्द झा हारे । सन् १९५९ मे २७ मा वीपीको नेतृत्वमा नेपाली काँग्रेसको प्रथम जन निर्वाचीत सरकार गठन भयो ।
नेपाली काँग्रेसको सरकारले मुलुकमा क्रान्तिकारी सुधार गर्न थाल्यो । जंगलको राष्ट्रियकरण भयो । राजा रजौटा उन्मुलन गरियो । विर्ता उन्मुलन गरियो । यसबाट राजाका सबै आर्थिक स्रोत गुम्न थाले । यसले दरबारीयाहरुमा छटपटी बढायो । जंगल राष्ट्रियकरण गर्दा सरकारले मुआवजा दिएको थियो । राजाका भाइ हिमालयलाई त्यो मुआवजा पुगेनछ । उनले त हाकाहाकी भने, ‘मुआवजा थोरै भयो, यो त पुग्दै पुगेन ।’ विपीले स्पष्ट रुपमा भनीदिए, ‘यो भन्दा बढता पाईदैन ।’
यस्ता धेरै कारणहरु रहे, जसले गर्दा दरबार र जन निर्वाचित सरकारवीच खटपट सुरु हुन थाल्यो । सरकारी कर्मचारीको नियुक्ति र बर्खास्तगीबारे राजा र प्रधानमन्त्रीवीच मतभेद हुन थाल्यो । सरकारको कार्यशैली देख्दा राजालाई कतै आफैलाई खत्तम गर्ने त हैनन् भन्ने पनि लाग्न थाल्यो । त्यसबाहेक वीपीको करिश्म्याटिक व्यक्तित्व, जुन राजा महेन्द्रलाई दिन प्रतिदिन बिझाउँदै गएको थियो । त्यसैले राजाले जनताको शक्ती खासगरी वीपी र नेपाली काँग्रेसलाई कमजोर बनाउने षड्यन्त्र सुरु गरे ।
विर्तावाल, छोटे सामन्त र परिवर्तन मन नपराउने तत्वहरु जिल्ला जिल्लामा काँग्रेसको सरकारलाई बदनाम गराउने अनेक चलखेल गर्न थाले । विर्तावालहरुले राजाको दुहाई दिदै काँग्रेसको विरुध्द अभियान थाले । मुम्बईमा रहेका वीपीले त्यसबेला आक्रोशित हुँदै राजा महेन्द्रतर्फ संकेत गर्दै भनेका थिए, ‘प्रजातन्त्र आएर पनि कोही आफुलाई पहिलेकै जस्तै ठान्छ भने त्यो उसको दिवास्वप्न हो, त्यस्ता तत्वलाई म यहीबाट चुनौती दिन्छु ।’
वीपीले आफैलाई भनेको हो भन्ने कुरा राजा महेन्द्रले पनि महसुस गरेका थिए । उनले डा. तुलसी गिरीसँग भनेका रहेछन्, ‘तिम्रो बिपीले यो कसलाई भनेको भन त ? मलाई भनेको हैन ? मलाई नै भनेको हो ।’
योगी नरहरिनाथले ‘कर्मवीर महामण्डल’ नामक संस्थामार्फत पश्चिम १ नम्बर र २ नम्बरमा सामन्त बर्गलाई उक्साएर उपद्रव मच्चाए । पश्चिम २ नम्बरमा उपद्रव मच्चाउने सामन्तहरुको झुण्डले बडा हाकीमको कार्यालयमाथि हमला गर्दा भिड नियन्त्रण गर्ने क्रममा गोली चलाउँदा केही मानिस मारीएका थिए । त्यसैताक योगी नरहरीनाथको झोलाबाट एउटा आपत्तीजनक चिठी पनि फेला प¥यो । नेपाली काँग्रेसको सरकारविरुध्दका गतिविधिमा सहयोग गर्नु भनेर राजाका पिएले जिल्लाका ठुला ठालु, बिर्तावाललाई सन्देश पठाएको व्यहोरो चिठीमा थियो । यसरी राजाको षडयन्त्र पर्दाफास भयो । बिपीले ‘योगीलाई कसैले उचालेको हो’ भनेर घुमाउरो पारामा राजातर्फ संकेत गरे ।
राजा महेन्द्र त्यसबेला युरोप भ्रमणमा थिए । उनका साथ सवारी मन्त्री सुवर्ण शमसेर पनि थिए । वीपीको कुरा सुनेपछि लण्डनमा राजा महेन्द्रले सवारी मन्त्रीलाई भने, ‘सुवर्ण यो कसलाई भनेको ? तिमीहरु के घमन्ड गर्छौ ? म यही बसी बसी तिमीहरुलाई खत्तम गरीदिन्छु ।’ त्यसबेला सुवर्ण शमसेरले , ‘खै के भयो ? रेडियोमा खबर दिनेले पनि टवीस्ट गरेको होला सरकार’ भनेर राजाको आक्रोश शान्त पारेका थिए ।
२०१६ सालको जाडो महिनामा म विरामी परें । प्लुरिसी र टिबी भएको शंकामा डाक्टरले उपचार थाले । म घरमै आराम गरेर बसीरहेको थिएँ । त्यसै वर्ष माघमा नेपालगंज सवारीमा राजा महेन्द्रको कडा भाषण आयो । मैले विरामी भएर ओछयानमा आराम गरीरेकै बेला राजाको भाषण गोरखा पत्रमा पढेको थिएँ । राजाले काँग्रेस सरकारको कार्यशैली यस्तै रहेमा आफु चुप लागेर नबस्ने चेतावनी दिएका थिए । त्यो सुनेपछि विपीले नेपालगंजमै रहेका सवारी मन्त्री डा. तुलसी गिरीलाई कडा प्रतिबादका साथ टेलिग्राम पठाएका थिए ।
वीपी स्वयंले पछि भने अनुसार प्रत्यक्ष रुपमा भेटदा राजा महेन्द्र निकै प्रजातन्त्रवादीजस्तो देखिएर कुरा गर्थे, तर भित्र भित्र उनी षडयन्त्रमा लिप्त थिए । एक दिन वीपीले राजालाई भेटे । त्यसबेला राजाले वीपीसँग यस्तो गुनासो गरे, ‘तपाईहरु सबै काम जनताको सरकारले गर्ने हो भन्नुहुन्छ । मैले के गरेर बस्ने ? दरबारमा मलाई समय कटाउन नै गाह«ो हुन्छ ।’
वीपीले राजालाई सम्झाउँदै भने, ‘सरकारलाई समय कटाउन कठिन भएको भए नगर विकास योजना र राष्ट्रिय निकुञ्जको स्थापनातर्फ ध्यान बक्सी योजना दिइबक्से हामी त्यसको कार्यान्वयन गर्न सहयोग गर्नेछौं ।’
राजाले ‘हुन्छ’ त भने, तर त्यसको चार पाँच महिनापछि २०१७ साल पुस १ गते ‘कू’ गरिहाले ।
नेपालमा यो घटना भईंरहदा म भने भारतको राजधानी नयाँ दिल्लीमा युनेश्कोद्वारा आयोजित दक्षिण–पूर्वी एशियाली विज्ञान शिक्षा सम्बन्धी सेमिनारमा सहभागी भईरहेको थिएँ । मेरो साथमा त्रिभुवन विश्व विद्यालयका डा. धु्रवमान अमात्य तथा त्रिचन्द्र कलेजका प्रिन्सीपल फणीन्द्रप्रसाद लोहनी पनि थिए । हामी दिल्लीको एउटा पाँच तारे होटलमा बसेका थियौं । म त्यसदिन बिहान होटलको काउन्टरमा बसेर फोनमार्फत दिल्लीस्थित नेपाली राजदूत दमन शमसेरसँग भेटघाटको समय मिलाउने कोशीस गरीरहेको थिएँ । राजदूतसँग भोली भेटन आउँछौं भनेर भन्दा उनले ‘मलाई फुर्सद त नहोला, तर आउन त आउनुस्’ भने । त्यही काउन्टरमा तात्कालीन गोरखा परिषदका सांसद बेनीबहादुर कार्की (जो २०४८ सालको निर्वाचनपछि नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष भए) पनि भेटिए । उनी ‘मलाई पनि राजदूतसँग भेटने समय मिलाउनुस्’ भन्दै थिए ।
त्यो दिन हामी सेमीनारमा भाग लिएर राती आ–आफनो कोठामा आएर सुत्यौं । भोली पल्ट अर्थात २०१७ साल पुस २ गते झिसमिसेमै हामी सुतिरहेको कोठाको ढोका कसैले ढकढक्यायो । हामीलाई लाग्यो, चिया लिएर आउने ब्वाय हो । तर त्यसो होईन रहेछ । ढोका खोल्दा त बेनीबहादुर कार्की पो रहेछन् । उनी सिधै आएर खाटमा पल्टीएर एकदम आत्तिएको मुद्रामा भने, ‘लौ मिस्टर, नेपाल खत्तम ।’ उनको हातमा ‘स्टेट्स्म्यान’ नामक अंग्रेजी पत्रिका थियो, त्यसमा वीपी र महेन्द्रको फोटो प्रकाशित थियो । ठुलठुला अक्षरमा लेखिएको थियो, ‘किंग टेक्स ओभर इन नेपाल ।’ त्यही पत्रिका पढेर थाहा पायौं, बिपीलगायत नेपाली काँग्रेसका सबै नेता–कार्यकर्ता पक्राउ परे ।
केही दिनपछि म काठमाडौं फर्किएँ । काठमाडौं उराठलाग्दो थियो । भोटाहीटीमा विश्वबन्धु थापा भेट भए । त्यसबेला विश्वबन्धु, ऋषिकेश शाह, तुलसी गिरी सबै षडयन्त्रमा संलग्न थिए । त्यो मलाई थाहा थिएन । विश्वबन्धुले मलाई कमलपोखरीस्थित उनीहरुको निवासमा आउन अनुरोध गरे । उनले भने, ‘आओ न यार , वहाँ डा. गीरी भी है ।’ डा. गिरीको नाम सुन्ने बित्तीकै मैले भनें, ‘सरी यार मैं नही आ सकता ।’

(नेपाली काँग्रेसका बयोवृद्ध पुराना नेता रामहरि जोशीसँग कुसुम भट्टराईले गरेको कुराकानीमा आधारीत)

प्रतिकृया

प्रतिकृया