४ पुस,काठमाडौ । क्रिष्टियानो रोनाल्डोले वर्ष २०१६ आफ्नो उत्कृष्ट वर्ष रहेको बताएका छन् । रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल मड्रिडले जापानको काशिमा एन्तोराजलाई हराएर क्लब विश्वकपको उपाधि जितेको छ ।

आइतबार बेलुका भएको फाइनलमा रोनाल्डोले निर्धारित ९० मिनेटको खेलमा एक तथा अतिरिक्त समयमा दुई गोल गरी ह्याट्रिक पूरा गरेका हुन् । रोनाल्डोले यो वर्ष रियल मड्रिडलाई क्लब विश्वकपसँगै च्याम्पियन्स लिगको उपाधि दिलाए ।

यस्तै उनले पोर्चुगललाई युरोकप २०१६ को उपाधि पनि दिलाए । रोनाल्डोले गएको हप्ता चौथो बालोन डी’ओर अवार्ड जितेका थिए । ३१ वर्षका रोनाल्डोले क्लब विश्वकपको उपाधि जितेपछि भने ‘वर्षको विदाइका लागि हामी यो ट्रफी मनैदेखि चाहन्थ्यौं, त्यो पूरा पनि भयो । मैले फाइनलमा तीन गोल गर्छु भन्ने लागेको थिएन ।

तर त्यो सम्भव भयो, रियल मड्रिडलाई उपाधि जिताउन माध्यम बन्न पाएँ ।’ टिमको सहयोग बिना आफूले कुनै पनि व्यक्तिग उपाधि जित्न नसक्ने भएकाले व्यक्तिगत तथा क्लब सबै उपाधिका लागि टिमका सबै साथीप्रति आभारी रहेको रोनाल्डोले बताए ।

उनले भने ‘हामीले च्याम्पियन्स लिग तथा युइएफए सुपर कप जित्यौं । अहिले आएर क्लब विश्वकप पनि । मैले पोर्चुगलका लागि युरोकप पनि जितेँ । यो वर्ष मेरो उत्कृष्ट वर्ष रह्यो । म निकै खुशी छु ।’ रोनाल्डोले यो सिजन ला लिगासहित सबै प्रतियोगितामा गरेर २२ खेलमा १६ गोल गरेका छन् ।

प्रतिकृया

प्रतिकृया