–कुसुम भट्टराई


नेपालमा जब जब आन्तरीक गडबडी सुरु हुन्छ, त्यसमा भारतको भूमिका देख्न थालीन्छ । नेपालका आन्तरीक शक्तिहरुवीचको स्वार्थको टकरावमा अनावश्यक रुपमा भारतलाई मुछ्ने गरिएको छ । हामी सबैलाई थाहा छ, नेपाली नेताहरु आपसमा मिल्न सकिरहेका छैनन्, देशको समग्र हित सोच्न सकिरहेका छैनन् र सत्ताको स्वार्थमा अन्धो भएका छन्, तर त्यसबाट उत्पन्न गतिरोधको दोष भारतलाई दिने गरिएको छ ।
जस्तै, पाँच नम्बर प्रदेशमा पहाडका केही जिल्ला (पाल्पा, गुल्मी र अर्घाखाँची)लाई मधेशबाट अलग गराएकोमा एकथरीले ‘नेपाल टुक्रयाउने भारतीय डिजाइन’ भनेर आरोप लगाए । राष्ट्रवाद भन्नासाथ हामी भारतको विरोध गर्न थाल्छौं । भारत विरोध नै राष्ट्रवाद भएको छ । राष्ट्रिय हितको पक्षमा उभिनुको साटो भारतको विरोध गर्नासाथ राष्ट्रवादी भइने भ्रम कतिपयले पाल्ने गरेका छन् । तर आब राष्ट्रवादको त्यस्तो परिभाषाले मुलुक समृद्ध बन्न सक्दैन ।
हाम्रा दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर हुने सकेमा मात्र हाम्रो देशको पनि उन्नती हुनसक्छ । बितेका दुई दशकमा भारत र चिन निकै नजिक आइसकेका छन् । केही विषयमा बिबाद कायमै भए पनि यी दुई मुलुकवीच व्यापार सम्बन्ध बढदै गएको छ र एकले अर्काको अस्तीत्व स्वीकार नगरी अघि बढन नसक्ने अवस्था सिर्जना भएको छ । यस्तोमा नेपालको भूमिका अब हामी स्पष्ट हुनैपर्छ । नेपालको भूमिकाका बारेमा राष्ट्रिय सहमती बन्नैपर्छ । अब सँघर्ष हैन, सहकार्यको युग सुरु भइसकेको छ ।

सन् २००५ को अप्रिलमा भारत भ्रमणमा जाँदा तात्कालीन चिनिया प्रधानमन्त्री बेन जिबाओले बेँगलोरमा भाषण गर्दै भनेका थिए, ‘भारत–चीन सम्बन्ध भनेको दुई प्यागोडा मन्दिरजस्तै हो । एउटा हार्डवेयर र अर्को सफ्टवेयर । यी दुईलाई मिलाउने हो भने हामी सँसारकै नेतृत्वदायी स्थानमा हुनेछौं ।’
हार्डवेयर र सफ्टवेयरलाई मिलाउने भूमिकामा छ, नेपाल । हो, हामी भारत र चिनको मितेरी पुल बन्नसक्छौं । त्यसका लागि त्रिदेशीय साझेदारीको अपरिहार्यता बढ्दै गएको छ । निश्चय नै अबको विश्व एशीयाले नेतृत्व गर्दैछ । हाम्रा दुई छिमेकी मुलुक भारत र चिनको तिब्र आर्थिक विकासका कारण यो क्षेत्रकै कायापलट हुँदैछ । ९६ लाख वर्गकिलोमिटर क्षेत्रफल, २२ वटा प्रान्त, ५ वटा स्वशासित क्षेत्र, ४ वटा केन्द्र शाषित क्षेत्र र २ वटा विशेष शासित क्षेत्र रहेको चीनको जनसंख्या १ अर्ब ३० करोड पुगीसकेको छ । हङकङ र मकाउ चिनमा फिर्ता भएपछि चिन झन् सुदृढ भएको छ । त्यसैगरी ३२ लाख, ८६ हजार २ सय ६३ वर्ग किलोमिटर क्षेत्रफल, २८ प्रान्त र ७ केन्द्र शाषित क्षेत्रहरु भएको भारतमा पनि १ अर्ब २० करोड जनसंख्या पुगीसकेको छ । भारत, चिनपछि विश्वकै ठुलो जनसंख्या हो ।

आकार र जनसंख्या पनि आजको विश्वमा आर्थिक समृद्धिका आधार बन्नसक्छन् । त्यसमाथि भारत र चिनले पछिल्ला दुई दशकमा हासिल गरेको आर्थिक बृद्धिको हिसाब गर्दा अब यी मुलुक निकट भविश्यमै विश्वकै महाशक्ति मुलुक बन्दैछन् । अबका केही वर्षमा चिन त विश्वकै प्रथम अर्थतन्त्र बन्दैछ । यस्तोमा नेपालजस्तो मुलुकका लागि पनि सम्भावनाका ढोकाहरु खुलेका छन् । गणतन्त्र स्थापनापछि मुलुक विस्तारै राजनीतिक स्थीरता र शान्तिको मार्गमा अग्रसर हुँदैछ । हामीसँग भएका अपार साधन, श्रोत र सम्पदाको भरपुर उपयोग गर्दै नेपाललाई समृद्ध बनाउने सम्भवना बढेको छ ।
आर्थिक विकासको शिखरतर्फ लम्कीदै गरेका चिन र भारतको विकासबाट पाठ सिक्दै अब हामीले पनि स्वदेशी र विदेशी लगानीको सुरक्षा, जलश्रोत, औद्योगिक, कृषि उत्पादनमा जोड, पर्यटनको विकास र राष्ट्रिय पुँजीको विकासमा ध्यान केन्द्रीत गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढन ढिलाई गर्नुहुन्न । यसका लागि चिन, नेपाल र भारतको त्रिदेशीय साझेदारी नै नेपालको हितमा छ ।

जलश्रोतको उपयोग

चिनियाँ प्रधानमन्त्रीले ठिकै भनेका हुन्, भारत र चिन हार्डबेयर र सफ्टबेयर हुन् । तर, हार्डवेयर र सफ्टबेयर दुबैलाई चलाउन ‘पावर सप्लाई’ पनि हुनुपर्छ । र, नेपाल भनेको त्यो पावर हो । पावर अर्थात बिद्युत । अपार जलश्रोतको भण्डार बोकेको नेपाल शक्तिको श्रोत हो । नेपालको त्यो शक्तिको उपयोग नेपालले मात्र हैन, विशेषतः भारतका लागि पनि अति अपरिहार्य भइसकेको छ ।

नेपाल यस्तो देश हो, जहाँ नदि नालाहरुको भण्डार नै छ । हिमालबाट बग्ने कलकल नदि र ताल तलैयाहरुले भरीएको नेपाल विश्वमै जलश्रोतको धनी देश मानिन्छ । नेपालमा करीब ६ हजारवटा नदि छन् । कोशी, गण्डकी, कर्णाली, काली, मस्याङदी, सेती, मादी, तामाकोशी, दुधकोशी, लिखु, इन्द्रावति, तमोर, अरुण र सुनकोशी, ठूलो भेरी, दरौंदी, मुगु कर्णाली, सानोभेरी, तिला, बुढीगंगा, सेती कर्णाली, राप्ती, बबई, मेची, कन्काइ, बागमती कमलालगायतका नदिहरु हाम्रा जलश्रोतका धरोहरु हुन् । यदि नेपाललाई एउटा शरीरको रुपमा कल्पना गर्ने हो भने ति नदिहरु शरीरका रक्त नलीहरु हुन् । त्यसैले ति नदिहरु नेपाली जन जिवनका लागि प्राण आधार हुन् ।

एक तथ्यांकका अनुसार नेपालसँग ६५ हजार मेघावाट जलविद्युतको क्षमता छ । तर, हजारौं वर्षदेखी जलश्रोत त्यसै बगेर गइरहेको छ । न त त्यसबाट हाम्रा खेतहरुमा उचित सिंचाई गर्न सकिएको छ, न त त्यसबाट विद्युत उत्पादन गर्न सकिएको छ । भाषण गर्दा नेता र मन्त्रीहरु नै ‘ब्राजीलपछि दुनियामा जलश्रोतको मामीलामा नेपाल दोस्रो देश’ भनेर भन्ने गर्छन, तर यति अथाह जलश्रोतको भण्डार भएर पनि हामी नेपालीले लोडसेडीङको अन्धकारमा बस्नु परीरहेको छ । लोडसेडीङको नकारात्मक असर समग्र अर्थतन्त्रमा परीरहेको छ ।

हुन त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि कम्तीमा काठमाडौं उपत्यका लोडसेडीङ मुक्त भएको छ । यसले जनतामा आशा जगाएको छ । तर, काठमाडौंबाहिरका जिल्ला अझै लोडसेडीङ मुक्त हुन सकेका छैनन् । विजुलीको अभावमा उद्योग कल कारखानाहरु चल्न सकिरहेका छैनन् । उत्पादन घटेको छ भने विदेशबाट आयात बढीरहेको छ । यसले नेपालको ब्यापार घाटा दिनप्रतिदिन बढाइरहेको छ ।
२०४६ सालतीर हामीसँग ३५० मेघावाट बिजुली थियो । अहिले ६ सय देखी ९ सय मेघावाट पुगनपुग छ । जबकी हरेक वर्ष १० प्रतिशतले बिद्युतको माग बढीरहेको छ । यही स्थिति रहने हो भने उर्जा सँकट भयावह हुनसक्छ, अतः जलश्रोतको यो अथाह भण्डारलाई अब हामीले त्यसै खेर जान दिनु हुँदैन । स्वदेशी र विदेशी पुँजी भित्रयाएर भए पनि हामीले अब ठुलठुला हाइड्रो प्रोजेक्टहरु कार्यान्वयनमा ल्याउनैपर्छ ।

सरकारले लगानीको सुरक्षाको ग्यारेन्टी गर्न सकेमा नेपालमा हाइड्रो प्रोजेक्टमा लगानी गर्न विदेशी कम्पनीहरु पनि तयार हुनेछन् । त्यसका लागि सरकारले लगानी मैत्री नीति, लगानीको सुरक्षा र जलश्रोतको उपयोगको मुद्दामा राजनीति गर्न नपाइने नियम लागू गर्नुपर्छ । जुनसुकै सरकारको पालामा निर्माण भए पनि त्यसले समग्र देशको भलो गर्ने हो भन्ने सोच राजनीतिक तहमा विकास हुनुपर्छ र विकास निर्माणको कामलाई राजनीतिक हस्तक्षेप र आग्रहबाट मुक्त राखिनुपर्छ । नेपालमा दुई चार वटा ठुला हाइड्रो प्रोजेक्ट सफल हुन सकेमा हामी विजुलीबाटै खाना पकाउन सक्छौं, ग्यासका लागि विदेशी सामु हात फैलाउनै पर्दैन । हामी विजुलीबाटै गाडी चलाउन सक्छौं, पेट्रोलको लाममा बस्नै पर्दैन । त्यसैले जलश्रोतको सदुपयोग हाम्रो आर्थिक समृद्धिको अर्को मुख्य आधार हो ।

नेपालमा पर्यटन र कृषिपछि जलश्रोत नै हाम्रो समृद्धिको आधार हो । हामीले अब जलश्रोतको अपार सम्भावनालाई समृद्धिको आधार बनाउनुपर्छ । राष्ट्रिय गौरवको आयोजना भनेर दुई÷ तीन वटा जलविद्युत आयोजना निर्माण गर्न किन सकिंदैन ? तत्काललाई उत्पादन गरेर वेच्न नसके पनि आँफुलाई चाहिने विजुली उत्पादन गर्नसक्छौं । त्यसका लागि हामीले आफ्नै पुँजी खर्च गर्नसक्छौं ।

पहाडको पानी

सुरक्षाबाहेक नेपालमा भारतको अर्को चासोको विषय हो, जलश्रोत । जापानको समुद्रमा आएको सुनामी र त्यसले आणवीक भट्टीहरुमा उत्पन्न गरेको खतराका कारण भारतले पनि विजुलीका लागि परमाणु उर्जाको विकल्प खोज्नैपर्ने भएको छ । युरोपका मुलुकहरु सौर्य र अन्य वैकल्पीक उर्जाको युगमा प्रवेश गरेको भए पनि भारत त्यो खर्च धान्न सक्दैन । यतिबेला जल उर्जा नै उसको एक मात्र विकल्प हो । नेपालका हिम नदीबाट उत्पादीत विजुली भारतलाई अपरिहार्य भइसकेको छ । मधेशमा नदीको चाप कम हुने भएकाले विद्युत उत्पादन गर्न मिल्दैन । पहाडमै डयाम बनाएर विजुली उत्पादन गर्नुपर्ने हुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहाडमा विजुली उत्पादन गर्न सहयोग गर्ने र त्यो विजुली किनेर आफ्नो मुलुकमा लैजाने धारणा व्यक्त गरिसकेका छन् । यही संभावनाको ख्याल गर्दै मोदीले ‘पहाडको पानी र जवानी’को कुरा गरेका हुन । मोदीको आँखा पहाडको पानीबाट उत्पादीत हुने विजुलीमा छ । त्यसका लागि पहाडका प्रदेशहरुलाई भारतले खुशी बनाउनुपर्ने हुन्छ, पहाडको पानीबाट बिजुली निकाल्न भारतले पहाडलाई रिझाउनैपर्ने बाध्यता छ ।

हाम्रा नदिनालाहरु हिमालबाट बग्दै आएका छन् । चिनको तिब्बतमा रहेको मानसरोबर आसपासका क्षेत्रबाटै विश्वका मुख्य नदिहरु सतलज, ब्रम्हपुत्र र कर्णाली बग्दै आएका छन् । कर्णालीको मुहान राक्षस ताल हो । चिनले हिमाली क्षेत्रमै उच्च बाँध बनाएर ति नदिहरुलाई आफुतीरै मोडीदिन पनि सक्छ । त्यसखालको अभ्यास चिनले गर्न थालीसकेको छ । भारतको टाउको दुःखाई भनेकै त्यही हो । अतः पानीकै मामलामा भारत र चिनवीच कलह हुने सम्भावना पनि छ । त्यस्तोमा नेपालले समय छँदै भारतसँग जलश्रोतका सन्दर्भमा सार्थक सम्झौताहरु गरेर मुलुकको समृद्धिको ढोका खोल्नुपर्छ । बगेर खेर जाने पानीमा अनावश्यक राजनीति गर्नु हुँदैन । तिनतीरबाट सिमा जोडीएको भारत हाम्रा लागि बिद्युत उत्पादनका लागि लगानीकर्ता पनि हो र बढी भएको बिजुली किन्ने क्रेता पनि हो । भारतले नै हाम्रो बिजुली किन्ने हो र मोदीले भनेका छन्, ‘हामी तपाईको देशमा बिजुली उत्पादनका लागि लगानी गर्छौैं, तर बढी भएको बिजुली हामी भारतमा लान्छौं, तर त्यो फोकटमा हैन, किनेर लान्छौं ।’

मोदीले के पनि भनेका छन् भने ‘अहिले नेपालको अन्धकार हटाउन हामी नेपाललाई सहयोग गर्नेछौं, भोली भारतको अन्धकार हटाउन नेपालले हामीलाई सहयोग गरोस्’ । भारतको सहयोगमै हामी नेपालको जलश्रोतको विकास गर्नसक्छौं भन्ने उदार सोच राखेर अघि बढेमा नेपाल र भारतवीचको मैत्री सम्बन्ध अझ प्रगाढ बन्नेछ भने त्रिदेशीय साझेदारीका क्षेत्रमा अगाढि बढन पनि हामीलाई कुनै बाधा हुनेछैन ।

कल्पना गरौं त, बेइजीङबाट छुटेको बिजुली बुलेट रेल काठमाडौं हुँदै दिल्लीसम्म कुदेको । त्यो दिन अबश्य आउनेछ, यदि हामीले जलश्रोतको सही सदुपयोग गर्यौँ भने । अहिलेलाई हामी एनआरएन र धनी नेपालीहरुको लगानीमा आफुलाई चाहिने विजुली उत्पादन गरौं, भविश्यका लागि भारतसँग मिलेर ठुला परियोजना बनाऔं । हजारौं मेघावाट बिजुली उत्पादन गरेर त्यो भारतलाई बेच्दा जुन पैसा प्राप्त हुन्छ, त्यसबाट हामी छोटो समयमै विश्वको धनी मुलुक बन्नेछौं । अतः सपना देखौं अनि दृढ विश्वासका साथ त्यसलाई लागू गरौं । किनकी, भारत र चिन हार्डवेयर र सफ्टवेयर हुन् भने नेपाल ‘पावर सप्लायर’ हो, पावर बिना हार्डवेयर र सफ्टवेयर चल्न सक्दैन ।

प्रतिकृया

प्रतिकृया