अनीता यादव


पुरुषले लगाउने पहिरण महिलाई पटक्कै सुहाउँदैन । कतै तपाई श्रीमती, आमा, बहिनी, दिदी, फुफू आदिले तपाईले जस्तो यो पुरुषको टोपी लगाएर जोकर त भई रहेका छैनन ? फेरी हामी महिलाले गुन्यू चोली दिवस मनाए भने पुरुषहरुले गुन्यू चोली लगाएर हिड्न त मिलेन ।

टोपी संसारमा धेरै देशका मानिसले लगाऊँछन। टोपी पनि थरी-थरीका छन्,नेपाल मै पनि भादगाऊले टोपी, ढाका टोपी, बिर्खे टोपी र छतरे टोपी आदि। हाम्रो मिथिला संस्कृतिमा पनि टोपी लगाउने चलन छ मिथिला टोपी लाई ‘पाग’ भनिन्छ । अब भन्नुहोस, कुन चाही टोपी दिवस मनाउने ? कसैको टोपी लाउने बानी होला, कसैको सस्कार होला, कसैको राष्ट्रीयता झल्केला आफ्नो ठाउमा छ। खै मैले त बुझ्नै सकीन किन यो बेमौसम अचानक टोपी र धोतिको जुहारी हुदैछ ?

नेपाल को इतिहासमा सवैभन्दा ठुला पदमा वस्ने भ्रष्टाचारीहरू र राष्ट्रविरोधी सन्धी-सम्झौता गर्नेहरू पनि सबै टोपी लगाउने बर्ग कै छन। एक दिन टोपी लाएर राष्ट्रबादी हुने भए ३६५ दिन नै लगाउनु पर्यो। एकदिनको राष्ट्रबादले देशलाई कही लादैन । समानताको कुरा गर्न र ब्यबहारमा उतार्न सजिलो छैन आज राज्यले टोपी दिबस मनाउला भोलि अरु जात जातीले हाकुपटासी, पटुका , सामायानफुंग, छुबा , टॅटूंग लुंगी, धोती, गुन्यू चोली, बख्खु दिवस मनाउलान्, खै कसरी भयो समानता ? समानता हुन टाउकोमा टोपी कम्मरमा कछााड तराइ, पहाड र हिमाल समेट्ने पोशाक हुनुपर्छ । टोपीले मात्रा समावेशीता देखाउदैन । प्रतीकवादी, अस्तित्ववादी भन्दा पनी यथार्थबादी बन्न सिकौं ।

सबभन्दा पहिले टोपी ,हाकुपटासी, पटुका, सामायानफुंग, छुबा , टॅटूंग लुंगी ,धोती, गुन्यू चोली, बख्खुको लाज बचाउ,देशलाई आत्मनिर्भर बनाउन ,स्वदेशी रोजगारको लागि बाटो बनाउ र स्वदेशी उत्पादित बस्तु विदेशमा बेच्ने बातावरण बनाउ, ज्ञान, विज्ञान, शिक्षा ,सीप तालिम, आधुनिक प्रविधि , उद्योग र कृषि विकासको लागि उल्लेखनीय काम गरेर देखाउ।यो झुठो ,खोक्रो ,अन्धविश्वास र मतभेद हुने धोती, टोपी हाक्कू पोटासी, पटुका ,सामायानफुंग, छुबा , टॅटूंग , लुंगीबख्खु दिवस मनाएर राष्ट्रीयताको खिल्ली नउड़ाउँ ।

न्यू इयर इभ को पार्टीमा कोट , पाईन्ट, टाइ लगाएर बिदेशी रक्सी पिएर मनाउने अनी त्यसको भोली पल्ट टोपी लगाएर राष्ट्रीयता देखाउने देखि साबधान रहने बेला आएको छ । कतै यो डलर कमाउनेहरुको खेल त होइन ? हिमाल, पहाड र तराईका नेपाली आपसमा भेद ल्याउने समूहका पछाडि नलाग्नु होला ।

जे भए पनी टोपी दिवसको शुभकामना । मेरो शरीरमा एकसरो बस्त्र भए पनी नभए पनी म नेपाली थिए , नेपाली छू र नेपाली रहन्छु । सही बिचार र कर्मले नेपाली बनौं । टोपी लगाउदै मा रास्ट्रीबादी र नलगाउदैमा राष्ट्र बिरोधि हुदैन । चर्कोराष्ट्रवाद ! खोक्रो राष्ट्रवाद ! थोत्रो राष्ट्रबाद भन्दा सानो सक्ने काम ले पहिचान बनाऊ । आबश्यक परे यो मेरो देश नेपालको राष्ट्रीयता, अखण्डताको लागि टाउकोमा टोपी होइन म बन्दुक बोक्न तयार छू । ‪

मेरो फेसबुकको पोस्टले भन्न खोजेको कुरा बुझ्दै नबुझी विभिन्न नकारात्मक कमेंट पढ्ने अवसर मिल्यो । फेरि एक चोटि नेगेटिभ बुझिदिनु भएका मित्रजनहरु , मैले टोपी अभियानको विरोध गरेको होइन , पुरुषलाई जसरी महिलाहरुलाई सुहाउँदैन भनेको मात्र हो । टोपी अभियंता ले मेरो बिरोधमा लेख नै लेख्नु भयो । मैले त टोपी दिवस को बिरोध गरको पनि छैन ।

डा.बाबुराम भट्टराई जो भू.पु. प्रधानमन्त्री हुनुहुन्छ , उहाको बारेमा टोपी अभियन्ता र अरु थुप्रै राष्ट्रभक्त हरुले खासै आवाज उठाउन भएन । अझ मैले टोपी दिवस को खुलेरै बिरोध गरको भए के हुन्थ्यो होला ? के गर्नु डॉ बाबुराम भट्टराई पहाडी बाहुन पर्नुभयो , म चाही मधेशी यादव परें। मैले राम्रो कुरा लेख्दा पनी त्यस लाई तोड मोड गरेर मेरो मात्र नभएर भू।पु। राष्ट्रपति रामबरण यादवलाई पनी मुछियो जसको आफ्नो शिरबाट टोपी कहिल्यै नकाल्ल्नु भएन १ केहि महिना पहिले मैले यो पोस्ट गरेको थिएँ ।

‘तराइको धोति, पहाडको टोपी र हिमालको भोटो मिलाएर नै शरीर ढाकिन्छ र हाम्रो इज्जत रहन्छ। टोपी हाम्रो शिर -धोती हाम्रो चिर राष्ट्रीय पोसाक धोतीमाथी टोपीभइदिएको भए सबै मधेशी पहाडी हिमाली एक नेपाली हुने थिए की ? म मेरो बुबा प्रति गर्व गर्छु वहाले टोपी र धोति कहिल्यै छोड्नु भएन चाहे त्यो देश मा होस् या विदेश मा ।’

सबै नेपालका राष्ट्रवादी जनताले अब एकता गर्ने र सङ्गै हिड्ने समय आएको छ ! आज राष्ट्र बिखण्डन को मझदारमा उभिएको छ पहाडी समुदायका व्यक्तिले टोपी लगाएर टोपी दिवस मनाए भने मधेसी समुदायका व्यक्तिले त्यहि दिन धोती, कुर्ता रगम्छा लगाएर धोती दिवस मनाए । अब भोली प्रत्येक बर्ग ले आ आफ्नो दिवस मनाएर प्रतिस्पर्दा गर्न थाले भने के होला ?

आन्दोलन नै गर्ने हो भने भूटानमा भुटानी ले आफ्नो राट्रिय पोशाक लगाए जस्ते सबै नेपाली सरकारी कर्मचारी लाई अनिबार्य टोपी लगाउन पर्ने भनेर गर्नुहोस। तपाईले भोट हालेर पठाएकालाई टोपी लगाउन प्रेसर गर्नुहोस। सागरमाथा, बुद्ध र अरु थुप्रै कुरा भएपनी नभएपनी देश को अस्तित्व त रहन्छ र राख्न पर्दछ ।

हामीलाई जातीय, क्षेत्रीय र धार्मिक द्वन्दमा फसाएर विदेशी हस्तक्षेप गर्ने षडयन्त्र भइरहेको छ । के हामी यस्तो अवस्थामा आई पुग्यौँ की एक दिन टोपी लगाऐर राष्ट्रीयता देखाउनु पर्ने ? अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बोकेको दौरा सुरुवाल राष्ट्रिय पोशाक २०६८ सम्म थियो ।

गणतन्त्रले राष्ट्रिय पोशाक दौरा सुरुवाल, टोपी सबै खाइदियो ? खै काठमाण्डौँको मण्डलामा नारा जुलसू निस्किएन । राष्ट्रिय पोशाकको लागि नारा जु लुस कतै देखिदैन। २०६८ सालदेखि हाम्रो देश नेपाल पोशाक विहिन छ । जातीय पोशाक सबैको छ, तर राज्यसँग अन्तर्राष्ट्रिय पहिचान बोकेको पोशाक छैन । खै अब कोट , पाइन्टमा टाई मा टोपी मात्र बाँकी छ । कस्तो बिडम्बना , हुदाहुदा अब राष्ट्रियता र राष्ट्रवाद पनी एउटा दिवस अनि एउटा टोपीमा सिमित हुन पुगेछ ।

इतिहास त्यति पुरानो पनी भएको छैन , बंगाली महिलाले लाउने साडी हिन्दुको पोशाक भनी परिभाषित गरिन्थ्यो तर मधेसीले लाउने धोती भारतीय पोशाक भनेर कहिल्यै राष्ट्रिय पोशाक बन्न दिइएन ।

तपार्इलाई शायद थाहा छैन होला तराईका कतिपय ठाउँहरूमा ऐतिहासिकरूपले बसोबास गरी आएका पहाड़ी समुदायको टोलहरूलाई“नेपाली टोल” समेत भन्ने गरिन्छ । भारत , बंगालदेश , पाकिस्तान , भूटान मा सायदै भारतीय टोल , बंग्लादेशी टोल, पाकिस्तानी टोल अथवा भूटानी टोल भेटिन्न्चन होला ? खै मैले त छैन ।

अब तपाईं नै भन्नुहोस्, नेपाली पहिचान जातीयता हो कि राष्ट्रियता ? अब जातीय राष्ट्रवादबाट नागरिक राष्ट्रवादतिर लम्किन पर्ने बेला आएको छ । नीति भन्दा पनि नियतले काम गर्नुपर्ने बेला आएको छ।

टोपी , धोति , बक्खु ,तामा, गुन्दु्रक,गौतम बुद्ध, सागरमाथा , नेपालको झण्डा, मःम, हिमालको फोटो मात्र नेपाली पहिचान होइनन । सबै भन्दा ठुलो पहिचान नेपाल एक मात्र हिन्दू राष्ट्र त हामीले बेचीदीयो , नेपालको आफ्नो मौलिक पहिचान नै हिन्दू हो । नागरिकको पहिचान देशबाट हुन्छ र देश को पहिचान धर्म , कला, संस्कृति, भाषा र इतिहासले गर्छ ।

दसगजा क्षेत्रमा नेपाली भूमि अतिक्रमण हुदा त्यसको प्रतिबाद गर्ने देवनारायण यादव लगाएत थुप्रैले धोती , टोपी, बख्खू नभनीकन, सींगो नेपालको लागि लडेँ, मैले रचनात्मक पोस्ट गर्दा यत्रो हो हल्ला मच्चीएला जस्तो लागेको थिएन।

समयले देखाउला को कती राष्ट्रबादी छ भनेर ? तपाई काठमाण्डौँको मण्डलामा टोपी, धोति, बक्खु , दौरा सुरुवाल आदि इत्यादी दिवस भनेर नेपाली झन्डा बोकेरे सुन्तला , बदाम खादै राष्ट्रियता को प्रदर्शन गर्नुहोस्। म त बोडर नजीक बस्दछु , तपाईहरुको लागी राष्ट्रियता प्रदर्शन गर्ने बाताबरण बनाउन म बोडर (सीमावारी) तपाइको लागि लडी रहने छु । बोडरमा म तपाई को लागी लड्दा-लड्दै शहिद भए भए मेरो लाश मा टोपी ,धोति, बक्खु , दौरा सुरवाल लगाइदिनु होला, के गर्ने आखिर हाम्रो राष्ट्रबाद लुगामा सिमित भएछ ।

(लेखक महिला, बालबालिका, व्यक्तिको स्वतन्त्रता र समानतालगायतका सामाजिक कार्यमा संलग्न छिन्)

प्रतिकृया

प्रतिकृया