२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने बताएका छन् ।

आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्ने गरी सरकारले मिति घोषणा गर्ने उनले बताए ।

बिहीबार रिपोटर्स क्लब नेपालको साक्षात्कारमा प्रधानमन्त्रीका सल्लाहकार खनालले भने, ‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ ।’

माओवादी नेता समेत रहेका खनालले जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको बताए । उनले भने, ‘सरकार संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छौं, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ ।’

उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूनर्संरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माघ पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा हुने बताए । संविधान संशोधनपछि मात्रै सबै दल चुनावमा जाने वातावरण बन्ने भन्दै उनले भने, ‘माघको पहिलो हप्ताभित्रै मिति घोषणा गरियो भने निर्वाचन आयोगले पनि जेठमा चुनाव गराउने कुरामा सहयोग गर्छ ।’

उनले जेठमा स्थानीय चुनाव भए कार्तिकदेखि मंसिरसम्म दुईवटा निर्वाचन गर्न सकिने विश्वास व्यक्त गरे । उनले भने, ‘एमाले अहिले ठीक बाटोमा आएको छ, संविधान संशोधन विद्येयक पारित गर्नुपर्छ, विद्येयक पारित हुन्छ, शंका नगरे हुन्छ ।’

कार्यक्रममा एमाले नेता रघुविर महासेठले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । मधेसी मोर्चालाई विश्वासमा लिनुपर्ने कुरामा दुई मत नरहेको भन्दै उनले भने, तर, मोर्चा आफैंमा एक रुपता वा अडानमा एक देखिँदैन्, दिनुहँ कुराहरु फेरिरहेको छ । उहाँहरु पनि निर्देशित हुनुहुन्छ ।’

सरकारले आगामी जेठमा चुनाव गराउँछु भनेपनि आफूहरुलाई विश्वास नलागेको उनले बताए ।

मधेसी मोर्चाका नेता अनिल झाले चुनावमा जाने कुरामा मोर्चाले विरोध नगर्ने स्पष्ट पारे । उनले भने, ‘हामी चुनावको विरोधी होइनौं, संशोधन विद्येयक सदनमा टेबुल भएको छ, चुनाव चाहनेले त्यसलाई पारित गराउनुपर्छ ।’

उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूनर्संरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए ।

प्रतिकृया

प्रतिकृया