१ माघ, काठमाडौं । कानुनमन्त्री अजयशंकर नायकले उच्च अदालतमा गरिएको ८० जना न्यायधीशको नियुक्ति संविधानसम्मत् रहेको भन्दै कुनै हालतमा फिर्ता नहुने दाबी गरेका छन् ।

न्यायाधीश नियुक्तिमा समावेशी, समानूपातिक रहेको रसबैलाई स्विकार्य भएको उनको जिकिर छ । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले भने, ‘हामीले ऐन, कानून अनुसार, संविधान अनुसार नै न्यायाधीश नियुक्ति गरेका हौं । यो निर्णय कुनै हालतमा पनि फिर्ता हुँदैन ।’

न्याय परिषदका सदस्यहरुको सहमतिमै निर्णय गरिएको उनले दाबी गरे । उनले भने,’हामीले एक दिन होइन, एक महिनामा१० पटक बैठक गर्‍यौं, परिषदका ५ जनै सदस्यहरु बसेर हामीले गृहकार्य गरेका हौं ।’

उनले अघि भने, ‘बैठकबाट रामप्रसाद सिटौला एक्कासी निस्किनुभएको हो, उहाँले धेरे वटा बैठकमा यस्तो गर्नुभएको छ, बैद्यनाथ उपाध्याय श्रीमानले त म आउन सक्दिन भन्नुभएको हो, तर उहाँले हामीले गर्ने निर्णयमा समर्थन गर्छु भन्नुभएको थियो, प्रधानन्याधीशले कुरा गर्नुभएको थियो ।’

साथै कुनै राजनीतिक भागबण्डामा नगरिएको दाबी गरे । उनले भने, कानून व्यवसायीहरु हिजो विभिन्न समूहमा जोडिए पनि अब न्यायधीश भएपछि त्यस्तो हुँदैन, उहाँहरुले निश्पक्ष र स्वतन्त्र काम गर्नुहुनेछ ।’

कानुनमन्त्री नायकले मधेसी मोर्चाले पनि विरोध गर्नुको कुनै अर्थ नभएको जिकिर गरे । उनले थपे, ‘८० जनामा समावेशीको कुरा गरिएको छ, ३४ जना न्याय सेवाबाट लिइएको हो, १४ जना कर्मचारीबाट लिइएको छ, ३४ जनामा हेरौं न, हामीले त सकेसम्म समानूपातिक-समावेशी बनाएकै हौं ।’

उनले अघि भने, त्यसमा ६ जना महिला छन्, ७ जना मधेसी छन्, २ जना पीछडिएको क्षेत्रबाट छन् ।’

कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले नियुक्ति प्रक्रिया नै गलत भएको भन्दै सच्याउन माग गरे ।

नियुक्त गरिएका व्यक्तिहरुप्रति बारको आपत्ति नरहेको भन्दै उनले भने, ‘हामीले प्रक्रियाको हामीले विरोध गरेका हौं, तीन जनाले मात्रै किन निर्णय गरियो रु संविधानतः उल्लंघन भयो ।’

बारले अब के गर्ने भन्ने कुरा बारका सल्लाहकारसँग बसेर मात्रै निर्णय गर्ने अध्यक्ष केसीले जानकारी दिए ।

बारका पूर्व उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रधानन्यायधीश सुशीला कार्कीलाई विवादमा तान्ने खेल भइरहेको आरोप लगाए । उनले भने, ‘अन्तर कुन्तरमा उहाँलाई विवादमा तान्ने खेल भैरहेको छ, उहाँको नेतृत्वमा साहसिक निर्णयहरु भइरहेका छन्, त्यसलाई बद्नाम गराउने काम भइरहेको छ ।’

न्यायाधीश नियुक्तिलाई लिएर बारको असन्तुष्टि फेद न टुप्पोको भएको टिप्पणी गरे । उनले भने, ‘बारको विज्ञप्ती आयो, तर उसको असन्तुष्टि के मा हो ? प्रक्रियामा हो कि वा व्यक्तिमा हो ?’

प्रतिकृया

प्रतिकृया