१३ फागुन,काठमाडौँ । निर्माण सुरु भएको ६ बर्षसम्म पनि रामेछाप र ओखलढुंगाको सिमानामा पर्ने शिरिषेको लिखु खोलामा पक्की पुल नबन्दा ओखलढुंगाका झण्डै १५ गाविसका २० हजार भन्दा धेरै नागरिकले सास्ती भोग्नुपरेको छ ।

शिरिषेको लिखुखोलामा पुल नबन्दा टारकेराबारी, पोकली, गाम्नाङटार, नमर्देश्वर, एस्सम, श्रीचौर लगायत ओखलढुंगाका झन्डै १५ गाविस र सोलुखुम्बुका केही ठाउँका बासिन्दा पनि समस्यामा परेका छन् ।

हिउँदका ४ महिनामा लिखु खोला केही सानो हुने भएकाले बल्लतल्ल गाडी खोलापारी जाने भएपनि बर्खामा गाडीको आवतजावत ठप्पै हुन्छ । पुल नहुँदा एम्बुलेन्स पनि चल्न नसक्ने भएकाले बिरामी हुँदा आपत छ, दैनिक उपभोग्य सामानको भाउ पनि चर्को छ, अनि भूकम्पले भत्काएका घर बनाउन सिमेन्ट छड लगायतका सामग्री लिखुपारी लैजान नसक्दा पुनर्निर्माण पनि प्रभावित भएको छ ।

पुलको निरीक्षण गर्न शिरिषे पुगेका नेपाली कांग्रेसका नेता तथा ओखलढुंगा क्षेत्र नंबर २ का सांसद रामहरी खतिवडाले ६ बर्षसम्म पुल नबनेकोमा आश्र्चय व्यक्त गरे । पुलमा भएको राजनीतिकरणलाई आफूले बुझेको र अब कुनै पनि बहानामा पुल निर्माणको काम रोकिएमा आफुलाई मान्य नहुने उनले बताए ।

ठेकेदारले २०७५ सालको बैसाखसम्म पुल बन्न सक्ने बताएपनि नेता खतिवडाले आगामी दसैँसम्म लिखुमाथि पुल नबने ठेकेदारलाई लिखुमै बगाउने उनले धम्की समेत दिए ।

‘माननीय निरीक्षण गर्न आउँदैछन् भन्ने थाहा पाएर पुलमा २/४ जना कामदार लगाएर काम गरेको जस्तो देखियो, यस्तो परम्परा आजैदेखि रोकियोस’ उनले भने, ‘म ठेकेदार र इन्जिनियरलाई भन्न चाहान्छु, यो दसैमा कुनैपनि हालतमा बन्नुपर्छ बनेन भने यो नदीले मान्छे मात्रै बगाउँदैन् धेरै कुरा बगाउन सक्छ ख्याल गर्नुहोला ।’

चुल्ठेमुन्द्रेको कारण देखाएर पुलको काम रोकेमा आफू कडा रुपमा उत्रने र ठेकेदारलाई जस्तोसुकै कारबाही गर्न पनि पछि नपर्ने उनको दावी छ । ‘गुण्डाको कारण केवल ठेकेदारको आलटाल गर्ने बाटो मात्रै हो, चुल्ठेमुन्द्रेले दुःख दिएभने हामीलाई भन्नुहोस हामी उनिहरुको होइन जनताको पक्षमा निर्णय गराउँछौं’ सांसद खतिवडाले भने ।

ट्रस र स्टिल बनाउन ढिला हुने बहानालाई चुनौति दिन आफु चितवनको उद्योगमा गएर अनुगमन गर्न पनि आफू तयार रहेको सांसद खतिवडाले बताए ।

प्रतिकृया

प्रतिकृया