३० फागुन, काठमाण्डौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा सोमबार काठमाडौमा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७२–७३ को मुनाफा रकम मध्येबाट स्वीकृत चुक्ता पूँजीको ५१ प्रतिशतका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने, कम्पनीको नियमावलीमा संसोधन लगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।

सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७२/७३ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७३ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७२/७३ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ. व. २०७३/७४ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टड एकाउण्टेण्ट सुबोध कुमार कर्णलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले साधारणसभामा उपस्थित शेयर धनीहरुलाई स्वागत गर्दै कम्पनीको नवौं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

उनले आर्थिक वर्ष २०७२/७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी गराउँदै सो अवधिमा कुल राजस्व ३.६८ प्रतिशतले वृद्धि गरी खुद मुनाफा रु. १३ अर्ब ६८ करोड कायम राख्न कम्पनी सफल भएको र गत आर्थिक वर्षको तुलनामा १५.६५ प्रतिशतले ग्राहक संख्या वृद्धि भएको जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया