८ चैत, धनुषा । कजरा रमौल–१ का रोशनी खातुन अहिले गाउँमै सञ्चालन भइरहेको किशोरी कक्षाबाट शिक्षा आर्जन गर्दै छन्।

एघार वर्षीया खातुनले पहिलोपटक अक्षर चिन्ने मौका पाइन्। रोशनीसँगै सोही बस्तीका बेगम खातुन, जसिमा खातुनलगायत २० किशोरी अहिले सोही कक्षाबाट शिक्षा आर्जन गरिरहेका छन्।

उनीहरू सबै मुस्लिम समुदायका किशोरी हुन् । विद्यालयसम्म पहुँच नभएका किशोरीलाई घरपरिवारले मदरर्सामा पठाउने गरेका छन् । तर अभिभावकले किशोरीलाई अध्ययनका लागि विद्यालय नपठाउँदा अक्षरसमेत चिन्न सकेका छैनन् ।

संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) को सहयोगमा जिल्ला शिक्षा कार्यालय र सामुदायिक परिवार कल्याण सङ्घको साझेदारीमा अहिले गाउँमै किशोरी कक्षा सञ्चालन भइरहेको छ। गाउँमै किशोरी कक्षा सञ्चालन भएपछि विद्यालयको पहुँचबाट टाढा रहेका किशोरीले शिक्षा लिने अवसर पाएका हुन्।

विपन्न, दलित तथा मुस्लिम समुदायका सन्तानलाई लक्षित गरी कजरा रमौलमा तीनवटा तथा बघचौडा गाविसमा कक्षा सञ्चालन भइरहेको छ। दैनिक दुई घन्टा कक्षा चल्छ। पायक पर्ने ठाउँमा कक्षा सञ्चालन भएका कारण पढ्न सहज भएको किशोरीहरु बताउँछन्।

मुस्लिम समुदायले छोरीलाई विद्यालय कमै मात्रामा पठाउने गरेका छन्। प्रत्येक समूहमा २० देखि २२ जना किशोरीलाई राखेर कक्षा सञ्चालन भइरहेको सामुदायिक परिवार कल्याण सङ्घका कार्यक्रम संयोजक लक्ष्मेश्वर मण्डलले बताए। शिक्षिकाले किशोरीहरुलाई उपलब्ध भएको पाठक्रमअनुसार अध्यापन गराउँदै आएका छन् ।

“वैशाखसम्म सबै कक्षा सम्पन्न गरी किशोरीहरुलाई विद्यालयमा लगेर कक्षा ३ मा भर्ना गर्छौँ,” मण्डलले भने। किशोरीलाई दश कक्षासम्म पढ्नका लागि सहयोग पुर्‍याउने छ ।

सहायक जिल्ला शक्षा अधिकारी दानीकान्त झाले शिक्षाबाट वञ्चित रहेका मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको बताए।

प्रतिकृया

प्रतिकृया