८ चैत, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजबीच मंगलबार शिष्टाचार भेट भएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्दै गत वर्षको भूकम्पका बेला प्राप्त अमेरिकी सेनाको सहयोग उच्च साझेदारीको नमूना भएको बताए।

प्रधानमन्त्रीले भूकम्प पीडितको उद्दारमा खटिँदा ज्यान गुमाउने ६ जना अमेरिकी सैनिक श्रद्धाञ्जली प्रकट गर्दै अमेरिकी सेनाप्रति समवेदना प्रकट गरे।

प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीच ७० बर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा राखेको बताए।

भेटमा यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजले नेपालसँग अमेरिकाको नजिकको सम्वन्ध रहेको बताउँदै अमेरिकी सेनाको समेत आत्मीय सम्बन्ध रहेको धारणा राखे।

उनले नेपाली सेनासँगको सहकार्यबारे जानकारी दिँदै नेपालको स्टाफ कलेजमा अमेरिकन सेनाले पढ्ने गरेको तथा नेपालबाट माउण्टेन वार फेर सिक्न पाएकोमा धन्यवाद व्यक्त गरेका छन्।

प्रतिकृया

प्रतिकृया