१० चैत, काठमाण्डौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. गोविन्दराज पोखरेलले घर निर्माणका लागि भूकम्प पीडितलाई तत्काल काठ उपलब्ध गराउन निर्देशन दिएका छन्।

भूकम्प प्रभावित जिल्लामा काठ अभावका कारण सर्वसाधरणले घर बनाउन नसकेको गुनासो आइरहेको बेला प्राधिकरणका सिइओ पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माणका लागि सहुलियत दरमा काठ उपलव्ध गराउन वन मन्त्रालयसहित सरोकारवाला निकायलाई बिहीबार निर्देशन दिएका हुन्।

बैठकमा सिइओ पोखरेलले भूकम्प पीडितहरुका लागि सहुलियतमा दिने भनिएको काठ वितरणको प्रक्रिया सहज बनाएर अति प्रभावित १४ जिल्ला सदरमुकामसम्म ढुवानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए। वैठकमा सहभागी वन सचिव माथेमा, वन विभागका महानिर्देशक आचार्य र टिम्बर कर्पोरेशन नेपालका महाप्रवन्धक लौडारीले आवश्यक गृहकार्य गरेर जतिसक्दो छिटो भूकम्प प्रभावित जिल्लामा सहुलियत दरमा काठ उपलव्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

सिइओ पोखरेलले जिल्लामा टिसिएन समितिलाई आफ्नो शाखा विस्तार गरेर भएपनि प्रभावकारी रुपमा सहुलियत दरको काठ वितरण गर्न निर्देशन दिए।

पोखरेलले भने,‘ तपाईहरुले न्युन लागतमा प्रभावित जिल्लाको सदरमुकामसम्म सहुलियत दरमा काठ पु¥याउने व्यवस्था गर्नुहोस्। कार्यविधि संशोधन गरेर हुन्छ वा क्याविनेटसम्म कुनै प्रस्ताव लग्नुपर्छ त्यसमा हामी सहयोग गर्छौं। तर, तपाईहरुले घर बनाउन आवश्यक पर्ने काठको सहज बितरण गर्नुपर्‍यो। ’

पोखरेलले जिल्ला वन पैदावार समिति, टिसिएन र निजी क्षेत्रलाई सहभागी गराएर काठ वितरणलाई प्रभावकारी बनाउन सकिने सुझाव दिएका थिए।

बैठकमा सिइओ पोखरेलले वन सचिव प्रकाश माथेमा, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पोरेशन अफ नेपालका महाप्रवन्धक राजु लौडारीलाई छलफलका लागि बोलाएका थिए।

प्रतिकृया

प्रतिकृया