१८ चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्नुपूर्व पार्टी केन्द्रको अनुमति अनिवार्य लिनुपर्ने सर्कुलर जारी गरेको छ ।

स्थायी कमिटी बैठकले तय गरेको निर्वाचन मापदण्ड र निर्देशिका पार्टीका सम्बन्धित कमिटीहरुलाई सर्कुलरका रुपमा पठाएको छ ।

एमालेको सर्कुलरमा भनिएको छ, ‘स्थानीय तहमा तालमेल गुर्नपर्ने आवश्यक भएमा जिल्ला कमिटीले प्रदेश कमिटीको र प्रदेश कमिटीले स्थायी कमिटीको अनुमति लिनुपर्ने छ ।’

सर्कुलरको छैठौं बुँदामा चुनावी तालमेल तथा समन्वयका बारेमा उल्लेख गरिएको छ । निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न आवश्यकता अनुसार अन्य दलहरुसँग तालमेल र समन्वयको पहल गर्न स्थानीय कमिटी स्वतन्त्र हुनेछन् ।

सर्कुलरमा भनिएको छ, ‘सम्बन्धित स्थानको राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य र संभाव्य परिणामका सम्बन्धमा सुक्ष्म विश्लेषण गर्ने । तालमेल सम्बन्धमा औपचारिक रुपमा संझौता गर्नुपूर्व जिल्ला कमिटीले प्रदेश संगठन कमिटीबाट र प्रदेश संगठन कमिटीले स्थायी कमिटीबाट अनुमति लिने ।’

एमालेले केही जिल्ला र स्थानीय तहमा माओवादी र मधेसी मोर्चा प्रतिस्पर्धी भए पनि देशैभर कांग्रेस मुख्य प्रतिस्पर्धी हुने ठहर गरेको छ । त्यसैले चुनावमा कांग्रेससँग तालमेल नहुने र आवश्यकता अनुसार अन्य दलसँग तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।

स्थायी कमिटी बैठकको निष्कर्ष सुनाउँदै प्रदेश नम्बर ४ का संयोजक समेत रहेका नेता किरण गुरुङले स्थानीय आवश्यकताका आधारमा सीमित ठाउँमा तालमेल हुन सक्ने बताए । तर, यस्तो तालमेल पार्टीको विजय सुनिश्चित गर्न कांग्रेस बाहेकका साना दलहरुसँग हुन सक्ने उनको ठम्याइ छ । गुरुङले भने, ‘मुलतः एमाले एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हो ।’

अहिलेसम्म नेकपा मसालको बैधानिक संगठन राष्ट्रिय जनमोर्चा बाहेक अन्य दलसँग तालमेलको सम्भावना नदेखिएको एमालेका नेताहरुले बताएका छन् । यद्यपी नेकपा माले र नेपाल मजदूर किसान पार्टीसँग पनि तालमेलको प्रयास हुन सक्ने छ ।

मालेको खासै संगठित जनाधार नभए पनि मजदूर किसान पार्टीको भक्तपुरमा बर्चश्व र कणरलीमा पनि सामान्य जनमत छ । बरु कतिपय ठाउँमा कांग्रेस रोक्न राप्रपासँग तालमेल गर्न सकिने एमालेको निष्कर्ष छ ।

कांग्रेससँगको तालमेल असम्भव देखेको एमालेले बरु अहिले आफूलाई प्रमुख दुश्मन बनाइरहेको मधेसी मोर्चासँग भने स्थानीय आवश्यकता आधारमा तालमेल हुन सक्ने जनाएको छ । ‘मोर्चासँग पार्टीगत तहबाट सम्बन्ध होला जस्तो लाग्दैन तर मधेसका कतिपय स्थानीय तहमा कांग्रेस विरुद्ध तालमेल गर्न सकिन्छ’ एक नेताले बताए ।

कठोर कारवाहीको पूर्व चेतावनी

महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार बन्न पार्टीभित्रै एकले अर्को विरुद्ध घात(प्रतिघातको सम्भावना देखिएपछि एमालेले संस्थागत रुपमै कठोर कारवाहीको पूर्व चेतावनीसहितको सर्कुलर सबै कार्यकर्तालाई पठाएको छ । जसमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्नेमाथि ५ वर्षको कठोर कारवाहीको चेतावनी दिइएको छ ।

सुर्कलरमा भनिएको छ, ‘पार्टी निर्णयलाई अवज्ञा गर्ने, पार्टीले अघि सारेको उम्मेदवारको विरुद्धमा वागी उम्मेदवार बन्ने, वागी उम्मेदवारको प्रस्तावक वा समर्थक बन्ने, पार्टीकोउम्मेदवारको विरुद्ध र बागी उम्मेदवारको पक्षमा गतिविधि गर्ने, विरोधी दलका उम्मेदवारसँग साँठगाँठ गर्ने, विरोधी दलका उम्मेदवारको समर्थक वा प्रस्तावक बन्ने व्यक्तिलाई उम्मेवारीका सम्बन्धमा अन्तिम निर्णय गर्ने पार्टी कमिटीले तत्काल पार्टी सदस्यताबाट निष्काशित गर्ने ।’

कारवाहीमा परेका व्यक्तिको पक्षपोषण गर्नेहरुलाई समेत अनुशासनात्मक कारवाही गर्ने एमालेले जनाएको छ । तत्काल सम्बन्धित पार्टी कमिटीको बैठक बस्न सम्भव नभए उम्मेदवारीका सम्बन्धमा निर्णय गर्ने अख्तियारी प्राप्त कमिटीको प्रमुख पदाधिकारीले कारवाही गर्ने र कमिटीको बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने अख्तियारी समेत दिइएको छ ।

सर्कुलरमा भनिएको छ, ‘त्यसरी निष्काशनको कारवाहीमा परेको व्यक्तिलाई पाँच बर्षसम्म पुनः पार्टी सदस्यता प्रदान गरिनेछैन र राज्य वा पार्टीका कुनै पनि पद र सुविधा दिइनेछैन । पार्टीको जीत बाहेक अरु कुनै पनि कुरा सुनुवाइ नहुने समेत एमालेले प्रष्ट पारेको छ ।’

प्रतिकृया

प्रतिकृया