७ बैशाख,काठमाडौँ । बार्सिलोनाको च्याम्पियन्स लिग फुटबलको यात्रा टुंगिएको छ । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस जाइन्ट बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको हो ।

पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा पुनरागमन गर्ने प्रयास गरेको हो । तर युभेन्टसको अपेक्षाकृति रक्षात्मक प्रदर्शनले बार्सिलोनाको प्रयास सफल हुन सकेन ।

गोलरहित बराबरीपछि युभेन्टस समग्रमा ३–० को जितसहित अन्तिम चारमा पुगेको छ । अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० सँग ४–० ले पराजित भएर पनि बार्सिलोनाले दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गरेको थियो ।

दोस्रो लेगमा ६–१ को जित निकालेर अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा पनि त्यस्तै पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको थियो । तर घरेलु मैदानमा भएका खेलमा बार्सिलोनाले ३५ पटक पोस्ट प्रहार गरेपनि गोल भने गर्न सकेन ।

लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले गोल गर्ने प्रयास गरे । तर उनीहरुको प्रहार गोलमा परिणत भने हुन सकेन । यस्तै युभेन्टसका गोन्जालो हेगुइन, मार्क एण्ड्रे तथा आन कुएड्राडोले गोल राम्रा प्रयासमा गोल गर्न सकेनन् । बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको हो ।

प्रतिकृया

प्रतिकृया