बैशाख ९,तेह्रथुम – नयाँ शैक्षिक सत्र सुरु भएसँगै जिल्लाभर यो सातादेखि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । हरेक शैक्षिक सत्रमा जस्तै यो वर्ष पनि विद्यालय भर्ना हुन छुटेका बालबालिकालाई खोजी-खोजी विद्यालय भर्ना गराउने सरकारी अभियान छ ।

तर वर्षेनी आउने तथ्यांकमा शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको पाइँदैन ।
यो वर्ष पनि जिल्लामा शिक्षा कार्यालयले विद्यालय भर्ना हुन बाँकी रहेका सबै बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गराउन अनुरोध गरेको छ ।

गएको वर्ष जिल्लामा ३ दशमलव ५ प्रतिशत विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर थिए ।
तर विद्यालय भर्ना छुटेका बालबालिका खोजी गर्दा गाउँमा कतै पनि विद्यालय भर्ना नभएका विद्यालय उमेरका बालबालिका नपाइने गरेको शिक्षकहरुले बताएका छन् ।

तथ्यांकमा देखिए बमोजिम ३ दशमलव ५ प्रतिशत विद्यालय भर्ना छुटेका बालबालिका खोज्न यतिवेला जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलदेखि गाउँ–गाउँमा शिक्षक र सरोकारवालाहरु लागेका छन् ।

‘बस्तीस्तरमा घर दैलो कार्यक्रम गरेर सबै बालबालिकालाई विद्यालय भर्ना गराइन्छ । तर तथ्यांकमा शतप्रतिशत कहिल्यै पुग्दैन’ जिशिअ पोखरेलले एक सार्वजनिक कार्यक्रममा अनुरोध गर्दै भन्नुभयोे, ‘गाउँमा बालबालिका पनि छैनन् । आखिर कहाँ जान्छन् ती भर्ना छुटेका बालबालिका ? म पनि खोज्दैछु, तपाईहरुले पनि खोजिदिनुपर्‍यो ।’

जिल्ला शिक्षा अधिकारी पोखरेलले पछिल्लो झण्डै ६ महिनामा जिल्लाभरका ४० बढी विद्यालयमा आफैँ पुगेर निरीक्षण गरेको भन्दै सबै विद्यालयमा विद्यार्थीको संख्या सन्तोषजनक मात्रै भएको बताए ।

‘विद्यालय भर्ना अभियान सबै विद्यालयले चलाएका छन्, उहाँले भन्नुभयो, ‘सबै विद्यालयमा विद्यार्थी संख्या पर्याप्त छैन, त्यसैले शिक्षक र अभिभावक पनि यो अभियानमा हुनुहुन्छ । तर गाउँमा बालबालिका नै छैनन् भन्ने जवाफ छ ।’ जिशिअ पोखरेलले आफूले पनि कही कतै विद्यालय नजाने बालबालिका नदेखेको, नभेटेको बताए ।

जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार गएको शैक्षिक सत्रमा जिल्लाभर ९६ दशमलव ५ प्रतिशत बालबालिका विद्यालय भर्ना भए । सो तथ्यांक कक्षा–१ देखि ५ कक्षासम्म भर्ना भएका बालबालिकाको हो । तथ्यांकमा कक्षा–६ देखि ८ सम्म बढीमा १२ बर्ष सम्मका ९५ दशमलव ५ प्रतिशत विद्यार्थी मात्र भर्ना भएको देखिन्छ ।

तथ्यांकमा छुटेका ४ देखि ८ वर्ष उमेरका ३ दशमलव ५ प्रतिशत र ९ देखि १२ वर्ष उमेरका ४ दशमलव ५ प्रतिशत बालबालिका नभेटाएर यतिवेला जिल्लाका सरोकारवाला हैरान छन् । जिल्ला शिक्षाले जिल्लाभर विद्यालय निरीक्षकहरु, शिक्षकहरु र अभिभावकलाई समेत विद्यालय भर्ना अभियान सामेल हुन आग्रह गरेको छ ।

तथ्यांकले वर्षेनि विद्यालय भर्ना अभियान चलाएपनि ३ देखि ४ प्रतिशत बालबालिका विद्यालय बाहिरै भएको देखाउँदा सबैलाई हैरानी भएको जिशिअ पोखरेलले बताए। ‘सधैँ अभियान चलाइएकै छ, गाउँमा बालबालिका छैनन् भन्ने जवाफ छ, म आफैले पनि घुमेर हेर्दा कतै भेटेको छैन, फेरि तथ्यांक किन शतप्रतिशत आउँदैन ? म आफैँ अचम्मित छु,’ जिशिअ पोखरेलले भने ।
विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउन जिल्लामा विभिन्न गैरसरकारी संघसंस्थाहरु समेत क्रियाशील छन् । हरेक वर्षको वैशाख महिनाभर विद्यालयहरुले भर्ना अभियान चलाइरहेका छन् ।

ती विद्यालयहरुको अभियानमा जिल्लाका दलित सचेतना समाज, नेपाल र देउराली सोसाइटी नामक गैरसरकारी संस्थाहरुले पनि सहयोग गरेका छन् । तर बस्तीस्तरमै पुगेर सञ्चालन गरिएका ती अभियानले पनि कहीँ कतै विद्यालय भर्ना नभएका बालबालिका नभेटिएका दलित सचेतना समाज नेपालका निर्देशक कुमार विशंखेले बताए ।

‘सबै बालबालिकालाई विद्यालय भर्ना गराउन प्रयास सधैँ गरिएको छ, छुटेका बालबालिका कहाँ गए ? भन्ने सन्दर्भमा कि जिशिकाको तथ्यांक गलत छ ? कि बालबालिका नै हराइरहेका होलान्, त्यो खोजको विषय हो’ उनले भने ।

जिल्लामा गएको वर्ष १३ हजार ४ सय ११ छात्र र २५ हजार ५ सय ४४ जना छात्रा गरी जम्मा ३८ हजार ९ सय ५५ जना बालबालिका विद्यालय भर्ना भएका थिए । जिल्लाभर १ सय ८२ वटा आधारभूत, ४६ वटा सामुदायिक माध्यमिक विद्यालयहरु छन् ।

यस्तै १६ वटा निजी आधारभूत तथा ७ वटा निजी मावि छन् । सामुदायिक विद्यालय तर्फ जिल्लाभर १ हजार ३ सय ३७ शिक्षक दरबन्दी रहेकामा ४२ वटा दरबन्दी रिक्त छन् । यसवर्ष पनि जिल्लाका दुई नगरपालिका र चार वटै गाउँपालिकामा विद्यालय भर्ना अभियान सुरु भएको छ ।

प्रतिकृया

प्रतिकृया