११ बैशाख, बारा । बारामा प्रहरी र तस्करबीच झडप भएको छ। भन्सार छलेर नेपाल ल्याउँदै गरेको सामान रोक्ने क्रममा बाराको धर्मनगरमा प्रहरी र तस्करबीच सोमबार बिहान झडप हुँदा प्रहरी हवल्दारसहित चार जना घाइते भएका छन्।

खुला सीमानाको फाइदा उठाउँदै भारतको आधापुरबाट भन्सार छलेर नेपाल ल्याएको चिनी, गुट्खा, सूर्तिगायतका सामान रोक्ने क्रममा प्रहरी र तस्करबीच झडप भएको हो।

झडपका क्रममा प्रहरी हवल्दार शेष मसरुल गम्भीर घाइते भएका छन्। वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट मसरुललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। झडपमा प्रहरी जवान चन्द्रशेखर सिंह, जगमोहन राउत र विनोद पासवानको टाउकोमा चोट लागेको छ।

नेपाल–भारत सीमाभन्दा पाँच किलोमिटर उत्तरतर्फ धर्मनगरस्थित नेपाल इट्टा उद्योगनजिक झडप भएको हो। जिल्ला प्रहरी कार्यलयबाट मोटरसाइकलमा गस्ती गर्न गएका प्रहरीले ८–१० जनाको समुहमा रहेका तस्करले सामान ल्याइरहेको देखेपछि रोक्ने प्रयास गरेका थिए।

साइकलमा राखेर सामान ल्याउँदै गरेका तस्करको समुहले प्रहरीमाथि आक्रमण गर्न थालेपछि झडप भएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिए।

झडपका क्रममा तस्करले लुटेर लगेको सट गन प्रहरीले फेला पारेको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यलयबाट प्रहरी उपरीक्षक उप्रेतीको नेतृत्वमा पुगेको प्रहरी टोलीले बन्दुक फेला पारेको हो। झडप भएको स्थान नजिकै रहेको इटटा उद्योगभित्र लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरी उपरीक्षक उप्रेतीले बताए।

झडपमा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। नियन्त्रणमा लिइएकाको बयानका आधारमा अन्यको खोजी गरिने प्रहरीले जनाएको छ। प्रहरीले तस्करले ल्याउँदै गरेको केही सामान नियन्त्रणमा लिएको छ।

प्रतिकृया

प्रतिकृया