२७ बैशाख, काठमाण्डौँ । गत च्याम्पियन्स लिगको फाइनलमा भिडेका दुई स्पेनिस क्लब रियल र एट्लेटिको म्याड्रिड आज राती साढे १२ बजे यस वर्ष फाइनल प्रवेशका लागि भिड्दै छन्। सेमिफाइनलअन्तर्गत पहिलो लेगमा ३–० गोलले रियलसँग पछाडि परेको अवस्थामा एट्लेटिकोका लागि आजको भिडन्त निकै महत्वपूर्ण मानिएको छ।

यी दुवै क्लब ४ वर्षको अन्तरालमा २ पल्ट फाइनल भिडेका थिए। तर, यसपालि उनीहरुको भिडन्त सेमिफाइनलमै तय भएको थियो। जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियलले आफ्नो घरेलु मैदान सेन्टियागो बेर्नाबेउमा भएको पहिलो लेगको खेल क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोलका कारण अग्रता बनाइसकेको छ।

यस्तो अवस्थामा खेलमा पुनः फर्किन आज एट्लेटिकोले आफ्नो रंगशाला भिन्सेन्ट काल्डेरोनमा कम्तिमा गोल नखाई ३ गोल फर्काउनु पर्ने बाध्यता छ। डिएगो सिमोनीको प्रशिक्षणमा रहेको एट्लेटिकोले गत वर्ष फाइनलमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा राखेको थियो। अन्त्यमा खेल पेनाल्टीबाट निस्कर्षमा निस्किएको थियो।

जिदान त्यही वर्ष खेलाडी र प्रशिक्षकको रुपमा च्याम्पियन्स लिग जित्ने एलिट समूहमा प्रवेश गरेका थिए। सन् २००२ मा वायर लेभरकुसेनलाई फाइनलमा पराजित गर्न उनले भली गोल गरेका थिए। यसपालि उनी प्रशिक्षकको भूमिकामा लगातार दोस्रो वर्ष च्याम्पियन्स लिग जिताउने अभियान नजिकै छन्।

आजको खेलमा सकारात्मक नतिजा निस्किएको खण्डमा रियलले फाइनलमा युभेन्ट्ससँग भिड्नु पर्नेछ। युभेन्ट्स बुधबार बिहान फ्रेन्च क्लब मोनाकोलाई समग्रमा ४–१ गोलले पछाडि पार्दै फाइनल पुगेको थियो।

जिदानले आजको खेलमा पनि आक्रमणको धारलाई तीब्र बनाउने बताएका छन्। ११ पल्ट च्याम्पियन्स लिगको उपाधि जितेको रियल ४ वर्षको अन्तरालमा तेस्रो पल्ट फाइनल प्रवेशको नजिकै पुगेको हो।

‘हामी अन्य खेल झै सशक्त रुपमा दोस्रो लेगमा पनि उत्रिने छौँ,’ रातीको खेल अगाडि पत्रकार सम्मेलनमा जिदानले भने, ‘खेलपछिको समिक्षा आफ्नो ठाउँमा छ तर हाम्रो अभियान परिवर्तन भएको छैन, नतिजाले कुनै अर्ध राख्ने छैन, हामी गोलका लागि प्रयास गर्नेछौँ।’

आजको खेलमा विगत झै एट्लेटिकोका लागि रोनाल्डो नै संकटको रुपमा रहेका छन्। उनले पछिल्लो तीन च्याम्पियन्स लिग भिडन्तमा ८ गोल गरिसकेका छन्। जसमा एट्लेटिकोविरुद्ध मात्र होइन, क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा वायर्न म्युनिखविरुद्ध पनि ह्याट्रिक गोल गरेका थिए।

जिदानको च्याम्पियन्स लिगमा खेलाडी र प्रशिक्षकको रुपमा यो छैटौं फाइनल प्रवेश नजिक हो।

प्रतिकृया

प्रतिकृया