११ जेठ, चौतारा । युवापुस्तालाई चुनौती दिँदै ८० वर्षीय मानबहादुर खड्का सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा विजयी भएका छन् ।

दोलखाको कालिन्चोकसँग सिमाना जोडिएको दुर्गम घोर्थलीका यी वृद्धले प्रतिस्पर्धी माओवादी केन्द्रका कमल खत्रीलाई १३८ मतले पछि पार्दै जित हासिल गरेका हुन् । सो वडामा एमालेले १०२ र राप्रपाले दुई मत मात्र ल्याउँदा गाउँको मुहार फेर्ने अठोट लिएका खड्का फराकिलो मत अन्तरले विजयी भएका छन् ।
पञ्चायत कालमा दुई/दुई पटक वडा सदस्य भएका खड्का २०५४ सालमा भएको निर्वाचनमा वडाध्यक्ष पदमा दुई मतले पराजित भएका थिए । यो उमेरमा किन रहर गरेको भन्ने प्रश्नमा उनी भन्छन्, ‘गाउँको विकास गर्ने धोको बाँकी नै थियो, अनि जनताले साथ दिएपछि विजयी पनि भएँ, अब जनतालाई निरास नपार्ने गरी सर्वप्रथम खानेपानी र सडक निर्माणमा जोड दिन्छु, भइरहेको मुहान भुकम्पले सुकाएपछि यहाँ खानेपानी चर्को अभाव भएकाले पहिले त्यसको व्यवस्थापनमा लागिपर्छु ।’

सुरुदेखि नै सामाजिक कार्यमा सक्रिय खड्का दुईवटा सडकलाई प्राथमिकता दिई शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि पहल गर्ने बताउँछन् ।

पहिलो पटक अल्पसङ्ख्यक माझी समुदायबाट चौतारा साँगाचोकगढी–१२ मा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा विजयी सुशील माझीले सर्वप्रथम समुदायमा सचेतना कार्यक्रम ल्याई आफ्नो समुदायलाई पछौटेपनबाट मुक्त गराउने बताउँछन् । काभ्रेको दोलालघाटस्थित बन्देउसँग सिमाना जोडिएको र इन्द्रावती नदी किनारमा रहेको उक्त माझी बस्तीमा खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य र सडक क्षेत्रमा आफूले उल्लेखनीय कार्य गरेर देखाउने दृढता उनले व्यक्त गरे ।

जनसङ्ख्या र क्षेत्रफलमा जिल्लाकै ठूलो मानिएको साबिक साँगाचोक गाविसकै नाममा चौतारा नगरपालिकालाई पछिल्लो पटक साँगाचोकगढीसँग जोडिएको हो । तीनवटा वडा रहेको साँगाचोकलाई सदरमुकाम प्रवेश गर्ने द्वारका रुपमा लिईन्छ । विशेषगरी माझी र दनुवार समुदायको बसोबास रहेको इन्द्रावती गाउँपालिका–१२ भीमटारमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा विजयी कमलरत्न दनुवार पनि आफ्नो समुदायबाट विजयी भएकोमा खुसी व्यक्त गर्दै वडाको विकासमा सक्रिय रहने प्रण गरे ।

इन्द्रावती नदी किनारमा अवस्थित सो बस्तीको डिलमुनि इन्द्रावती बगे पनि फाँट सुक्खा रहेकाले लिफ्टिङद्वारा सिँचाइ गर्ने सोचमा आफू रहेको बताउँदै कमलरत्न दनुवारले विकासका सबै पूर्वाधारलाई एकैसाथ अगाडि बढाएर साना उद्योग सञ्चालन गरी युवायुवतीलाई रोजगार दिइने योजना अगाडी ल्याउने बताए ।

त्यहाँ सञ्चालित विभिन्न क्रसर उद्योगले नदी गहिराएर भर्खरै निर्मित पक्की पुललाई समेत असर पुर्‍याएकाले त्यस्ता उद्योगलाई व्यवस्थितरुपमा सञ्चालन गर्न दबाब दिइने पनि उनी बताउँछन् । दुई वटा वडा रहेको सो बस्तीको वडा नं. ११ मा एमालेबाट मणि माझी वडाध्यक्ष पदमा विजयी भएका र उनी पनि आफ्नो समुदायको उत्थानका लागि माथिका सबै योजना लागू गर्न सहमत छन् ।

चौतारा साँगाचोकगढी नपा–४ बतासेमा राप्रपाका तर्फबाट वडाध्यक्ष पदमा विजयी दीपेन्द्र थापाले पनि खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखिने बताए ।

प्रतिकृया

प्रतिकृया