मुलुकले मंगलबार चालिस औँ प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार पाएको छ । स्थानीय तहको दोस्रो तहको निर्वाचन हुनुपुर्व नै नयाँ सरकार निर्माण भएको छ । देउवा नेतृत्वको सरकारले तोकिएकै समयमा दोस्रो तहको निर्वाचन गर्ने जिम्मेवारीका साथ नयाँ सरकारको नेतृत्व गरेका छन । यसैबीच सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागि हुन्छ कि हुँदैन ? भन्ने विषयमा केन्द्रित भई हामीले राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणासँग राप्रपाको अबको तयारी र स्थानीय निर्वाचनमा कसरी केन्द्रित भएको छ भन्ने विषयमा कुराकानी गरेका छौँ ।

हेडलाईन नेपालले राप्रपाका वरिष्ठ नेता राणासँग गरेको कुराकानी :

मुलुकले ४० औँ प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पाएको छ । अब यो सरकारमा राप्रपा सहभागि हुन्छ कि हुन्न ?
– राप्रपाले यो सरकारलाई समर्थन गरेको छ । सोहि अनुरुप नै सरकारमा सहभागि हुन्छ ।

सरकारमा जानका निम्ति मन्त्रीहरु छान्ने विषयमा नेपाली काँग्रेस र राप्रपाबिच त्यस्तो केहि सहमति छ कि छैन ?

-सरकारमा सहभागि हुँदा एउटा जिम्मेवारी बोकेर जनताको सेवा गर्न खोज्नु स्वभाविक हो । त्यो नि गर्न सकिन्छ । मुख्य कुरा त सरकारलाई समर्थन हो ।

विगतदेखि राप्रपाका अध्यक्ष कमल थापा आफ्नोे नेतृत्वमा सरकारमा जानुभएको हामीले पाएका छौँ । यसपटक चाहि अलिकति अभ्यास गर्दै विगतको भन्दा अलि पृथक विषयलाई आधार बनाई सरकारमा जाने भन्ने कुरा बाहिर आएको छ । यसलाई के भन्नुहुन्छ ?

– त्यो यहि गर्ने भन्ने ठेगान भैसकेको छैन। उहाँ जान पनि सक्नुहुन्छ र नजान पनि सक्नुहुन्छ । अध्यक्षको नेतृत्वमा जाँदा राम्रै हुन्छ । औपचारिक रुपमा सरकारमा जाने कि नजाने भन्ने निर्णय भएको छैन ।

पशुपति शमशेर राणा वरिष्ठ नेता हुदा पनि प्रकाश चन्द्र लोहनीप्रति चाहिँ झुकाव कायम नै छ भन्ने बाहिर सुनिन्छ नि के भन्नुहुन्छ ?

– त्यो गलत हो । हामी अहिले सबै मिलेर राप्रपा नै सोचिरहेका छौँ । अन्य केहि सोचेकै छैन । प्रकाश जी मित्र हुनुहुन्छ । मित्रता कायम नै हुन्छ । पार्टीको ठाउँमा पार्टी हुन्छ, मित्रताको ठाउँमा मित्रता ।

राप्रपामा केहि विज्ञहरु केहि कुरामा असन्तुष्ट छ, फेरि पनि फुट्न सक्छ भन्ने नि सुनिन्छ, के छ अवस्था ?

– छैन, अहिले त्यस्तो केहि छैन । हामी मिलेर नै अघि बढेका छौँ । मिलेर नै अघि बढ्छौँ ।

पहिलो चरणको निर्वाचनको मतपरिणामको तपाईँ आफ्नो तरिकाबाट समिक्षा गनुपर्दा कसरी गर्नुहुन्छ ?

– यो परिणाम सुखःद कुनै हालतमा भएको छैन । यसको विश्लेषण, समिक्षा गरेर अबको निर्वाचनमा राम्रो नतिजा ल्याउन हामी लागेका छौँ ।

राप्रपाले आफ्नो एजेण्डालाई बलियो रुपमा अगाडि बढाउनका निम्ति के गनुपर्ला ?
– अब यो दोस्रो चरणको निर्वाचनमा त सम्भव छैन । हामीले पुनर्विचार गनुपर्ने कुरा चाहिँ एउटा त चिह्न नै हो । गाई चिह्नले त्यति राम्रो गरेको जस्तो मलाई लाग्दैन । त्यसैले हलो चिह्नमा नै हामी फर्कनुपर्छ भन्ने सोचेका छौँ ।

दोस्रो चरणको निर्वाचनको लागि राम्रा उमेद्वारको सम्भावनाको लागि तपाईहरुले कसरी तयारी गर्दैहुनुहुन्छ ? तालमेल पनि गर्नुहुन्छ  कि?

– त्यो के गर्ने भन्ने जिम्माहामीले स्थानीय नेतृत्वलाई नै छाडिदिन्छौँ । केन्द्रबाट गरिएको तालमेलले हामीलाई सबैठाउँमा राम्रो गर्न सकेन । त्यसैले ।

अहिलेको स्थितीमा पशुपति शमशेर राणा र पार्टीका अध्यक्ष कमल थापा बिचको विषयलाई लिएर कहिलेकाहिँ टिकाटिप्पणी आउँछ, के भन्नुहुन्छ ?

– छैन, हाम्रो सम्बन्धमा त्यस्तो केहि समस्या छैन । हामी मिलेर नै बसेका छौँ । चिन्ताको विषय छैन ।

पार्टीलाई थप बलियो बनाउनका निम्ति कुनै योजना बनाउनुभएको छ ?
– हाम्रो मुख्य काम भनेको संगठनलाई बलियो बनाउनु हो । संगठनलाई बलियो बनाउन अघि बढ्यौ भने अहिले आईपरेका समस्याहरु हल हुन्छन् ।

प्रतिकृया

प्रतिकृया