२७ जेठ,काठमाडौँ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र हेर्नुपर्ने सोचमा पनि परिवर्तन हुनथालेसँगै रोजगारका लागि स–साना बालबच्चालाई छाडेर बिदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो ।

रोजगारको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै तीनसयभन्दा बढी छ ।

कतिले आफ्ना काखेबच्चालाई छोडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन् । सुकिला पोसाक, हँसिलो अनुहार लिएर काममा खटिएका यी महिलालाई देख्दा नेपाली नै हुन् भनेर ठम्याउन मुस्किल पर्छ ।

पार्लरमा काम गर्ने रहरले पाँच महिनाअघि बिदेसिएकी बुटवल मुर्गियाकी निरू परियार एयरपोर्टको सफाइ गर्ने काममा दुबई आएकी थिइन्। एयरपोर्टको शौचालयमा भेटिएकी हँसिली निरु नेपाली गीत गुनगुनाउँदै सफाइ गर्दै थिइन्। किन बिदेसिनुभएको भनी सोध्दा उनले हाँस्दै भनिन्, “दुबई आई ब्युटीपार्लरमा काम गर्ने रहर पहिलेदेखि थियो । त्यसका लागि भिसा लागेन अनि अर्को कामका लागि एकपल्ट छिरेपछि पार्लरतिर जानुपर्ला भनेर आएँ । यो काम अलिअलि गाह्रो छ, पहिला यस्तो गरेको थिइनँ ।”

निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर छ वर्षअघि दुबई छिरेकी सङ्गीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने रहेछ भन्छिन्। “बाध्यता सबैको उस्तै हो विदेश आउनुपर्ने । बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ । नत्र पेट पाल्न सकिन्न”, उनले भनिन्।

हालैको भ्रमणका क्रममा भेटिएकी उनी शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या भए पनि परदेशको ठाउँमा आरामको कुनै गुञ्जायस नभएकाले

दैनिक १२ घन्टा काममा खटिएकी थिइन्। “आराम गरे तलब आउँदैन घर फर्कौँ भने आएको वर्षदिन पुगेको छैन । बिदा पाइँदैन ।

ओभरटाइम पनि गर्नैपर्‍यो। धन्य यहाँ भित्रका अरू नेपाली दिदीबहिनीले सहयोग गर्छन्, ३६ वर्षीया सङ्गीताले बाध्यता सुनाइन्।

अबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टमा सानोदेखि ठूलो पदमा रही काम गर्ने महिलाको सङ्ख्या झन्डै तीन सयको हाराहारीमा रहेको बताइन्छ । नाम नलेख्नू है भन्दै हेटौँडाका ३० वर्षीय एक नेपाली युवाले पुरूषको तुलनामा एयरपोर्टमा महिला कामदारको सङ्ख्या बढी रहेको बताए। उनले भने, “एयरपोर्ट बाहिर त पुरुषकै सङ्ख्या बढी छ यहाँ नेपाली पुरुष २५० जना छन् तर महिला त्यसभन्दा बढी छन् ।’’ यहाँ काम गर्ने नेपालीहरू आपसमा नेपाली भाषामै आफ्ना समस्या साटासाट गर्छन् । कोही नेपालीजस्तो लागेमा सोधीखोजी गर्छन् । यहाँ काम गर्ने महिला कामदारलाई बाहिरी व्यक्तिसँग बोल्ने अनुमति छैन अझ खासगरी सुरक्षाकर्मीहरूसँग। यो कुरा सुनाउन पनि ती महिलाले बाथरुमभित्र लगेका थिए।

दुबईमा रोजगारका लागि आउने नेपाली सबै कम पढेका वा गाउँका व्यक्तिमात्र हुन्छन् भन्ने भ्रम पनि अबुधाबी एयरपोर्टमा कार्यरत क्यासियर मेरिना प्रधानलाई भेटेपछि टुट्छ। कुनै नायिकाभन्दा कम नलाग्ने प्रधानले एयरपोर्टमा समस्या परेका त्यहाँ कार्यरत रहेका नेपाली चेलीको ख्याल पनि उत्तिकै राख्छिन्। को बिरामी छ, कसलाई समस्या परेको छ, को परिवारलाई सम्झेर दुःखी छ सबै जानकारी उनीसँग छ ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनको परिवार दार्जिलिङमा छ । “पढेर सजिलै घरपायक राम्रो जागिर पाउन गाह्रो छ । धेरै ठूलो आकाङ्क्षा पनि केही छैन । दुई वर्ष भयो आएको । जे छ खुसी हुनुपर्छ भन्ने सोचेर यसैमा आनन्दित छु । कसैको रहर त घर छोड्ने हुन्न । परदेशमा सबै नेपाली आफ्नै लाग्छन् । कामले यति फुर्सद हुन्न तर मिलेसम्म म हरेक सहयोग गर्ने कोसिस गर्छु ।’

यहाँ कति दिदीबहिनी पहिलोपल्ट आउँदा अत्तालिन्छन्, उनीहरूलाई सान्त्वना दिन पाउँदा पनि खुसी मिल्ने उनको भनाइ छ । देशमा रोजगार नहुँदा बिदेसिएका नेपाली महिलाले आफूहरूले पनि घरव्यवहार चलाउन सकेकोमा सन्तुष्टि व्यक्त गरे ।

कामको सम्मान हुने भएकाले विदेशी मुलुकमा काम गर्न सजिलो भएको नेत्रा कार्कीले बताइन्। “हामीलाई आफ्नो देशमा काम गर्न कठिन छ तर हामीलाई यहाँ सजिलो छ” – उनले भनिन्।

एयरपोर्टमा कार्यरत महिलाले अन्यत्रभन्दा बढी कमाइमात्र गर्दैनन्, व्यक्तित्वसमेत गजबले विकास गरेका छन् । मेरिना प्रधानका अनुसार विश्वका मानिसको आवतजावत हुने भएकाले यहाँ काम गर्ने हरेक महिलाको व्यक्तित्व र आत्मबल उच्च छ ।

प्रतिकृया

प्रतिकृया