राजपा महासचिव : मनिषकुमार सुमन

सरकारलाई हेक्का होस्, मधेस अब एक बलियो पक्षका रूपमा स्थापित भएको छ। मधेसको प्रतिनिधित्व राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले मात्र गर्छन्। कांग्रेस, एमाले, माओवादीलगायत पार्टीले पछिल्लो संविधानसभा निर्वाचनमा सभासद् उल्लेख्य संख्यामा जिताए पनि मघेसी जनताको भावनाको प्रतिनिधित्व गर्दैनन्। उपेन्द्र यादवको आत्मसमर्पण मात्रले सरकार कथित विजयोन्मादमा रमाइरहेको छ। स्मरण रहोस्, दलाई लामाको सहभागिताबिना चीनको तिब्बतमा हुँदै आएको निर्वाचन, प्रतिपक्षी पार्टीको सहभागिताबिना बंगलादेशमा सम्पन्न हालैको निर्वाचन, नेपाली कांग्रेसको सहभागिताबिना ३० वर्षको पञ्चायती व्यवस्थाको निर्वाचन, कांग्रेस एमालेलगायत दलको सहभागिताबिना शाहीकालको नगर निर्वाचनहरू जसरी अर्थहीन थिए त्यसैगरी आसन्न निर्वाचनको पनि फरक हविगत हुने छैन।

मधेस राजनीतिमा उपेन्द्र यादव मेरा पनि श्रद्धाका पात्र हुन्। पछिल्ला दिनका उनका अभिव्यक्ति र क्रियाकलापले उनीप्रतिको मेरो श्रद्धामा कमी त ल्याउन सक्छ, निमिट्यान्न पार्न भने सक्दैन। गजेन्›नारायण सिंहद्वारा जारी दलगत आधारीय मधेस राजनीतिमा उपेन्द्रको श्रम र कार्यकुशलताको शैलीले एक नयाँ आयाम थपिएकै हो। झण्डै ३ प्रतिशत मधेसी जनता पनि आफ्ना मागको समर्थनमा मतदान नगर्ने मधेस र थरूहट भूभागमा १२.६५ प्रतिशत जनता पछिल्ला निर्वाचनमा मताधिकार प्रयोग गरी मधेस मुद्दामा ऐक्यबद्धता जनाउने अवस्थामा पुग्नुमा महन्थ, राजेन्द्र उपेन्द्रहरूको योगदान अतुलनीय छ नै। झन् मधेसको मागका खातिर सडक आन्दोलनमार्फत लाखौं मधेसी जनतालाई सडकमा ओरालेर चित्कार लगाउन प्रेरित गर्ने उहाँहरूको कला गज्जबको छ। उपेन्द्रको तर्क कला, अहोरात्र खट्ने बानी र संगठन क्षमताको प्रशंसा नगर्नु कन्जुस्याइँ त हुने नै छ, राजनीतिक बेइमानी पनि हुनेछ।

गत असार ५ गते रिपोर्टस क्लबको साक्षात्कारमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि ‘सरकारबाट मोटो रकम बुझी कथित स्थानीय निर्वाचन मा सहभागी भएको’ तथ्य सार्वजनिक गरेपश्चात उपेन्द्रका आसेपासे आत्तिनुलाई स्वाभाविक ठानेको छु। नेताको अन्धभक्ति गर्ने मूर्ख कार्यकर्ताले नै पार्टी र देश बिगारेका हुन्। अहिले सामाजिक सञ्जाललगायतका ठाउँमा दासत्व मानसिकताका ती झोले कार्यकर्ताको आक्रोशलाई स्वाभाविक लिन सकिन्छ।

मा. उपेन्द्र यादवको सचिवालयबाट केही सञ्चारमाध्यममा सम्प्रेषित ‘….आरोप पुष्टि गर्न वा मधेसी जनतासँग आममाफी माग्न…’ जस्ता जिज्ञासाको जवाफ दिएकै छु। यद्यपि यादवले ‘मैले त्यस्तो कुनै विज्ञप्ति र प्रेस नोट कहीँ कुनै सञ्चारमाध्यमलाई पठाएको छैन, म आफ्नो जिज्ञासा सिधै महन्थ ठाकुरसमक्ष राख्न सक्छु’ भन्ने प्रतिक्रिया दिइसकेका छन्।

तर पछिल्ला (वैशाख दोस्रो साता यता) दिनमा अचानक उपेन्द्रमा आएको राजनीतिक परिवर्तन सबैका लागि शोधको विषय हो। यद्यपि संघीय समाजवादी फोरम नेपालले आफू आबद्ध संघीय गठबन्धन एवं संयुक्त लोकतान्त्रिक मघेसी मोचाका सहयात्री दलहरूको आँखामा धुलो छ्याप्दै निर्वाचन आयोगमा दल दर्ता गराउनुभयो। र, निर्वाचनमा उम्मेदवार मनोनयन पत्रमा गरिने हस्ताक्षर नमुना निर्वाचन आयोगमा दर्ता गराउनु सन्देहास्पद त थियो नै, झन् सहयात्री दलहरूलाई अत्तोपत्तो नै बेगर वैशाख १६ गते नयाँ शक्ति पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोगको अनुमति दिनुभयो। त्यतिमात्र हैन, वैशाख १९ गते प्रथम चरणको स्थानीय निर्वाचनका लागि लज्जास्पद हार निश्चित रहेका ठाउँहरूको विभिन्न पदमा आफ्ना उम्मेदवार उठाउनु आश्चर्यजनक रह्यो। सहयात्री दलहरूले संघीय गठबन्धनको संयोजक पदबाट हटाएको सजायका कारण होस् वा आत्मानुभूतिले तर उपेन्द्र सर तत्पश्चात ‘संविधान संशोधनबिना मधेसमा चुनाव हुन दिँदैनौं’ भन्ने अभिव्यक्ति दिन भ्याएकै थिए।

निर्वाचनमा सहभागी भए पनि प्रथम चरणअन्तर्गतको कुनै ठाउँमा चुनाव प्रचारप्रसारमा नगएका उपेन्द्रको ‘माग पूराबिना मधेसमा निर्वाचनको कल्पना नगर्न’ सरकारलाई दिइएका चेतावनी सरकारको टाउको दुखाइको विषय थियो भने मधेसी जनताका लागि एउटा ‘आश’। तर प्रसंग जेठ ७ गतेको– जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा जनकपुर टुडे पत्रिकाको एक भव्य कार्यक्रम। जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न नेता निम्त्याइएका थिए। उपेन्द्र दुई दिनपहिलेदेखि नै जनकपुरमा आफ्ना सांगठनिक गतिविधि गरिरहेका थिए। प्रचण्ड जेठ ७ गते सरकारी हेलिकोप्टरबाट जनकपुर ओर्लनासाथ रामा होटलमा उपेन्द्र यादवसँग अति गोप्य भेटघाट गरेका थिए। त्यसपछि सञ्चारकर्मीको आँखा छल्दै होटलपछाडिको ढोकाबाट उपेन्द्र बाहिरिनु र तत्पश्चात नै उनको आन्दोलनकारी क्रान्तिकारी बोलीहरू निर्वाचन समर्पित महान् राष्ट्रवादीका रूपमा फेरिनु के मधेस आन्दोलनकर्मीका लागि शोधको विषय होइन?

बालुवाटार बैठकबाट बाहिरिँदा सधैं सञ्चारकर्मीसँग बोल्न लालायित हुने उपेन्द्र किन अनुहारमा अपार मुस्कान भए पनि सञ्चारकर्मी वा कसैसँग आँखा जुधाउन सक्नुभएन? र, यो घटनाक्रमपश्चात आफूलाई माला लगाउने जनतालाई भूमिपुत्रबाट कसरी कालो झण्डा देखाउनेबित्तिकै ‘पारिबाट आएको’ देख्न थाले? उपेन्द्रले वर्षाैं संगत गरेका राजेन्द्र महतो अचानक भारतीय नागरिक कसरी देखिन थाले? निर्वाचन बहिष्कारमात्र, होइन बिथोल्न मधेसीलाई अभिप्रेरित गर्ने उपेन्द्र किन अचानक ‘रेनकोट र छाता’ ओढेर मतदानमा जान आह्वान गर्न थाले? मधेसको माग पूरा नहुन्जेल चुनाव नगर्न चेतावनी दिने व्यक्ति किन सरकारलाई उल्टै बम, बारूद र गोलीको बलमा मधेसमा चुनाव गराउनुपर्ने सल्लाह दिन थाले?

संविधान संशोधन गर्ने अरुका मागलाई समेत उछिनेर ‘पुनर्लेखन’ गर्नुपर्ने माग राख्ने उपेन्द्रले आमजनतामाझ कट्टर, दृढ र आफ्ना मागप्रति अति नै समर्पित नेताको छवि बनाएका थिए। तर आफ्ना १२४ जनाभन्दा बढी सखालाई शहादत दिलाएका उनै उपेन्द्र केहीलाई सहिद घोषणा नगर्दै, क्षतिपूर्ति नदिँदै, स्थानीय तहको असमान वर्तमान संरचना नसच्याइँदै, आफ्नै आह्वानअनुसार भएको आन्दोलनका क्रममा जेल परेका, मुद्दामा अल्झाइएका र संविधानको ‘स’ पनि संशोधन नभएको वर्तमान अवस्थामा कसरी सरकारसमक्ष सहजै घुँडा टेके? आमकौतुहलताको विषय यही हो।

तसर्थ मा. उपेन्द्र यादवलाई विशेष आग्रह– कृपया जेठ ७ गतेको रामा होटल भेटघाट सार्वजनिक गर्नूस्। सक्नुहुन्छ भने प्रचण्डलाई दिएका वचन र प्राप्त ठेली फिर्ता गर्नूस्। आत्माको सुन्नूस्, आसेपासेको होइन, सहिद परिवारको रोदन सुन्नूस्, प्रचण्डको ओलझोल होइन, आफैँ उठाएका माग र मुद्दाका लागि पुनः दृढ हुनूस्, मुखिया र मेयरका लागि होइन।

प्रतिकृया

प्रतिकृया