-वसन्त प्रकाश उपाध्याय

अनुत्तरित छन् अनेकौं ‘साझा–सवाल’हरु यहाँ । जवाफ खोज्ने फुर्सद छैन हामीलाई । बोल्न जानेका छौं हामीले र ‘बकबक’ गर्दछौं जहींतहीं ।

हामीले कहिल्यै बोलेनौं – जाबो पोलियो थोपा नपाएर दह्रो उभिन नसकेका खुट्टाहरुको पीडामाथि । हामीले कुनै दिन हतार गरेनौं – ‘आयो–नून’ नपाएर घाँटीमा झुण्डिएको ‘गलगाँड’को मर्मबारे बोल्न । लाखौं आँखा त्यत्तिकै ‘रतअन्धो’को शिकार बने । हज्जारौं–हज्जारको ‘आङ’ त्यत्तिकै खसिरह्यो, हामी चुपचाप बस्यौं ।

एकदिन अचानक छोरीको स्कुलबाट फोन आयो । खबर सुनें– ‘छोरी लडिछिन् ।’ होसहवास गुम भयो । दुष्कल्पनाका अनेकन् ‘ज्वार’ चले मनमा । घण्टा पनि नलगाएर स्कुल पुगें । खेल्दै गर्दा लडेर थोरै दछारिएको रहेछ । घर–परिवार र परिवेशलाई कति धेरै माया गर्छ मान्छे ! थोरै चोटमा मन मस्तिष्क कसरी उद्वेलित हुन्छ ! कसले खप्न सक्छ – आफ्ना दरसन्तानको पीडा !

ठ्याक्कै त्यसैगरी होइन, त्योभन्दा भयानक र हृदयविदारक परिवेशमा एकताका एउटा अभिभावकले भोगेका थिए – असीम पीडाको उहापोह । सर्सराउँदो, स्फूर्त र स्वस्थ्य शरीर र वचन बोकेर राजधानीबाट फर्केको छोरोसँग पाशविक यातानाले ‘बुलन्द–आवाज’ लुटेको थियो । कल्पना गर्न सक्छ कोही ? अस्तिसम्म दमदार बोल्ने जीब्रो हराउँदा कसरी सहे होलान् ? ती अभिभावकले ।

रोएर आँसु सकिन्थ्यो होला । कराउँदा स्वर भासिन्थ्यो होला । बुझाउनुपर्ने एउटै चित्त थियो र उनीहरुले चित्त बुझाए । परिवर्तनकामी समरले आवाज लुटे पनि शरीर नासिएको थिएन । युद्ध मैदानमा भाग्ने ‘स्याल’हरुभन्दा धेरै–धेरै बहादुर ‘शेर’ थियो ऊ । मुलुक–मुहार फेर्न हिंडेको छोरोमाथि गर्व गरे अभिभावकले ।

समयक्रममा यही पीडामाथि ‘धावा’ बोलिरहेछन् मान्छेहरु । सबै ‘सवाल’का जवाफ सुन्ने फुर्सद छैन हामीलाई । परिवर्तन–पीडाको एक लठ्ठी पनि नभोगिकन हामीलाई ‘मिष्टर–नेपाल’ बन्ने शरीरमा फूर्ति गर्नु छ । के जिन्दगीले टेलिभिजन स्क्रिनमा देखिने समाचार–वाचकको झैं ‘माइक अनुकूल’को स्वरलाई मात्रै स्वीकार्ने हो र ?!

जतिसुकै कुरुप विम्ब बनाइयोस् – ‘मेरी बास्सैमा सुकुनारायण र हर्के हल्दार’लाई । ती सामाजिक संरचनाका प्रतिनिधि पात्र हुन् । उनीहरुमाथि हाँस्नु बेकार छ ।

भ्रम छ कैयौंलाई । उनीहरुले ठानेका छन्– युवावयको गालाजस्तै समय सधैं ‘चिल्लो–चाप्लो’ रहन्छ । बालहठको खोजीजस्तै दिनहरुमा सधैं ‘मिठास’मै बित्छ । अचेल अलि भ्रान्ति छ दंगल–परिवेशलाई । उनीहरुलाई पत्तो नै छैन – ‘गेष्ट र होष्ट’ बीचको फरक । उनीहरु त्यसैले हायलकालयल गराउन उद्यत बन्छन् । पाहुना बोलाएर आयोजकले तथानाम गर्ने प्रवृत्ति हावी देखिन्छ यत्रतत्र ।

– ‘दाइ ! एउटा कुरा सोधुँ ?’ दिपेश भाइले भने ।
– ‘भन न , के भाइ ?’ मैले जवाफ दिएँ ।
– ‘तपाईं यहाँसम्म कसरी आइपुग्नुभयो ?’ उनले थपें ।
– ‘लामो छ कथा । तिमी सुन्छौ ?’ मैले हाँस्दै भनें ।
– ‘धेरैबेर लाग्छ भने त भो नसुनौं ।’ दिपेश हतारिए ।

हो, अहिले यस्तै दिपेश जस्तै ‘हतार’मा रहेका ‘भाइहरु’ छन् । जसलाई धेरै प्रश्नहरु त गर्नु छ तर जवाफ सुन्ने ‘फुर्सद’ चाहिँ छैन ।

प्रतिकृया

प्रतिकृया