-राज ढुंगाना

२१ असार,धादिङ । काठमाडौँ र धादिङको सिमाना ठुलोखोला–रमाईलोचौर सडक खण्डको काममा ढिलासुस्ती हुँदा यहाँका जनता मारमा परेका छन । दक्षिणी भेगको महत्वपुर्ण भुभाग र धुनिवेशी नगरपालिकाको वडा नम्बर १,२ र ३ हुँदै भविष्यमा गल्छि सम्म जोडिने यो खण्डमा ठेकेदारले काममा चासो नदिँदा तिन वर्षे योजना लम्बिने संकेत देखा परेको छ । गत आर्थिक बर्षमा १७ करोड ४९ लाखको टेण्डर परेकोमा नाना कन्ट्रक्सनले झण्डै पौने १४ करोडमा ठेक्का पाएको थियोे । तिन बर्षको अवधी पाएको नानाले कामको सुरुवाती चरणमै ढिलो गर्दा स्थानिय जनता आक्रोशित भएका छन ।

एक बर्षमा १५ प्रतिशत पनि काम भएन

झण्डै ठेक्का परको १ बर्ष बित्दापनि नाना कन्ट्रक्सनले १५ प्रतिशत काम पनि नगरेको स्थानिय समाजसेवी रविन भुजेलले बताए । उनले ठेकेदारले सजिलो ठाँउमा मात्र कटिङ गरेको र ट्रनिङमा ९.५ मिटर चौडा हुनुपर्नेमा झण्डै ७ मिटर पनि चौडा नगरिएको बताए । उनले भने-‘यो सडक नाली कटाएर ७.५ मिटर र ५ मिटर पिच हुनुपर्ने छ ।’ भुजेलले भने-‘यती बर्षाको समय छ, तर ठेकेदारको लापरबाहीले विरामी परेको बेला एम्बुलेन्स समेत जान सक्ने अवस्था छैन ।’ उनले बर्षको समयमा सामान्यरुपमा बाटो सञ्चालन समेत नगरेर जनतालाई दुख दिएको बताए ।

‘हामी ताकेता गरिरहेको छौ, तर उहाँहरु ढिलो गर्दै हुनुहुन्छ’ : मधुसुदन शाखी (धादिङ साईट प्रमुख)

भरतपुर सडक डिभिजन कार्यालय अन्तगर्त धादिङ साईट प्रमुख मधुसुदन शाखीले काममा ढिलाई भईरहेको बारेमा ताकेता गरिरहेको बताएका छन । उनले भने-‘नानाले भिओ (भेरियसन अर्डर) अन्तर्गत सडकको दाँयाबाँया कटिङ १,०७,००० घनमिटर गरेता पनि डिपिआर गर्दा जम्मा १२ हजार रहेकोले दुईपक्षको भियो फरक परेर काम राकिएको बाहना बनाएको छ,’उनले थपे -‘त्यही कारण उसले काममा ढिलाई गरिरहेको छ ।’ शाखीले झण्डै पौने १४ करोड रुपैयाको बजेटको काम करोड,दुई करोडमै सक्न खोज्ने मानसिकताले पनि काममा लापरवाही भएको बताए । उनले भने -उहाँहरुले सजिलो ठााउमा मात्र काम गर्नु भएको छ । अप्ठ्यारो ठाँउको काम छोड्नुभएको छ । हामीले निरन्तर ताकेता गरिरहेको छौँ ।’

सांसद राजेन्द्र प्रसाद पाण्डेले दिए चासो

सांसद पाण्डेको अगुवाईमा शनिबार मात्र ठेकेदार, भरतपुर डिभिजन प्रमुख र सरोकारवाला सहितको टोली पाण्डे निवासमा सडकको विषयमा छलफल गरिएको छ नेता पाण्डेले कुनैपनि बहानामा जनताको प्रत्यक्ष सरोकार रहेको विकास निमार्णको काम रोकेर ठेकेदारले गल्ति गरेको बताउदै ठेकेदारलाई जतिसक्दो चाँडो काम सक्न आग्रह गरेका छन । उनले बाटोको लागि प्रशस्त बजेट छुट्टाएका कारण कामको गुणस्तरमा समेत गम्भिर ध्याान दिन आग्रह गरे । सडकको काम र गुणस्तरमा ख्याल राख्न सडक डिभिजनलाई आग्रह गरे ।

वडा अध्यक्ष तामाङ भन्छन– ठेकेदार चिन्नै सकिन्न

यो सडकको सम्पुर्ण भाग धादिङको धुनिवेशी नरगपालिकाको वडा नम्बर १ र २ मा पर्छ हेडलाईन नेपालसंग वडा नम्बर १ का अध्यक्ष चन्द्र बहादुर तामाङले काममा ठेकेदारले समन्वय नगरेको बताएका छन । उनले साईटमा जो पनि मै ठेकेदार हुँ भन्दै आउछन ठेकेदार चिन्नै गाह्रो भएको छ । तामाङले भने-‘जनप्रतिनिधिको हिसावले बाटो कहिले बन्छ ? भन्दै स्थानिय जनताले चासो राख्दा समेत आफुलाई बताउन गाह्रो परेको बताए । उनले ठेकेदारले सजिलो काम मात्रै गरेको र गाह्रो काम छोड्दै हिँडेको बताए । विभिन्न बहाना गर्दा बर्षमा खुट्टाले समेत हिड्न नसकिने अवस्था रहेको बताउदै मोटरसाईकल समेत गुडाउन नसक्नेगरी सडकलाई विकराल अवस्थामा पुर्याएको बताए ।

डिभिजन सडक कार्यालयकै कारण ढिलाई : ठेकेदार

डिभिजन सडक कार्यालयले भिओ पारित नगराउदा सडकको काम अघि बढाउन गाह्रो परेको नाना कन्ट्रक्सनका रमेश श्रेष्ठले बताए । उनले सडक कार्यालयले डिपिआर गर्दा भेरियसन अर्डर कम तथ्याङ्कमा देखाए पनि काम गर्दा त्यसको परिणाम बढी आएको बताए । उनले १२००० घनमिटिरको तथ्याङ्क सडक कार्यालयले बनाएको र काम गर्दा त्यसको परिमाण बढेर १,०७००० पुगेको बताए । उनले भेरियसन अर्डरको काम चाँडै टुङ्गो लगाए सडक निमार्णले गति लिने बताए ।

उनले थपे-‘यो सडकमा दाँयाबाँया विद्युतका २२ वटा पोलहरु छन, हामीले पुसमै विद्युत प्राधिकरणलाई पोल हटाईदिन आग्रह गरेको थियौँ तर अहिलेसम्म त्यो काम अघि बढेको छैन । यसले गर्दा पनि काम गर्न ढिलाई भएको हो ।’ श्रेष्ठले थपे -‘गाँउको सडकमा केही घरटहरा ९ मिटर भित्रै रहेका छन तर त्यो पनि अहिलेसम्म हटाईएको छैन, जसले गर्दा हामीलाई काम गर्न अप्ठ्यारो परेको छ । उनले जतिसक्दो चाँडो भिओ पारित हुन्छ त्यती छिटो काम अघि बढ्ने बताए ।

तस्विर: राज ढुंगाना

प्रतिकृया

प्रतिकृया