-वसन्त प्रकाश उपाध्याय

‘धेरै’ दिनदेखि ‘धेरै’ मान्छे ‘केही’ कुरामा लागिरहेछन् । दोस्रो चरणको चुनाव गरायो– वर्तमान सत्ता संयन्त्रले । थोरै ‘मतगणना’ अझै जारी छ । तर त्यो प्राप्ति बिर्सेर साझा–चासोको नाममा व्यक्तिगत–लालसा छरपष्ट पारिएको छ ।

झरी–बादलको मौसम हो यो । केही ठाउँमा देखिनेछन् बाढी– पहिरो । त्यो प्राकृतिक विपदको आरोप पनि एक दिन वर्तमान संरचनालाई लगाइन सक्छ । सवारी–चापले धसिने सडकभन्दा बढी निर्मम तरिकाले ‘कलम’हरु धसिएका छन् । फुर्सदै–फुर्सदमा वेफुर्सद रहेर सामाजिक–सञ्जाल सद्भाव र स्नेह विगार्न उद्यत छन् ।

हिजोका दिनमा गुरुहरुलाई गणना नगर्ने विद्यार्थीहरुले आज पर्व पारेर अनुराग छताछुल्ल पारेका छन् । ‘एई…!’ भन्दा ‘होई…!’ गर्दैनथे केही मान्छेहरुले महतोजीहरुलाई । तर परिवेश के मिल्न लागेको छ उनीहरु साखुल्ले –शिष्य बनेर ‘चाय’ का लागि बोलाइरहेछन् बालकोटतिर ।

बनाउनभन्दा बिगार्न मज्जा मान्नेहरु थुप्रा छन् । अचेल जानुस् त वालुवाटार । त्यहाँको घना रुख बोट विरुवा कस्तरी फाँडिएको छ । ‘रुख’ स्वीकार्य नभएर हो कि शितलता विरुद्ध उष्णता बढाउन ओली माड’सापले काट्न लगाएका हुन् ? त्यसको पत्तो छैन । तर यो निहुँ अहिले पाइएको भए त्यो ‘भाइरल’ होइन ‘भाइरस’ नै बनाउँथे धेरैले ।

सजिलो काम रहेछ– आगोमा घ्यू हाल्नु । कसले–कसरी कति दुःख बगाएर मुढा जुटाएको हो ? त्यो पनि हेर्नु नपर्ने । अनि कुन कर्मका लागि ‘अग्नि’ जगाइएको हो ? त्यसको महत्ववोध समेत गर्नु नपर्ने । सुकर्ममा व्रतवन्धको सेल पकाउन बालिएको आगो हो या सराद्धेको पीण्ड पकाउन जगाइएको आगो हो ? हेर्दै नहेरी ‘स्वाहा’ गरे भइहाल्यो ।

जीब्रो चल्छ कसैको । कोही कान कम सुन्छन् । कसैलाई दौरा सुहाउँछ । कोही कुर्था पाइजामामा रमाउँछन् । स्वभाव र शरीर बेग्लावेग्लै हुन्छन् । तर केही पढेको मान्छेलाई पक्कै थाहा हुन्छ– विज्ञप्ति र वक्तव्यको फरक । मनगढन्ते चियोचर्चामा यहाँ जुन रुपले ‘तील’लाई पहाड बनाइएको छ । त्योभित्र लुकेका छन् धेरै किसिमका आशयहरु ।

यहाँ धेरै चिज ‘प्रायोजित’ हुन्छन् । यतिखेर नै किन किन्न लागिएको हो ? १६ करोड मूल्यको गाडी घोडा । कसैको नामलाई बद्नाम गराउन भरिएको हुनसक्न माग–फारम । जागेका छन् केही नगदेवालीका कृषकहरु न्यायपालिका–कार्यपालिका कमजोर बनाउन । कार्की र देउवा त्यही सवालको शिकार बने । एकदिन फेरि डलर साट्न ‘मनी चेञ्जर’हरुले पछ्याउनेछन्– सोझी रोल्पाली सभामुखलाई । यो निर्विवाद सत्य हो, यहाँ ‘नेपाली’ भएर मात्रै बाँच्ने छूट हामीबाट क्रमशः खोसिँदैछ । धर्म त्यसै ‘निरपेक्ष’ बनाइएको होइन । देख्छौं हामी केवल लमतन्न सुतेको हाम्रो भू्गोल र उत्तर–दक्षिण । यहाँ त हामीलाई सक्न–सकाउन पर–परका भूमण्डल र प्रमण्डलबाट सोझ्याइएका छन्– भयंकर–भयंकर क्षेप्यास्त्रहरु । हामी त्यसैको खोक्रो ‘नाल’ भएर आकाशतिर फर्कदै थुकिरहेका छौं ।

प्रतिकृया

प्रतिकृया