२ साउन,भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका(५ याकुकी ११ वर्षकी एक बालिका गर्भवती भएपछि गाउँ निकाल गरिएको छ । छिमेकी २० वर्षका दुर्गाबहादुर श्रेष्ठले ललाई फकाइ बालिकासँग शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएको स्थानीय बासिन्दाले बनाएका छन् ।

गाउँनिकालापछि धरान गएकी बालिका भने बिचल्लीमा परेकी छिन् । उनको बुवा नेवार र आमा दलित समुदायको भएकोले केटा पक्षले दलितको छोरी नभित्राउने भन्दै धम्की दिएपछि बालिकालाई गाउँनिकाला गरिएको हो ।

बालिकासँग ०७३ साल पुस ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । घटना बाहिरिएपछि दुर्गाले बालिकालाई धरान लिएर गए पनि त्यहाँ पुगेपछि उनी भागेका छन् । बालिकाको विचल्ली भएको छ ।

‘६ महिनाको गर्भवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो’ बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने, ‘उनीसँगै साथी गएको केटा दुर्गाबहादुरको अत्तोपत्तो छैन । छोरी धरानमा अलपत्र परेकी छिन् । छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे रे’ बुवा खगेन्द्र श्रेष्ठले गहभरी आशु पार्दैै भने ।
‘अन्तरजातीय विवाह गरेका कारण समाजले पनि मलाई न्याय दिएन’ खगेन्द्रले भने, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक र धम्की दियो । हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर ।’

स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा–७ मा पढ्ने छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उनले भने, ‘गाउँ समाजले छोरीलाई समाजबाट नै हटाउने कुरा गरे । मैले केही बोल्न सकिनँ ।’

बालिकाकी माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परिक्षणका लागि लाँदा गर्भवती भएको पाइएको बताए । घलेले महिलासमेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको जानकारी दिए । प्रहरी चौकी याकुमा गएर सहयोग माग्दासमेत सहयोग नपाएको परिवारले बताएको छ ।

याकु प्रहरी चौकीका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर बिहे गरिदिने निर्णय भए अनुसार काम गरिदिने बताएको छन । प्रहरीले मेलमिलाप गराउने बताएर आफू पन्छिन् खोजेको छ । गाउँमै बस्ने वातावरण बनाउन प्रहरीले असहयोग गरेको आफन्तले गुनासो गरेका छन् ।महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताए । यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिकृया

प्रतिकृया