२ साउन, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गरेका छन् । त्यसअघि उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

सपथ लगत्तै सर्वोच्च अदालत आएर पराजुलीले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाएर सर्वोच्च अदालत आउँदा पराजुलीलाई कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए ।
२७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनेछन् । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए ।

यसअघि महाअभियोग लागेर प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि पराजुलीले केही दिन कार्यवाहक प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए ।

हिजोको कुरा छोडिदिऊँ, म पारदर्शी र उदार दिलको छुः पराजुली
नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशहरुलाई ओभरटाइम गराउने योजना अघि सारेका छन् । साथै दीपकराज जोशीलाईर् आफ्नो उत्तराधिकारी भन्दै उनले दुबै एक भएर काम गर्ने बताएका छन् ।
सोमबार राष्ट्रपति विद्या भण्डारीसामू सपथ लिएका पराजुलीले सर्वोच्च पुगेर पदभार ग्रहण गरे । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश पराजुलीले ३९ बुँदे कार्ययोजना अनुसार नै अघि बढ्ने बताए ।

असनका पुराना घरहरु ढलेनन् तर एक्लो घर किन ढल्यो भन्दै पराजुलीले सँगै रहेको जोशीतिर हेर्दै भने, ‘मेरो सहयोगी वरिष्ठ न्यायाधीश हुनुहुन्छ, उत्तराधिकारी साथी पनि हो । हामी एउटै उद्देश्यका साथ मैले जुन प्लान लिएर आएको छु, यसमा कुनै विमति छैन । हामी दुबै एक ढिक्का भएर सहकार्य हुन्छ ।’

अतिरिक्त समयमा न्यायाधीशले ऐच्छिक रुपमा काम गर्ने भन्ने करिव(करिव सहमति भएको भन्दै उनले, अतिरिक्त काम गरेर भएपनि जनतालाई सेवा दिन सबै न्यायाधीश लालायित हुनुहुन्छ ।’

प्रधानन्यायाधीश पारदर्शी र उत्तरदायी होस् भन्ने सञ्चारकर्मीहरुले हेर्न चाहेको भन्दै उनले त्यो पूरा गर्ने बताए । उनले भने, ‘कसले के प्रकाशन गर्‍यो, के गर्‍यो हिजोको कुरा छोडिदिऊँ । म पारदर्शी, एकदम उदार दिलको र कहि कुनै ठाउँमा आफ्नो कर्तव्यबाट च्युत नहुने र उत्तरदायीपूर्ण काम गर्छु ।’

उनले आफू आग्रह पूर्वाग्रहबाट परिचालित नहुने र आफ्नो उद्देश्यप्रति प्रष्ट रहेको दाबीसमेत गरेका छन् ।

आफ्ना व्यक्तिगत र ठूला योजना नभएको भन्दै प्रधानन्यायाधीश पराजुलीले व्यवहारिक र कार्यान्वयन योग्य कार्ययोजना अघि सारिएको बताए । उनले भने, ‘पद्दति र प्रणालीलाई भुलेर ठूलो उपलब्धि हासिल गर्न सकिँदैन ।’

एक महिनाभित्र संवैधानिक इजलास गठन गरिसक्ने तथा अदालतमा रहेका कमीकमजोर सुधारबारे विगतको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्दै जाने उनले बचन पनि दिएका छन् ।

प्रतिकृया

प्रतिकृया