२ साउन, चितवन । २०७५ सम्ममा निर्माण पूरा गरिसक्ने भनिएको नारायणगढ–मुग्लिन सडकखण्ड बिस्तारको काम लगभग ठप्प भएको छ । असार महिना लागेदेखि नै काम सुस्त बन्दै गएको यो सडकखण्डको काम पछिल्ला दिनहरुमा लगभग ठप्प छ । सडकखण्डमा न त काम गर्ने मजदुर नै देखिन्छन् न त कुनै काम नै भएको छ ।
अहिले सडकखण्ड निर्माणका लागि जम्मा ८३ जना मात्रै कामदार छन् । अधिकांश कामदारहरु घर फर्किएका छन् । केही स्थानमा डोजरहरु राखिएका छन् पहिरो आए पन्छाउनका लागि भन्दै । गएको असार २५ गतेदेखि रातीको समयमा सडक बन्द गरेपछि दिउँसोको समयमा सडकमा सवारी चाप पर्न थालेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर सडक निर्माणको काम गरिएको भनिए पनि सन्तोषजनक हुन सकेको छैन ।

ठेक्का अवधि सकिन ४ महिना बाँकी रहँदा जम्मा ५०.४ प्रतिशत मात्रै काम भएको छ । अहिले दिउँसोको समयमा दोहोरो सवारी साधन कुदने भएकाले काम लगभग ठप्प भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सामान्य मर्मत बाहेक अरु काम हुन नसकेको इन्जिनियर खनालले स्वीकार गरे । कहिलेसम्म रातीमा सडकबन्द हुन्छ भन्ने एकीन पनि छैन ।

अझै २ महिनासम्म सडक रातीको समयमा बन्द हुने र दिउँसोका समयमा सवारी चापका कारणले काम नहुने देखिएको छ । ठेकेदारहरुले स्थानीय प्रशासन र संसदको विकास समितिले रातीको समयमा सडक बन्द गरिदिँदा दिउँसोको समयमा काम गर्न नपाएको बाहानाबाजी देखाएर यसलाई म्याद थपको एक ‘टुल’का रुपमा प्रयोग गर्ने देखिएको छ ।

पछिल्ला दिनहरुमा ठेकेदारहरुले कालिखोला लगायतका क्षेत्रमा आउने पहिरो पन्छाउने र केही स्थानमा परेका खाडल पुर्ने बाहेक अरु काम खास गरेका छैनन् । वर्षातको समयमा काम गर्न नसक्ने यसअघि नै जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा ठेकेदारहरुले बताइसकेका थिए ।

पछिल्लो समय पहिरोका कारण ठाउँ-ठाउँमा सडकको भित्तामा लगाइएको ग्याविन पनि भत्किएको छ । ठाउँ-ठाउँमा पहिरो सडकमै झरेको छ । पहिरोको अति जोखिम क्षेत्र यो सडकखण्डमा २९ ठाउँमा छ । यस बर्ष मात्रै पहिरोमा पुरीएर ८ जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया

प्रतिकृया