१६ साउन, काठमाण्डौँ । आफु प्रधानमन्त्रीमा निर्वाचित भएको डेढ महिना पश्चात मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री शेर बहादुर देउवाले केही सहयोगीहरु नियुक्ती गरेका छन् भने अझै केही सहयोगी नियुक्ती गर्न बाँकि देखिन्छ ।

प्रमुख स्वकिय सचिव, दुई जना स्वकिय सचिव, परराष्ट्र सल्लाहकार र प्रेस संयोजक नियुक्ती गरेका देउवाले राजनीतिक सल्लाहकार, आर्थिक सल्लाहकार लगायत नियुक्ति गर्न सकेका छैनन् ।

नजिकिदो भारत भ्रमणलाई ध्यानमा राखी अब छिट्टै नै आफ्ना सहयोगीहरुको टिमलाई प्रधानमन्त्री देउवाले पूर्णता दिने बताईन्छ ।

राजनीतिक सल्लाहकार लगायतका पदमा नियुक्त हुन देउवा निकटस्थ थुप्रै आकांक्षी भएकाले देउवालाई सहयोगी र सल्लाकार नियुक्ती गर्न गाह्रो परेको विश्लेषण छ ।

पार्टीका केन्द्रिय सदस्य, सांसद तथा पूर्व मन्त्रीहरुले समेत प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्ती खाने चाहना राखेपछि प्रधानमन्त्रीलाई सल्लाहकार नियुक्ती गर्न थप जटिलता परेको हो ।

प्रधानमन्त्रीको सचिवालय हाल राम्रोसँग सञ्चालन भैरहेको बताउने एक थरी छन् भने एक थरीले सहयोगी र सल्लाहकारहरुको टिमलाई प्रधानमन्त्री देउवाले तत्कालै पूर्णता दिनुपर्ने बताउँछन् । जे भएता पनि प्रधानमन्त्री देउवा तत्कालै राजनैतिक सल्लाहकार लगायतका पदमा आफु निकटस्थलाई नियुक्ती गर्ने मुडमा देखिएका स्रोतले बतायो ।

राजनैतिक सल्लाहकारमा कस्को सम्भावना बढि ?

देउवा प्रधानमन्त्री भए लगत्तै देखि काँग्रेसका प्रभावशाली युवा नेता विश्व प्रकाश शर्माको नाम राजनैतिक सल्लाहकारको रुपमा चर्चामा रह्यो । शर्माको नाम सामाजिक सञ्जालहरुमा त छ्याप्छ्याप्ती नै आयो । शर्मालाई नजिकका साथीभाई आफन्तले बधाई समेत दिन भ्याए । शर्मा हालसम्म नियुक्तीको प्रतिक्षामा रहेको उनी निकटस्थ स्रोतले बताएको छ ।

शर्माको नाम सँगसँगै केही दिन पश्चात काँग्रेसका अर्का युवा नेता सुरेन्द्र पाण्डेको पनि नाम निकै चर्चामा रहेको छो । पाण्डेको नाम पनि सामाजिक सञ्जालमा निकै छायो र उनले पनि साथीभाई, आफन्तहरुको बधाई खान भ्याए । उनी पनि हाल नियुक्तिको प्रतिक्षामा रहेको निकटस्थ स्रोतले बताउँछ ।

पाण्डे र शर्मा नियुक्तिको प्रतिक्षामा रहेता पनि काँग्रेसका पूर्व मन्त्रीहरु डा. प्रकाश शरण महत, र रमेश लेखक जस्ता केन्द्रिय स्तरका ‘हेभी वेट’ काँग्रेसी नेताले पनि राजनैतिक सल्लाहकारमा नियुक्त हुन चाहेकाले नियुक्तिमा ढिलाई भएको काँग्रेसीहरुको आम बुझाई छ । राजनैतिक सल्लाहकारमा प्रधानमन्त्री देउवाले कहिले र कसलाई नियुक्त गर्लान् ? त्यो भने हेर्न बाँकि नै छ ।

हालसम्म को-को नियुक्त भए ?

प्रधानमन्त्री शेर बहादुर देउवाले आफु प्रधानमन्त्री भएको केही दिन पश्चात परराष्ट्र सल्लाहकारको रुपमा डा. दिनेश भट्टराई र प्रेस संयोजकको रुपमा गोविन्द परियारलाई नियुक्त गरे । भट्टराई नेपाल सरकारका पूर्व सचिव हुन् भने तत्कालीन प्रधानमन्त्री शुसील कोईरालाका परराष्ट्र सल्लाहकारका रुपमा काम गरेका थिए ।

परियारको प्रधानमन्त्रीको प्रेस संयोजकको रुपमा यो नियुक्ति नै पहिलो हो । परियारले भन्ने गरेका छन्, ‘मेरो यो पहिलो अवसरलाई मेहनतका साथ न्याय गर्नेछु’ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा नियुक्ति हुने चर्चा हालका नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, अनुभवी पत्रकारहरु किशोर नेपाल, सुरेश आचार्य, पर्शु घिमिरे र वसन्त प्रकाश उपाध्यायको पनि नाम चर्चामा थियो  । प्रधानमन्त्री देउवाले हालसम्म प्रेस सल्लाहकारका रुपमा कसैलाई पनि नियुक्त गरेका छैनन् । सिग्देललाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा नियुक्ती हुने/नहुने दुवै खाले प्रतिक्रियाहरु प्रेस युनियन र सिंहदरबारभित्र चल्ने गरेको छ ।

परराष्ट्र सल्लाहकार र प्रेस संयोजक नियुक्ति गरेका देउवाले त्यसको केही हप्तापछि स्वकिय सचिवको रुपमा केशव जोशीलाई नियुक्ती गरे भने त्यस पश्चात प्रमुख स्वकिय सचिवको रुपमा भानु देउवालाई र स्वकिय सचिवको रुपमा विरेन्द्र थापालाई नियुक्त गरे ।

प्रधानमन्त्रीले आफ्नो कार्यकाललाई सहज ढङ्गले प्रभावकारी रुपमा अगाडी बढाउन सहयोगी र सल्लाहकारको कत्रो टिम तयार पार्नेछन्, त्यो भने प्रतिक्षाकै विषय रहेको छ । विश्लेषकहरु भन्ने गर्छन्, ‘देशको कार्यकारी पदका व्यक्तिहरुको कार्यकाल सफल हुनमा सक्षम सल्लाहकार र सहयोगी आवस्यक रहन्छ । ‘

प्रतिकृया

प्रतिकृया