-सोहम सुबेदी

“यसपालि दरखाँदा एक महिनाको घरखर्च एकैदिनमा झिरिप्” विदेशमा बसेर यसो भन्नेहरु पनि भेटिए । नेपाल, अमेरिका, जापान, अष्ट्रेलिया सवैतिरका नेपाली मूलका राताम्मे तन्नेरी महिलाहरुको कामुक नाच पनि हेरियो । कथित श्रीमानको आयु बढाउन वा राम्रो श्रीमान पाउँन दिनभरी ब्रत बस्ने र पूजा गर्नेको लर्कनदेखि श्रीमानको आयु बढाउन ब्राम्हणलाई दुईचार सय रुपैँया चढाउनेहरुको चर्तिकला पनि नियालिँदै छ ।

तर यो कुरा पक्का हो कि, तीजका नाउँमा गरेका कुनैपनि हर्कत वा कर्मकाण्डले पटक्कै पनि श्रीमान्को आयु बढाउन योगदान गर्दैन । तीजका नाउँमा भुँडी दोब्रिनेगरी चौबिसै घण्टा पानी नै नखाई ब्रत बसेपनि तपाईका भागमा राम्रो श्रीमान पर्ने संभावना रहँदैन । बरु तपाईले तीज, जनैपुर्णिमा, दशैं, तिहार वा जुनसुकै चाडवाडको बहानामा धर्मको व्यवसाय प्रवर्धनमा चाँहि अमुल्य योगदान दिईरहनुभएको हुन्छ ।

हिन्दू धर्म वा पूर्वीय दर्शनको चरम दुरुपयोग भएको पनि धर्मको सम्पूर्ण सार कर्मकाण्ड वा धार्मिक व्यवसाय गरेर नाफा कमाउनमा केन्द्रित भएर नै हो ।

निश्चित जन्मजातका व्यक्तिहरु धार्मिक बजारबाट नाफा खानमात्रै केन्द्रित भैदिँदा पश्चिमाहरुले जस्तो हिन्दूहरुको पुर्वीय दर्शन, बेद, उपनिषद्, पुराँण, ज्योतिष वा खगोल विज्ञानको उपलब्धीलाई मानव समुदायको उन्नती र भौतिक विकासमा पटक्कै उपयोग गर्न सकिएको छैन । हामी विश्व समुदायमा पछि पर्नुको दुर्भाग्य पनि यहि हो । हिन्दू वा पूर्वीय दर्शनको सम्पूर्ण उपलब्धी ब्राम्हणको व्यवसाय अर्थात् कर्मकाण्डको रक्षा र राजाको सत्ता संरक्षणका लागि निरन्तर चरम दुरुपयोग गरिएको पाइन्छ । शिक्षा र दान लिने दिने ब्राम्हणको पेशा र राज्य सञ्चालन गर्ने क्षत्रीयको पेशा दीगो राख्न पुनर्जन्म, आत्मा परमात्मा, श्वर्ग नर्क, इहलोक परलोक, देउता राक्षस, देवकार्य पितृकार्य लगायतका अनर्गल कृयाकलापहरुको संगालो कर्मकाण्डको व्यवस्था छ ।

ब्राम्हण र राजाबाहेक सवैलाई अर्को जन्ममा राम्रो हुन्छ वा मरेपछि श्वर्ग जान्छौ भनेर “इमोस्नल ब्लकमेलिङ” गर्दै यो जन्ममा शारीरिक र मानसिक कष्टसाथ तीर्थ, ब्रत, दान, धर्म, पूजा पाठ गर्न लगाएर धार्मिक व्यवसायलाई दीगो बनाइएको छ ।

हामीले कथित रामायण कालमै उड्ने विमानको दार्शनिक कल्पना त गर्यौ तर भौतिक परिक्षण गरेनौँ । कथित महाभारत कालमै विभिन्न क्षेप्य अस्त्र अर्थात् टाढा हु¥र्याउने अस्त्रहरुको दार्शनिक परिकल्पना त गर्यौ तर भौतिक परिक्षण गरेनौँ । समुन्द्र मन्थन र विभिन्न रसायनहरुको उत्खननको कथित दार्शनिक परिकल्पना थियो तर यि सवैकुरा कर्मकाण्डमा समावेस भयो पूजा, दान, ब्रत, उत्सव अर्थात् ब्राम्हणको व्यवसाय प्रवर्धनमा प्रयोग भयो । यतिसम्म कि ज्योतिष गणितले खगोलको हिसाव गरेर सूर्य चन्द्र ग्रहण लाग्ने समय पत्तो लगायो तर त्यसलाई पनि कर्मकाण्डमा जोडियो थप अनुसन्धान र अन्तरिक्ष यात्रातिर पुर्वीय राजा र कथित विद्वानहरुले शोचेनन् बरु ग्रहणको बेला पूजा, दान, ब्रत बस्न लगाएर पेशा व्यवसाय वा कमकाण्ड प्रवर्धनमा प्रयोग गरे ।

परिवारको हरेक “इमोस्नल” समय कर्मकाण्डसँग जोडिन्छ । यौवन, यौन सम्पर्क, राजश्वला, बिहे, सन्तान उत्पादन, बुढ्यौली, मृत्यु मात्रै होइन मृत्यु पर्यन्तको वार्षिक श्राद्ध अर्थात् मरेका व्यक्तिका लागि कथित श्रद्धापूर्वक गरिने दानमा पनि ब्राम्हणको व्यवसाय प्रवर्धन गरिएको छ । मान्छे मर्नेबेलामा गरिने दशदानमा जमिन, गाई, सून, घिउ, तिल, कपडा, चाँदी, सखर वा चिनी, धान र नून दान गर्नुपर्ने व्यवस्था छ यसले ब्राम्हणको व्यवसाय प्रवर्धनमा अमुल्य योगदान दिन्छ । भलै बाचुञ्जेल व्यक्तिले दुईछाक पेटभरी खान र चाहेजस्तो लुगा लगाउन नपाएको भएपनि मरेपछि उसका सन्तानले रिन गरेर भएपनि अन्न, सून, कपडा, खाट पलाङ् दान दिनुपर्छ त्यो पीडाबोध भएको विछोडको समयमा मान्छेले ब्राम्हणलाई दान दिन्छ । अझ वर्षभरी नै हरेक महिना ब्राम्हणका लागि खानेकुरा दान दिनुपर्छ, मासिक कर्मका नाउँमा ।

हलाहल बीषपान गरेका कथित शीव हिमालयमा तापक्रम व्यवस्थित गर्न बसेको दार्शनिक कथामा व्यवहारिक अनुसन्धान गरेको भए एअरकण्डिसन वा फ्रिजको आविस्कार पुर्वमै हुनसक्थ्यो खानेकुरालाई महिनौँ पछि खानहुने अवस्थामा राख्न सकिन्थ्यो । देवताहरु आकासमार्गबाट यात्रा गर्ने दर्शनलाई अनुसन्धान गरेको भए हवाईजहाज र हवाई मार्ग मात्रै होइन विभिन्न लोकहरुमा यात्रा गर्ने नारदको दर्शनले अन्तरिक्ष अनुसन्धानको संकेत गरेको थियो तर हामी सप्ताह बाचन, कथा सुन्ने हवन पूजा गर्ने कर्मकाण्डमा अल्झियौँ ।

कथित महाभारतमा दृष्टिविहीन धृतराष्ट्रसँगै बसेर बिदुरले महाभारतको सचित्र वर्णन गरेको कथाको संकेतले टेलिभिजन आविस्कार हुनसक्थ्यो । देवताले गर्ने आकासवाणीले रेडियो पत्ता लगाउन सकिन्थ्यो । रक्तबीज राक्षस अर्थात् रगतको एक बुँदबाट फेरि पुरै शरिरको हुनसक्ने व्यक्तिको दर्शनमा अनुसन्धान थालेको भए डिएनए परिक्षणको बाटो खुल्न सक्थ्यो । कथित दधिची ऋषिको हाडबाट इन्द्रको बज्र बनाएको कल्पनाले अहिलेको आत्मघाती आक्रमण गर्ने आतंककारीको कृयाकलापलाई उतिखेरै पत्तो लगाउन सकिन्थ्यो । कथित बिष्णु समुद्रमा बस्ने कुराले जहाज बनाउने कल्पना गराउन सक्थ्यो । स्वर्गमा कल्पबृक्ष अर्थात् कल्पना गरे अनुसारको फल दिने रुखमा थप दिमाग लगाएको भए अहिलेको कृषि प्रविधिमा कति उन्नती भैसक्थ्यो । तर हामी केवल कर्मकाण्डमा अलमलियौँ अर्थात् राजा र ब्राम्हणको व्यवसाय मात्रै प्रवर्धन भयो मानव समुदायको भौतिक उन्नतीमा पूर्वीय दर्शनको योगदान वा अनुसन्धान हुन सकेन ।
हिन्दू दर्शनले मान्छेको उत्पत्ति पहिला मानसिक र पछि मैथुनी भनेर कल्पना गरेको छ । कथित ब्रम्हाको मनबाट मनु उत्पत्ति भएको र मैथुन अर्थात् यौन सम्पर्कले मान्छेको बढोत्तरी भएको दार्शनिक व्यख्या छ त्यसमा वैज्ञानिक अनुसन्धान गरेको भए सायद सरोगेसी, टेष्टट्युव बेबी वा आफुजस्तै अर्को व्यक्ति बनाउने क्षमता पूर्वीयहरुमै हुनेथियो ।

त्यतिमात्रै पनि होइन तीज वा ऋषिपञ्चमीसँग जोडिएको एउटा कथा वा दर्शन छ जसमा महादेवको बीर्य निलेर अग्नी अर्थात् आगो गर्भवती भएको र त्यहि आगो तापेर ऋषिका श्रीमतीहरु गर्भवती भएको उल्लेख छ ।

यसमा थप अनुसन्धान गरेको भए मान्छे र पशुको सन्तान उत्पादन प्रकृयामा आधुनिक क्रान्ति नै ल्याउने गरी नयाँ तथ्यहरु पत्ता लाग्थ्यो कि रु कथित गणेशको शरीरमा हात्तिको टाउको जोडिएको छ यसमा अनुसन्धान गरेको भए अंग प्रत्यारोपण गर्ने क्षमता विकास भैसक्थ्यो तर हामी त गँणेश पूजा, जात्रा, उत्सव गरेर धार्मिक व्यवसाय वा कर्मकाण्डमा अल्मलियौँ ।
परिवारको उन्नतीको नाउँमा धार्मिक व्यवसाय प्रवर्धनका लागि कर्मकाण्डमा कहिले ग्रह, योगिनीको प्रयोग हुन्छ र जप, तर्पण, हवन, दान गर्न उत्साही बनाएर धर्मको व्यवसाय गरिन्छ । कहिले कथित बोक्सी, बीर, मसान, पिचास लगायत यन्त्रतन्त्रको नाउँमा धार्मिक व्यवसाय चलाइन्छ । कहिले देउता, जात्रा, पर्व, पूजा, ब्रत, दानको व्यवस्था हुन्छ । कहिले यज्ञ, महायज्ञ, सप्ताह, नवाह, अनुष्ठान लगायतका ठुला उत्सव आयोजना गरिन्छ र व्यवसाय प्रर्वधन गरिन्छ । मन्दिर निर्माण गर्नुभनेको धार्मिक व्यवसायको कार्यालय स्थापना गर्नु बराबर हो । घरमा पूजा लगाउनु भनेको धार्मिक व्यवसायको कार्यालयको अस्थायी डोरमुकाम खडा गर्नु हो ।

कर्मकाण्डमा धार्मिक व्यवसाय बढाउन मान्छेले आफुले व्यवस्थित गर्नसक्ने कुरामा देउता वा तेस्रो काल्पनिक शक्तिलाई दुरुपयोग गर्छ । यो तीज पनि धार्मिक व्यवसाय बढाउन उपयोग गरिएको पर्व हो । मान्छेको आयु खानपान, आहारविहार र आचरणमा भरपर्छ । एकअर्कामा माया प्रेम, सद्भाव, सुखदुख बुझ्ने कला, आत्मियताको बढोत्तरीले परिवारका सदस्यको आयु बढ्छ । त्यसैले एकसय आठ दतिवनले दाँत माझ्दैमा, हात्तिको पाइलाको माटो, गोबर, कुशले नुहाएर कथित सप्तऋषिको पूजा गर्दैमा वा निराहार ब्रत बसेर, पूजा गर्दैमा असल वा मनमिल्ने श्रीमान पाउने अथवा भएका श्रीमानको आयु बढ्ने हुँदैन केवल धार्मिक व्यवसाय बढ्छ । बरु यस्ता कृयाकलाप गर्दा आफ्नै ज्यानले चाँहि दुख पाउँछ, घरमा भएका परिवारका सदस्यले पनि दुख पाउँछन् आर्थिक क्षति हुन्छ ।

(लेखक  लामो समय सिआईएनमा संयोजक थिए भने हाल तालिम को सिलसिलामा अष्ट्रेलियामा छन ।)

प्रतिकृया

प्रतिकृया