८ भदौ, काठमाण्डौँ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।

रफत सञ्चार क्बलले महासंघका पदाधिकारीको सम्मानमा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अबदेखि महासंको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिए।

अध्यक्ष आचार्यले भने, ‘पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिकरुपमा सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन् ।’ उनले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासंघले पहिलो मुद्दा बनाउने बताए।

महासंघका उपाध्यक्ष दिलीप थापामगरले महासंघलाई कुनै पार्टी र व्यक्तिको घर होइन पवित्र मन्दिर बनाउने बताउँदै पत्रकारको हकहित र सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने र प्रेस स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गरे।

महासंघका महासचिव रमेश विष्टले महासंघले पत्रकार र सञ्चारमाध्यम दुवै पक्षलाई सक्षम बनाएर अगाडि बढाउने बताए। उनले साना लगानीका सञ्चारमाध्यमलाई सक्षम बनाएर अगाडि बढ्न सहयोग गर्ने उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष पुष्कराराज बुढाथोकी, रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले महासंघले गैरपत्रकार प्रवेश गर्ने ढोका बन्द गर्दै श्रमजीवी पत्रकारको हकहितमा लागनुपर्नेमा जोड दिए।

प्रतिकृया

प्रतिकृया