२० भदौ, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी छाडेर जाने पशुपति शमशेर राणा नेतृत्वको समूहले जघन्य अपराध गरेको आरोप लगाएका छन् ।

संसद र प्रदेशको चुनाव आउन ३ महिना मात्र बाँकी रहेको वेला पार्टी विभाजन गराएर लाखौं कार्यकर्ता र पार्टीको एजेण्डाप्रति जघन्य अपराध गरेको उनको भनाइ छ ।

मंगलबार झापाको बिर्तामोडमा आयोजित पूर्वाञ्चल स्तरीय स्थानीय तह अध्यक्षहरुको पूर्वाञ्चल क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, ‘राप्रपाको विभाजन बलियो राष्ट्रवादी पार्टी निर्माण हुन नदिने र नेपाललाई कहिल्यै हिन्दु राष्ट्र बन्न नदिनेहरुको डिजाइनबाट भएको हो ।’

पशुपति शमशेर हिन्दु राष्ट्र विरोधीहरुको डिजाइनको मोहरा बनेको उनले टिप्पणी गरे ।

‘तर, यसबाट हामीले कत्ति पनि विचलित हुनु पर्ने जरुरी छैन’, उनले कार्यकर्तालाई लक्षित गर्दै भने, ‘यो विपत्ति केही क्षणमा नै टरेर जान्छ । यो घडीमा एकता, आत्मियता र सदभाव अनिवार्य छ ।’

अर्को प्रसंगमा उनले राप्रपा आफ्नो एजेण्डाबाट कहिल्यै पनि विचलित नभएको बताए । ‘जबसम्म सूर्य र चन्द्र रहन्छ, तबसम्म हामीमा हिन्दु राष्ट्रको मान्यता कहिल्यै पनि समाप्त हुँदैन’, उनले भने ।

अर्को प्रसंगमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरेको जग्गाको अनियमितताको विषयमा सरकार नबोलेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘कारबाही गर्नु पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कारबाही अघि बढाउँदैन’, उनले अर्को प्रसङ्गलाई पनि जोडे, ‘केही समयअघि भएको अर्बौं रुपैयाँ बराबरको कर छलिमा पनि सरकार बोलेन ।’

प्रतिकृया

प्रतिकृया