– धीरज ‘निष्पक्ष’ अधिकारी

धर्म भनेको अनुशासित रूपमा गरिने कर्मको नियम तथा दर्शन हो । धर्मले मानिसलाई गर्न हुने र नहुने व्यवहारको व्याख्या गर्दछ । यसले दैनिक जीवनमा अपनाउनुपर्ने मानवीय अभ्यासको आधारभूत ज्ञान दिँदछ । यसले सत्य र असत्य त्यसैगरी कर्तव्य र जिम्मेवारीको बारेमा चेतना प्रष्फुटन हरदम प्रयत्न गरिरहेको हुन्छ । धर्मले मानव तथा जीवित प्राणीको कल्याणकारी कर्मतर्फ उत्प्रेरणा दिँदछ । धर्मले सम्पूर्ण बुद्धि विवेक प्रयोग गरी जीवनको सार्थकतातर्फ डोर्याउँदछ ।

नयाँ नेपालको २०७२ आश्विन ०३ गते घोषणा गरेको नयाँ संविधानको पहिलो परिच्छेदमै उल्लेख गरिएको छ, ‘नेपाल धर्मनिरपेक्ष राष्ट्र’ भनेर । यसले नेपालको विशिष्ट मौलिक सनातनको रूपमा रहँदै अएको हिन्दु, बौद्ध शिख र जैन धर्म लगायतका पूराना सभ्यतासँगै जोडिएर आएका धर्मको औचित्य र अस्तित्वमाथि गम्भीर प्रश्न उठाएको छ । यद्यपि अन्धभक्त नेपाली जनता जो आफ्नो नेताको मलद्वारबाट निस्किएको वायु नै किन नहोस् त्यसलाई समेत अत्तर झैं सम्झेर नाक सोझ्याएर सुघ्न तत्पर रहने पार्टीपंक्ति कार्यकर्ताहरू, अमेरिकी क्रिश्चियन प्रचारक संस्था र युरोपियन युनियनसँग आवद्ध दूतावासले कयौं दिन भोज र दीपावली नगरेका भने होइनन् । भोज यति दिनसम्म भन्दा पनि माथि र तल दुबैबाट ननिस्किएसम्म चलेको हल्ला बाहिर यत्रतत्र सर्वत्र नसुनिएको होइन । सतिले सरापेको हाम्रो देशका जनताको बौद्धिकस्तर कांग्रेस नेता गणेशमान सिंहले भनेका कुरासँग मेल खाएकै देखिन्छ । उनले भनेका थिए, ‘नेपाली जनता भेंडा हुन्, हो भन्दा ताली पिट्छन्, होइन भन्दा पनि ताली पिट्छन ।’

संविधानसभाका कूल सदस्यमध्ये करिब ९० प्रतिशतबाट तयार भएको संविधानमा धर्मसम्बन्धी लेखिएको छ, नेपाल धर्मनिरपेक्ष राज्य हो भनी, व्याख्यात्मक रुपमा लेखिएको छ, ‘धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षणलगायत धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ यसको सोझो अर्थ हुन्छ, ‘नौलो ईसाईकरणवाद’को नयाँ नेपाल ।

राज्यको कुनै धर्म हुँदैन भन्नु संसारमा हावा छैन भन्नसरह हो । पहिलो कुरा निरपेक्ष आफैंमा विरोधाभाष शब्द हो । कुनै पनि शब्दको विपरीतार्थ हुनु भनेको त्यसको पर्याववाची शब्द पनि हुन्छ भनेर स्वीर्कानु हो । निरपेक्षको विपरीतार्थ सापक्ष हो । धर्म भनेको अमूर्त व्यवहार हो नकि, भौतिक वस्तु हो । यो त महशुस र व्यवहार मात्रै हो । जस्तै हावाको भौतिक उपस्थित हुँदैन यद्यपि पात हल्लिने, श्वास फेर्ने क्रियाकलाप यी सबै महशुस मात्रै हुन् । धर्मनिरपेक्ष शब्दले कतै न कतै यसले धर्म पनि स्वीकारेको छ । निरपेक्षले धर्म हुँदैन भनेको व्याख्या प्रस्तुत गरेपनि यसले धर्म हुन्छ तर त्यसको विपरीत हो भन्ने तथ्य बुझिन्छ । दोश्रो कुरा धर्म कहिले पनि निरपेक्ष हुनै सक्दैन । विश्वमा प्रजातान्त्रिक मूल्यमान्यताको पाठ सिकाउँदै अएको शक्तिमान राष्ट्र अमेरिकामा समेत धर्मसापक्ष व्यवहारहरू देखिदैँ अएको छन् । अमेरिकी राष्ट्रपतिले पद तथा गोपनियताको सपथ खाँदा वार्इवल छोएर खाने प्रचलन रहँदै अएको छ । अझ इस्लामिक राष्ट्रमा त इस्लामको पवित्र ग्रन्थ कुरानलाई नै आधार मानेर कानूनी शासन तथा राज्य सञ्चालन हुँदै आएका छन् ।

८१ प्रतिशतभन्दा बढी हिन्दुधर्मावलम्वी भएको नेपालमा नदुखेको टाउको दुखाउनलाई धर्मनिरपेक्षको व्यवस्थामा भयो । यसमा राजनैतिक दल, प्राध्यापक, नागरिक समाज, पत्रकार, बुद्धिजिवी तथा राष्ट्रवादी भनैदाहरू मौन छन् । धर्मको कलरलाई डलरसँग साट्ने जमातहरुमा यी शीर्षकका पेशाकर्मीसमेत परेका त छैनन् ? के यिनीहरुको चश्माको पावर पनि बदलिएको त छैन ? यिनीहरुका पनि हरेक दिन घटबढ हुने नेपाल राष्ट्र बैङ्कको विनिमय दरतर्फ आँखा तन्किरहेका छैनन्, मौनताको पछाडि प्रश्न गर्नसक्ने पर्याप्त आधार र ठाउँ बाँझो छ ।

असमानता, गरिबी र चेतनास्तरमा भएको कमजोरीलाई फाइदा उठाउँदै त्यसैमा टेकेर नयाँ नेपालसँगै समृद्धिको नारालाई समातेको माओवादी आन्दोलन एक हदसम्म सफल नै मान्नुपर्छ । यद्यपि उ कसैबाट परिचालित रहेदैँ आएको कुरा अब विस्तारतः प्रमाणित हुँदैछ र भई रहनेछन् । भारतीय चाहनामा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको माओवादीले राज्यविरूद्ध अख्तियारी गरेको जनयुद्धको तालिमकेन्द्र भारतको उत्तराखण्ड हुनु र नेतृत्ववर्गसमेत भारतमै आश्रय मागेर बस्नुलाई संयोगवश मात्रै मान्न सकिन्न । पछिल्ला भारतको स्वार्थ अनुरूपका कामको दृष्टान्तले पनि प्रमाणितिकरण गर्न खोजेको देखिन्छ ।

शाश्वत सत्य यो हो कि, भारत नेपालको सुशासन तथा समृद्धि भएको चाहँदैन । किनकि यसमा उसले अफ्नो ‘ठूलोदाजु’को दर्जा खोसिन सक्नेमा ऊ सधैँ सशङ्कित छ । नेपालको राष्ट्रियता र एकताबाट विचलन गराउने एकसुत्रीय अस्त्र भनेको राजसंस्थाको समाप्ति र गणतन्त्रको उदय हो भन्ने बुझाई थियो, त्यसका लागि नेपालमा सञ्चालन भईरहेको सशस्त्र युद्धमा लगानी गर्नु र सहयोग पुर्याउनु भारतीय गुप्तचर संस्था ‘रअ’का लागि सहज पनि थियो । ‘रअ’का प्रमुख थाराकान हर्मिसमार्फत नेपालमा माओवादी आन्दोलन दिन दुई गुणा रात चार गुणाका दर बढ्दो अवस्थाबाट गुज्रदोँ थियो । नेपाली जनता त्यसबेलासम्म राजालार्इ विष्णुको अवतार मान्थे र राजाको नेतृत्वमा देश एकतामय थियो । यतिसम्म कि बूढानीलकण्ठ र राजा दुबै विष्णुको अवतार भएको भनी, राजा कहिल्यै दर्शनको लागि गएनन्, जबकी पशुपतिनाथमा राजाको उपस्थिति बाक्लै हुन्थ्यो ।

राजसंस्था भत्किसकेपछि मेओबिनाको दाँई वा रानुबिनाको मौरीसरह नेपाल जनता विचलित र विखण्डित छन्, अझ डलरको खेतिमा भावना भड्काएर जातिगत राजनीतिको बिउ रोपिदैंछ । नेपाल अनिश्चिततातर्फ धकिलिँदै छ । यसमा सबैले सबैखाले स्वार्थअनुरुप खेल खेल्दै आएका पनि छन् । खासमा नेपाल पश्चिमादेशका प्रयोगशालाको रूपमा प्रयोग हुने बढी सम्भावना बढ्दो छ । उनीहरु कुनै न कुनै बहानामा नेपालमा आफ्नो सैन्य उपस्थिति जनाउन चाहन्छ । खासगरी अमेरिका र युरोपियन राष्ट्र नेपालमा क्रिष्चियानिटी बढाएर त्यसमा एक आतङ्ककारी घटना घटाउनु छ । आतङ्कवाद विरुद्धको लडाईको आवरणमा नव उदाँयदो शक्तिमान राष्ट्र चीन र भारतलाई नजिकबाट नियाल्न सबैभन्दा उत्तम थलो नेपाल नै हुनसक्छ । नेपालमा अमेरिका, युरोपियन राष्ट्र, चीन र भारतका आफ्नै खालका स्वार्थ लुकेको छ, त्यो अहिले बिस्तारै देखिन थालिसकेका छन् । सबैको स्वार्थपूर्तिको केन्द्र एकै ठाउँमा पर्दा अहिले नेपालमा अन्तर्राष्ट्रिय राजनीतिको खिचडी पाक्दै गरेको महशुस हुन्छ । जुन भारत र चीन दुबैका लागि बढी टाउको दुखाइको विषय हो । चीन नेपालमा सङ्घीयता र धर्मनिरपेक्षताको विपक्ष देखिन्छ । उसले पश्चिमा मुलुकको रणनीति बुझेको छ । त्यसैगरी भारत नेपालको प्राकृतिक श्रोत साधन उपभोग गर्न चाहन्छ । ऊ आफ्नो अनुकूलता मिल्ने सङ्घीयतासहित बढ्दो जनसङ्ख्यालाई नेपालबाट श्रोत परिचालन गर्न चाहन्छ । भारत नेपालमा राजसंस्था हुँदा एकलोटी आफ्नो मात्रै भूमिका रहँदै अएकोमा राजसंस्थाको अवसानपश्चातः विभिन्न खेलाडी थपिएकोमा चिन्तित छ । भारत आफ्नै भूमिकाबाट नेपालमा राजसंस्था फालिनु कतै गल्ती त भएन ? विश्लेषण र समीक्षारत अवस्थामा देखिन्छ ।

नेपालको इतिहास साक्षी छ, शाहवंशीय प्रथम राजा कुलमण्डल खाँन जुन मुश्लिम भएको बताइन्छ । नेपाली वर्णमालाको ‘क’बाट शुरू भएर ‘ज्ञ’को ज्ञानेन्द्रसम्मका राजाले पनि कहिल्यै धर्ममा राजनीति गरेनन् । अझ गोपाल वंश, किराँती राजा तथा मल्लकालीन राजासहित हालसम्म करिब १९० भन्दा बढी नेपालका राजा भए । तर, ती सबै सनातन धर्मका सुसंस्कृत अनुयायी भएरै अवसान भएका छन् । कारण उनीहरू कहिल्यै पनि डलर पछ्याउँदै ‘नयाँ नेपाल‘को नाममा चर्चपथ’मा हिँडेनन् वा हिड्न चाहेनन् ।

उद्यपि दलका नेताहरूले डलरमा धर्मको कलर साटेपनि त्यसविरूद्ध संविधानको प्रारम्भिक मस्यौदामा सुझाव सङ्कलनमा करिब ९२ प्रतिशत जनताले ‘धर्मनिरपेक्ष व्यवस्था गलत’ भएको भन्दै, त्यसलाइ सच्याईयोस्, भनेका थिए । तर धर्मको कलरसँग डलर विनिमय गरिसकेका हाम्रा नेताले जनताको सुझावलाई तिलाञ्जली दिए । ती सुझाव बेलाबेखत फूटपाथमा बेचिरहने भैयाको चट्टपटे पसलबाट चट्टपटे खाँदा बोक्रो बनेको अवस्था भेट्टिदैं आएको छ ।

प्रत्येक दलले जनताको सुझाव कवाडीलाई नुनको भाउमा बिच्नुको भित्री कारण भने हरेक दलमा र्इसार्इकरणको एजेण्टता मौलाईरहेको देखिन्छ । फेरि दलका नेतृत्वको वरिपरी पनि तिनै एजेण्ट घुमिरहन्छ र हनुमान भएका हुन्छन् । धर्मनिरपेक्षलार्इ उपलब्धि ठान्ने विशेषतः माओवादी तथा एमालेजस्ता दलका उच्च पदस्थ पदाधिकारी र्इसार्इ धर्मका आधिकारिक फादर तथा पास्चर छन् । उनीहरू नेपालको मौलिक विशेषता र माटो सुहाउँदो व्यवस्थाभन्दा डलर सुहाउँदो खेतिमा तल्लीन देखिन्छन् । आधा पुँजीवाद र आधा साम्यवाद हुँदै समाजवादको माला पहिल्याउँदै आएको एमालेको नीति भगवानले सबैभन्दा राम्रो र सबै कुराले सुसुज्जित फुर्सदमा बनाएको प्राणी अन्ततः उँटजस्तै देखिन्छ । एजेण्डा नभएको तर सबैको नीति कपिपेष्ट गर्न सिपालु एमालेको धर्म सम्बन्धीको दृष्टिकोण ठ्याक्कै उँट नै हो ।

हुनतः मार्क्सवादको घोकन्ते सिद्धान्तलार्इ आफूअनुकूल व्याख्या र प्रयोग गर्दै आएको एमालेले प्रदीप नेपाल सञ्चारमन्त्री छँदा, पहिलोपटक रेडियो नेपालमा बिहान ६ बजेको संस्कृत भाषाको समाचार प्रशारण गर्ने व्यवस्था मिलाउँदा गैर कम्युनिष्ट आचरणको व्यक्ति भनी, बैठकमा कार्यवाही र पदच्युतसम्मको प्रयास नभएका कहाँ हो र ? ती सबै एमालेको चरित्रको नजीर बनिबसेको छ । निरपेक्षमा सबैभन्दा बढी दोषारोपणको ठाउँ दिने दल भनेको नेपाली कांग्रेस नै हो । विश्वेश्वरप्रसाद कोइरालाको विरासतबाट चल्दै अनि पलाँसको फूलझैं समाजवादको नारा दिएर १ नम्बरको पार्टी बन्दै आएको कांग्रेसप्रति नेपाली जनताको ठूलो आशा र भरोसा थियो । तर त्यो तुहियो । भनिन्छ नि, हुने बेलामा गोरू पनि ब्याउँछ, नहुने बेला ब्याउँने गाई पनि तुहिन्छ । हो त्यस्तै भयो, नेपाली इतिहासमा । उरन्ठेला र अल्लारे कम्युनिष्ट नामका पार्टीले ल्याएका कतिपय अनावश्यक व्यवस्था मूल जरो तथा मेओको रूपमा उभ्याएको नेपाली राजनीतिको अभिभावकत्व मानिएको कांग्रेसले रोक्ने छ, भनी, नेपाली जनताले राखेको अपेक्षा र लिएको विश्वास तथा भर स्वयम् कांग्रेसी नेताले तिलाञ्जली दिए । यस अर्थमा कांग्रेस माओवादीको इशारामा लतारिएकै हो, घिसारिएकै हो, जुन इतिहासको कालखण्डमा सुरक्षित छ । भोलीका भावी सन्ततीले यसलाई लेखाजोखा गर्ने नै छन् । २००७ सालदेखि सफा गर्दै र चम्काउँदै आएको त्यो कांग्रेसी कोट बेलाबेलामा हुने राष्ट्रिय स्वाभिमानका सन्धी तथा सम्झौताबाट मैलिँदै आएकोमा फेरि एकपटक इतिहासमा यो चुकेको छ । त्यो ऎतिहासिक भूलसँगै आंशिक सेतो र औषतमा मैलो पहिरनमा सजिने कांग्रेस यसपटक कालो भएको छ र, उसले कालोको संज्ञा स्वीकार्दैछ । अब उसको कोट पखाल्न खोज्दा च्यातिने अवस्थामा छ । अब ऊ सति जाने बाहेकको अर्को ठाउँ पनि देखिन्न ।

किराँतीहरूले समेत मान्ने किरातेश्वर महादेव (विश्वमा एक मात्र), बोद्धले मान्ने हलेसी महादेवलाई जस्ता धार्मिक सहिष्णुतामाथिको हनन हो निरपेक्ष व्यवस्था भनेको ।
आज दलको मुखमा डलरका बिटाले हिर्काउँदै मुलुकमा जातीय र धार्मिक विद्वेष फैलाउन धर्मनिरपेक्षताका अभियन्ता तथा पक्षधरहरू सक्रिय छन् । राजसंस्था निर्मूल पारेर स्थापित गणतनत्रको उपलब्धि भनेको सी. के. राउत, आङकाजी शेर्पा लगायतका अतिवादी चिन्तनयुक्त व्यक्तिको जन्मलाई लिन सकिन्छ । युरोप र अमेरिकी सहायतामा खुलेका एनजीओले नेपालका देवीदेवता, मठमन्दिर, सिन्दुरपोते, स्वस्थानी, पुराण, रामायण, वेद, उपनिषद्, गीतालगायत धार्मिक आस्थासँग जोडिएका संवेदनशील कुराको खिल्ली उडाउँदैछन् । यसमा नेपालीहरू आधुनिकिकरण र बैज्ञानिक युग हो भनी, आफ्नो धरातल बिर्सिरहेका छन् । उनीहरूले नेपाली जनतालाई यसरी दिमाग सफा गरिदिइसके कि, वैदिक तथा आध्यात्मिक एवम् धार्मिक प्रवचन वा वहस जसले गर्छ, उक्त व्यक्ति ब्राह्मणवाद, सामन्तवाद, प्रतिगमनकर्ता, पाखण्डी, पछ्यौटे या पुरातनवादी ईत्यादी मात्रै हुन्छ ।

यति मात्रै होइन धर्मसँग साटिएको डलर यसरी मौलाएको छ, जतिबेला पूराना शौचालय वरिपरी मुला फस्टाएका जस्ता । सामाजिक समानताको आवरणमा स्कुल कलेजका पाठ्यक्रमबाट राष्ट्रिय पहिचानका अध्याय हटाइँदैछ, राष्ट्रिय भाषा, पोशाकलगायत राष्ट्रियता झल्किने सबैखाले अभ्यासहरू द्रुतगतिमा मेटिदैछ । संस्कृत पढाएकै भरमा गोरखाका शिक्षक मुक्तिनाथ अधिकारीलाई बर्बतापूर्ण तरिकाले मार्ने, क्रियामा बसेका क्रियापुत्रीलार्इ मार्ने प्रवचनका लागि ब्यासमा बसेको पण्डितलार्इ मार्ने, गौशलामा बाँधिएकी गार्इलाई, सुत्केरी भएर कुनामा बसेकी स्त्रीलार्इ मार्नेजस्ता आततायी कार्य गर्न उक्साउने नीतिका नाइके जो १७ हजार लासलार्इ खुट्किला बनाई राज्यसत्तामा उक्लिन सफल भए । विधि र विधान तथा नीति र नियम आफैं बनाउँदै आएका पुष्पकमल दाहालले सायद सन् १९२४ मा प्रकाशित ‘द कम्युनिष्ट रिभ्यू’ वर्ष ५, अंक २० मा ‘युरोपमा कम्युनिष्ट र क्रिश्चियन एउटै हुन्’ शीर्षकको लेख पढेछन् । त्यसैले उनले पनि आफ्नो दलमा क्रिश्चियन लगानीसमेत बढाएका हुनुपर्छ । दाहालले अवलम्वन गरेको नीतिलार्इ श्रीमद्भभागवद् महापुराणमा ‘पञ्च आततायी महापाप’ भनी, किटान गरेको छ । सन् १९५० पछि क्रिश्यिचन मिसन लिएर नेपाल आएका इसाईहरूका लागि पण्डित नारायणप्रसाद पोखरेल गम्भीर चुनौती ठहरिएका थिए । तसर्थ सन् २००५ मा रुपन्देहीको दुधराक्ष गाउँमा ब्यासमा बसेर प्रवचनमा रहेका पण्डित पोखरेललाई माओवादीको दलित मुक्ति मोर्चाको सिकार गराएर क्रिश्चियन दाताहरूलाई खुसी पार्ने काम गरियो । आफ्नो आर्थिक सहायतामा चलेको माओवादीलाई प्रयोग गरेर विदेशी क्रिश्यिचनहरूले पोखरेलको हत्या गराएका थिए । पण्डित पोखरेलले हिन्दु धर्मको माध्यमबाट पुनर्जागरण र सामाजिक सुधारात्मक विकास अभियान चलाउँदै आएका थिए । उनले स्कुल, अस्पताल, कलेज र अनाथ आश्रम बनाउन करोडौं रुपैयाँ दान उठाइरहेका थिए । यसैगरी भारतमा पनि सन् २००८ को अगस्ट २३ तारिखमा उडिसाका प्रसिद्ध विद्वान् तथा भारतीय हिन्दु परिषद्का नेता लक्षमानन्द सरस्वतीको हत्या गरेर क्रिश्चियन र माओवादीको संयुक्त गठबन्धनले त्यस्तै उदाहरण देखाएको नजीर जीवितै छ। माओवादीहरूले महेन्द्र संस्कृत विश्वविद्यालयमा करोडौं रुपैयाँका दुर्लभ ग्रन्थ जलाउने र विदेशीका एजेन्डा बोकेर राष्ट्रलाई क्षतविक्षत बनाउने काम गर्दा समेत भद्र भलाद्मी र विद्यावारिधी गरेर आफूलाई बुद्धिजिवी हुँ भन्न रूचाउने प्रभुद्ध व्यक्तिको मौनतालार्इ हिन्दूविरोधी समर्थन हो भनेर बुझ्न गाह्रो छैन । यसमा नेपाली कांग्रेस तथा ६८ वर्षदेखि निरन्तर आफ्नो लिङ्ग छुट्याउन लागिपरेको तर अहिलेसम्म पनि लिङ्ग छुट्टिन नसकेको एमाले लगायतका दल आज प्रचण्डलाइ विष्णुको २०औं अवतारमध्येको एक अवतार हो भनी, साष्टङ्ग दण्डवत गर्न लालायीत देखिन्छन् । राजसंस्थाभन्दा माओवादीहरू लोकतन्त्रवादी, उदार तथा सज्जन हुन्छन् भनेर एमाले, कांग्रेस, माले आदिले घोषणा त गरे, तर कसको दबाबमा त्यसो गरे, त्यो प्रश्न आजसम्म पनि अनुत्तरित छ । जसको उत्तर कसले कहिले दिने हो त्यसको पनि कुनै ठेगान छैन ।

यद्यपि विपीको समाजवादको विरासतबाट हालसम्म जोगिदै आएको कांग्रेस पछिल्लोसमय विपीको नीतिलाई पनि विपीसँगै बगाइदिईसकेको छ । विपीले भनेका थिए, ‘म जतिसुकै राष्ट्रवादी भए पनि राजाभन्दा कमै हुन्छु ।’

पञ्च आततायी महापापभित्र गौशाला बाँधिएकी गार्इ, क्रिया बसेको क्रियापुत्री, सुत्केरी भएर कुनामा बसेकी नारी, व्यासमा बसेको ब्राह्मण र सिंहासनमा रहेको राजाको हत्या गर्ने हत्यारालाइ भनिएको छ । यी सबै हत्या तथा हर्कत नेपालमा सम्भव भएका छन्, व्यवहारमा उत्रिसकेका छन् ।

त्यसैगरी नक्सलवादीको नामबाट परिचित ‘भारतका माओवादीहरू क्रिश्चियन फौज भएकै कारणले प्राचीन धर्म र परम्पराविरोधी’ विश्लेषणसहित २०१५ को मे १७ मा ‘इन्डियन रियलिस्ट’ पत्रिकामा प्रकाशित भएको खबरबाट राष्ट्र नै टुक्र्याउन चाहेको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले माओवादीहरू विरूद्ध विद्रोहीको व्यवहार र नीति लिने अख्तियारी मात्रै के गरेका थिए, कङ्ग्रेस आर्इका रिमोर्टर ईसाइ नेतृ सोनिया गान्धीले नेपाली माओवादीसँग तत्कालै मित्रता बढाउन भारतीय गुप्तचर संस्था रअका प्रमुख (क्रिश्चियन) थाराकान हर्मिसमार्फत सहायता जारी राख्ने आदेश दिएको खबर त्यसबेला भारतभर सार्वजनिक भएको थियो ।
गान्धीले नेपालको राजतन्त्र उन्मुलन गराउन उनकै सक्रियतामा दिल्लीमा बाह्रबुँदे सम्झौता गराएकी थिइन् ।

हुनतः हिन्दु धर्मको चौथो वेद तथा मोक्ष ग्रन्थको रूपमा परिचित श्रीमद्भागवद् गीतामा करिब ५ हजार वर्षअघि नै कलिमा हुने भनिएको भविष्यवाणीमा धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ, कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ, संस्कार नभएका मानिसहरुले भगवानको लागि भनी दान स्वीकार गर्नेछन् जसलाई धर्म र संस्कृतिको बारेमा ज्ञान हुँदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ,सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस् । त्यसैगरी मालिकले परिवारमा पुस्तौबाट रहदैं आएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन, जब दुध दिन छोड्दछन् तब गाईहरु वेवारिसे छिडिनेछन वा मारिनेछन् र सहरहरु चोर तथा फटाहहरुले लिनेछन्, वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ, राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्, पण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन् । भनी उल्लेख छ ।

यसले गीताको भावार्थ मिल्नकै लागि पनि यी सबै अप्राकृतिक क्रियाकलापहरु मेल खाएका देखिएको छ । यसले के देखाउँछ भने, गीतामा भनिएको कुरा हु बहुतै मिलेर गीतालाई प्रमाणिकरण हुन थालेको आभास हुन्छ । के गीतामा लेखिएको कुराहरु मिल्नकै लागि मात्रै यस्तो भएको त होइन ? प्रश्नमाथि घोत्लिने र विश्लेषण गर्ने बेला आएको छ । अब यी कुकर्महरुलाई ढिला नगरी सुधारको बाटोमा सबैजना लागि पर्दा सार्थक नतिजा आउनेमा आशावादी बनौं । नेपाली समाजमा एउटा कथन नै छ, सबैकुरा बिग्रियो भने भनिन्छ, जय शिवशङ्कर भोला, ईसाइकरणयुक्त भोलीको भनिएको नयाँ नेपाल के होला ?

प्रतिकृया

प्रतिकृया